काठमाडौं २० असोज । नेपाली ललितकलाका क्षेत्रमा पश्चिमी वस्तुवादी धारमा काम गर्ने कलाकार राजमान सिंह चित्रकार पहिलो कलाकारको रुपमा राजमानसिंह चित्रकारलाई चिनिन्छ । परम्परागत नेपाली कलामा नयाँ धार र विषयमा काम गरेर राजमानले नयाँ पद्दतिको थालनी गरे । उनले बनाएका धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक चित्र बनाएर राजमानले नेपाली कलामा नविन धार र प्रवृत्ति भित्राए ।
राजमानको खोजी अगाडि नेपाली कला नवीन चिन्तनमा काम गर्ने कलाकारको रुपमा भाजुमान चित्रकारलाई मानिएको थियो । नेपाली कला इतिहासको कालखण्डमा भाजुमान भन्दा ३० वर्ष अघि नै अर्थात सन् १८२० मै राजमानले काम गरिसकेको इतिहास एकपछि अर्को भेटिदैं गएको छ । यसभन्दा अगाडि जंगबहादुर राणाको बेलायत भ्रमणमा सँगै गएका भाजुमानले नेपाली कलामा पश्चिमा शैली भित्राएको मानिदैं आएको थियो ।
भाजुमानले नेपाली कलामा पश्चिमी प्रभावमा काम गरे पनि उनीभन्दा अघि राजमानले बेलायती प्रभावमा काम गरिसकेका थिए । जब नेपाल र इष्ट इण्डिया कम्पनी (बेलायत) सँग सन् १८१६ मा सुगौली सन्धी भयो त्यसपश्चात् नेपालमा अंगे्रजको चहलपहल व्यापक रुपमा बढ्दैं गयो । सन्धीपश्चात् पहिलोपटक बेलायतको नेपालमा स्थायी आवासीय प्रतिनिधि बस्न थाले ।
बेलायतको पहिलो स्थायी आवासीय प्रतिनिधिको रुपमा इडवार्ड गार्डनर नेपाल आए । गार्डनरले नेपालमा तत्कालीन शासकसँग सम्बन्ध स्थापित गर्दै हिमालय क्षेत्रमा पाइने वनस्पतिको खोज अनुसन्धान कार्यमा सक्रिय भए । उनले सन् १८१६ देखि १८२९ नेपालमा बेलायतको स्थायी आवासीय प्रतिनिधिका रुपमा रहेर काम गरेका थिए । अंग्रेजको प्रभाव बिस्तारमा गार्डनरसँगै सहयोगीको रुपमा रोर्बट स्टुआर्ट पनि नेपाल आएका थिए । स्टुआर्ट गार्डनरको वनस्पतिका नमूना संकलनमा सहयोगीका रुपमा रहेर काम गरेका थिए ।
गार्डनरको सो टोलीमा फ्रान्सिस डि सिँल्भा र भरत सिंह पनि रहेका थिए । इष्ट इण्डिया कम्पनीको वनस्पति संकलन तथा अध्ययन गर्ने प्रमुखका रुपमा नाथालियल वालिच भारतमा बसेका थिए । वालिचसँग रोबर्ट स्टुअर्ट सन् १८२० मा तराई हुँदै काठमाडौं आउँदा रोर्बटलाई मलेरिया लाग्छ । यही रोगका कारण रोबर्टको निधन काठमाडौंमा हुन्छ । गार्डनरको सहयोगीका रुपमा काम गर्न नेपाल आएका रोबर्टको मृत्यूपश्चात सो खाली पदमा ब्रायन एचएच हड्सन नियुक्त भइ काम गर्न काठमाडौं आउँछन् । सुरुमा हडसन गार्डनरको सहयोगी भएर काम गर्छन् ।
हड्सनको रुचि चराचुरुङ्गी तथा जीवजन्तुको अध्ययनमा रहेकाले उनले आफ्नो अध्ययन अनुसन्धानका लागि दृष्टान्त चित्रको आवश्यकता परेकाले नेपाली कलाकारको खोजी गर्छन र कलाकार राजमानसिंह चित्रकारलाई आफ्नो सहयोगी तथा चित्रकारको रुपमा नियुक्त गर्छन् । राजमानले नेपाली कलामा नवीनतम शैलीमा काम गर्ने अवसर भने हड्सनको संगतले पाएका हुन् । त्यत्तिबेला काठमाडौंमा चलेका परम्परागत तथा संस्कारजन्य कलाकृति बनाउने परिवेशमा एकाएक हड्सनको आगमनपछि नितान्त नयाँ शैलीमा काम गर्ने अवसर राजमानले पाए । हड्सनभन्दा तीन वर्ष जेठा सन् १७९७ (?) मा जन्मिएका राजमानले जीवनको सुरुवाती दिनमा परम्परागत तथा संस्कारजन्य कला बनाए ।यो उनको पुर्खादेखि चलिआएको कार्य थियो । हड्सनसँगको सम्पर्कपछिको उनले सुरुवाती दिनमा काठमाडौं उपत्यकाका बौद्ध वास्तुकला चैत्य, स्तूपा, बहाल तथा बिहारका रेखाचित्र बनाएको पाइन्छ ।यसै बेलादेखि राजमानले पश्चिमेली शैलीमा काम गरे । त्यसपछिको समयमा उनले जीवजन्तु तथा चराचुरुङ्गीका थुप्रै चित्र बनाए । प्राकृतिक यथार्थवादी शैलीमा उनले सयौं जीवजन्तु र चराचुरुङ्गीका रेखाचित्र तथा जलरङमा चित्र बनाए । राजमानले जीवजन्तु, चराचुरुङ्गी, दृश्यचित्र तथा मुहारचित्र बनाएको पाइएको छ । राजमानसिंह चित्रकारले नेपाली कलामा पश्चिमेली शैलीलाई भित्राएर नयाँ युगको आरम्भ गरेको कलाकार तथा कला लेखक मदन चित्रकार बताउँछन् । मदन चित्रकारले २०६३ मा ललितकला द्धैमासिकमा ‘राजमान सिंह निर्विवाद आदिपुरुष’ शीर्षकको लेख नै प्रकाशित गरेर राजमान सिंहको कलायात्रा, कलाकृति र नेपालमा त्यसको प्रभावका विषयलाई प्रष्ट पारेका थिए ।
राजमानका कलाकृतिका विषयमा समीक्षात्मक ढंगले लेखिएको सो लेखबाट नेपाली कला इतिहासमा लुकेको एक प्रतिभाशाली कलाकारको उत्खनन् गरिएको मानिनुपर्छ । हुनत् चित्रकारले भन्दा अगाडि २०६३ सालमै हरिहरराज जोशी र इन्दु जोशीको संकलनमा रहेको २४ थान राजमानकृत प्रिन्टको एकदिने प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा गरिएको थियो । ललितकला द्धैमासिक पत्रिकाले त्यसको संयोजन गरेको थियो । त्यस प्रदर्शनीमा राजमानले बनाएका बौद्ध वास्तुकला, चराचुरुङ्गी, जीवजन्तु तथा विभिन्न जनजातिका मुहारचित्र राखिएको थियो । साथै हरिहर जोशी र इन्दु जोशीले लेखेको ‘द पायनियर नेपाली आर्टिष्ट ःराजमान सिंह चित्रकार’ नामक पुस्तिका समेत प्रकाशित गरिएको थियो ।
राजमानको कला यात्राका बारेमा मदन चित्रकार भन्छन्, ‘सन् १८२० देखि १८५० सम्म राजमानले काम गरेको पाइन्छ । तत्कालको कला परिदृश्य नितान्त धार्मिक सोच र परम्परागत शैलीमा आधारित थियो । अर्थात पाश्चात्य प्रभाव नितान्त शून्य थियो । सुरुमा राजमानको कला यात्रा यसै शैलीमा थियो । १८२० पश्चात्का राजमानकृत रेखाचित्रहरुको अध्ययनबाट उनी पश्चिमेली शैलीमा प्रवेश भएको पुष्टि हुन्छ ।’ राजमानका विषयमा नारायणबहादुर सिंहले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३४ साल पुसमा आयोजना गरेको गोष्ठीमा प्रस्तुत गरेको कार्यपत्रमा समेत राजमानका कलाका बारेमा चर्चा गरेका थिए । ‘आधुनिक कला र नेपाल’ शीर्षकमा लेखिएको सो कार्यपत्रमा सिंहले राष्ट्रिय संग्रहालय छाउनीमा ४२ थान विभिन्न चराचुरुङ्गी र जीवजन्तुका चित्र रहेको उल्लेख गरेका छन् ।
सिंहले दुईवटा चित्रमा राजमान सिंह चित्रकार लेखिएको विषय समेत त्यत्तिबेलै प्रस्तुत गरेका थिए । राजमानकृत चित्रहरु रोयल एसाइटिक सोसाइटी लण्डन, फ्रान्सको म्यूजि डि गुइमे, ब्रिटिश लाइवेरी लगायतका स्थानमा रहेका छन् ।एक वर्ष अगाडि अरुपण आर्ट ग्यालरीले समेत राजमानकृत चित्रका प्रिन्टको प्रदर्शनी गरेको थियो भने कलाकार तथा कला समीक्षक रमेश खनालले राजमानका बारेमा पुस्तक नै प्रकाशन गरेका छन् ।१ वर्ष अघि द सर्राफ फाउण्डेशन, तारागाउँ म्यूजियम र मदन पुरस्कार पुस्तकालयको आयोजना राजमान सिंह चित्रकारले बनाएका दृश्यचित्रको प्रदर्शनी तारागाउँ म्यूजियममा गरिएको थियो । सो प्रदर्शनीमा राजमानले बनाएका दृश्यचित्रसम्बन्धी रेखाचित्र राखिएको थियो ।
ती चित्रमा सन् १८४३÷४४ ताका कोरिएका विशेषगरी वास्तुकलासँग सम्बन्धित तत्कालीन काठमाडौं उपत्यकाको स्वरुपलाई केलाएको पाइन्छ । मठ–मन्दिर, चैत्य, स्तूपा र घरका दृश्यात्मक रेखाचित्रले नेपालको वास्तुकलालाई कलात्मक रुपमा उधिनेको पाइन्छ । नेपाली कलामा पश्चिमी वस्तुवादी शैलीको पच्छ्याउँदै प्रकाश र छायाँको समेत निकै कलात्मक रुपमा प्रयोग गरिएको छ । नेपाली चित्रकलामा दृश्यचित्र मार्फत दूरान्तरको प्रयोग पनि सबल रुपमा राजमानले गरेको पाइन्छ । पाटनस्थित भीमसेन मन्दिरसँगै त्यत्तिबेलाको दिनदैनिकीलाई समेत चित्रण गरेका छन् । राजमानकृत दृश्यचित्रमा त्यत्तिबेलाको काठमाडौं उपत्यका वरिपरीको सामाजिक तथा सांस्कृतिक विषयलाई समेत निकै आकर्षक रुपमा देखाइएको छ ।
यी चित्रमार्फत त्यत्तिबेलाको काठमाडौं उपत्यकाको मानव शास्त्रीय तथा समाज शास्त्रीय दृष्टिकोण अध्ययन गर्न समेत सघाउँ पुग्ने देखिन्छ ।प्रदर्शनीमा वाग्मती र विष्णुमती वरिपरी धार्मिक, सांस्कृतिक तथा महत्वपूर्ण मठ–मन्दिर, देवालय, पाटी पौवा, घर तथा भवन आदिको दृश्य रहेका रेखाचित्र राखिएको छ । कतिपय रेखाचित्रमा राजमानले निकै मिहिनेत गरेको पाइन्छ । सुललित रेखा र वस्तुको उचित संयोजनका कारण चित्र निकै आकर्षक र कलात्मक देखिन्छन् । नेपाली कलामा पहिलो दृश्य चित्रकारका रुपमा समेत राजमान सिंहलाई नै लिनुपर्ने हुन्छ । किनकी यसभन्दा अगाडि नेपालमा दृश्यचित्र बनाएको इतिहास भेटिएको छैन ।
दृश्यचित्रमा राजमानले दूरान्तर, संरचना, सन्तुलन, प्रबलता, रेखाको ऐक्यता, लयात्मक तथा सुललित रेखा आदिका कारण चित्र निकै परिपक्व र ऐतिहासिक रहेका छन् । राजमानले मुलतः दृश्यचित्र, धार्मिक, सामाजिक जनजीवन, राजनैतिक, जनावर तथा पशुपन्छी, मुहारचित्र लगायतका विषयवस्तुमा चित्र बनाएको पाइनछ । राजमानसिंह चित्रकार हड्सनको दार्जिलिङ बसाईसँगै उत्तै गएर पछि नेपाल फर्केनन् । उनको निधन कहिले भयो सो पनि खोजको विषय रहेको छ । तर कतिपय विद्धानले भने सन् १८६५ (?) मा उनको दार्जिलिङमा निधन भएको बताएका छन् ।
नेपाली कलाका आदिपुरुष राजमान सिंह चित्रकारका सयौं चित्र विश्वका विभिन्न संग्रहालय, लाइब्रेरी तथा विश्वविद्यालयमा छरिएर रहेका कलाकृतिको खोज गरी तिनको दस्तावेजीकरण गर्नुपर्दछ । साथै राजमानसँगै अन्य कलाकारले समेत हड्सनसँग काम गरेको पाइएको छ । राजमानसँगै राजवीर, तुल्सीमुनि चित्रकार, धनानन्द बाडा लगायतका कलाकारका बारेमा समेत उचित खोज अनुसन्धान हुन जरुरी छ ।
प्रतिक्रिया