कसरी पुग्यो बालकृष्णको ७० हजार करोड सम्पत्ति ?

balkrishnaनयाँ दिल्ली २० असोज । यो भारतीय योग परम्पराको नयाँ गाथा हो । चिनियाँ शोध संस्थान ‘हुरुन’ ले भारतमा सन् २०१७ का धनी मानिसहरुको सूची जारी गरेको छ । यो सूचीमा पतञ्जलीका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्ण भारतका आठौं सबैभन्दा धनी मानिसका रुपमा देखाइएका छन् । गत वर्ष यो सूचीमा उनी २५ औं नम्बरमा थिए । यस वर्ष उनको सम्पत्ति १७३ प्रतिशतले बढेर ७० हजार करोड पुगेको छ । भारतको ‘नोटबन्दी’ र ‘जीएसटी’को सहयोगमा बालकृष्णको सम्पत्ति बढेको हारुनको भनाइ छ । उसका अनुसार संगठित क्षेत्रमा ‘नोटबन्दी’को सकारात्मक असर परेको छ ।

४४ वर्षीय बालकृष्ण गत मार्च महिनामा ‘फोब्र्स’ पत्रिकामा विश्वका अर्बपतिमध्ये आठ सय १४ औं नम्बरमा परेका थिए । त्यति बेला उनी विश्वका दुई हजार ४३ धनीमध्ये आठ सय १४ औं नम्बरका धनी थिए । गत वर्ष बालकृष्ण ‘फोब्र्स’को वार्षिक सूचीमा भारतका एक सय धनीमध्ये २.५ अर्ब डलरसहित ४८ औं नम्बरमा परेका थिए । पछिल्लो आर्थिक वर्षमा पतञ्जलीको कारोबार १० हजार ५ सय ६१ करोड थियो । पतञ्जलीले अन्तर्राष्ट्रिय कम्पनीहरुलाई कडा चुनौती दिइरहेको छ । ‘फास्ट मुभिङ कन्ज्युमर गुड्स’ (एफएमसीजी) कम्पनीको मामिलामा पतञ्जली हिन्दूस्तान यूनिलिभर पछिको दोस्रो ठूलो कम्पनी हो । इकनोमिक टाइम्सका अनुसार गत आर्थिक वर्षमा हिन्दुस्तान यूनिलिभिरको वार्षिक कारोबार ३० हजार ७ सय ८३ करोड रुपैयाँ रहेको थियो ।

उत्पादनका क्षेत्रमा आगामी दिनमा छिट्टै हिन्दुस्तान यूनिलिभरलाई पछाडि पारिने पतञ्जलीको भनाइ छ । उसो त बालकृष्ण रातारात अर्बपति भएका होइनन् । मानिसहरुको मनमा अर्बपतिको जुन छवी बनेको हुन्छ, त्यस आधारमा पनि बालकृष्ण अर्बपतिझैं देखिँदैनन् । मिडियामा आएका रिपोर्टहरुका अनुसार पतञ्जली आयुर्वेदमा ९४ प्रतिशत लगानी भएपनि बालकृष्ण कम्पनीबाट कुनै तलब लिँदैनन् । नेपालमा जन्मिएका बालकृष्णले भारतको हरियाणाको एक गुरुकुलमा योग गुरु रामदेवसँगै अध्ययन गरेका थिए । १९९५ मा दुवै जना मिलेर ‘दिव्य फार्मेसी’को स्थापना गरेका थिए । २००६ मा उनीहरुले पतञ्जली आयुर्वेदको स्थापना गरेका हुन् । २०११ मा सीबीआईले बालकृष्ण विरुद्ध जालसाजीको मुद्दा दायर गरेपनि पछि उनलाई सफाइ मिलेको थियो ।

आजका मितिमा पतञ्जली स्याम्पुदेखि खाद्यान्न र साबुनदेखि चाउचाउसम्मका हरेक वस्तुको उत्पादन र बिक्री गरिरहेको छ । पतञ्जली आयुर्वेदको दैनिक कामको सम्पूर्ण जिम्मेवारी एक सामान्य नागरिकझैं जीवन व्यतित गरिरहेका आचार्य बालकृष्णले सम्हाल्दै आएका छन् । बालकृष्णले अर्बपतिमा आफ्नो नाम आउनुलाई पतञ्जलीप्रति भारतीय उपभोक्ताको बढ्दो विश्वासको प्रमाण भएको प्रतिक्रिया दिएका छन् । ‘कम्पनीको सम्पत्ति कसैको निजी सम्पत्ति होइन, यो समाज र समाज सेवाका लागि हो,’ उनले भने । पतञ्जली बजारमा कम्तिमा पनि साढे तीन सय उत्पादन बिक्री गर्दछ ।

आचार्य बालकृष्ण पतञ्जली योगपीठ ट्रष्टका महासचिव पनि हुन् । ट्रष्टले झण्डै पाँच हजार पतञ्जली क्लिनिकको रेखदेख र एक लाखभन्दा बढी योग कक्षाहरुको सञ्चालन गर्दछ । उनी पतञ्जली विश्वविद्यालयका कुलपति पनि हुन् । जडीबुटीमा आधारित औषधीको शिक्षाको विस्तार गर्ने विश्वविद्यालयको योजना छ । बालकृष्ण योगपीठको मुख्यालयको मुख्य भवनमा बनेको अस्पतालको पहिलो तलामा रहेको साधारण कार्यालयमा काम गर्दछन् ।
उनको कार्यालयको वातावरण बाबा रामदेवका तस्बिरहरु, एक बौद्ध पेन्टिङ, केही पुस्तक र स्मारिकाका कारण आध्यात्मिक जस्तै लाग्दछ । कार्यालयमा कुनै कम्प्युटर अथवा ल्यापटप समेत छैन । उनले आफूसँग कम्प्युटर र ल्यापटप नभएको बताएका छन् ।

अर्बपति बालकृष्णले सहयोगीमार्फत कम्प्युटरको काम हुने गरेको र कुराकानीका लागि आइफोन प्रयोग गरिरहेको बताए ।  आचार्य बालकृष्णले आफ्नो बाल्यकाल पश्चिम नेपालको स्याङ्जा जिल्लामा बिताएका थिए । स्याङ्जामा उनले कक्षा ५ सम्मको अध्ययन गरेका थिए । उनको जन्म भारतको हरिद्वारमा भएको हो । उनी जन्मिदा उनका पिता हरिद्वारमा चौकीदारीको काम गर्दथे । बालकृष्णका मातापिता अहिले पनि स्यांजामै बस्दछन् । भारत फर्किएपछि हरियाणाको खानपुरमा रहेको एक गुरुकुलमा अध्ययनका दौरान सन् १९८८ मा बाबा रामदेवसँग उनको मित्रता गाँसिएको थियो । त्यसपछि दुवै जना सँगै काम गरिरहेका छन् ।

गत वर्ष बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा बालकृष्णले पतञ्जलीले झण्डै एक सय वैज्ञानिकहरुलाई जडीबुटीको शोध–अनुसन्धानमा लगाएको र जडीबुटीको एक विश्वकोष तयार गर्ने काम भइरहेको बताएका थिए । आफूले झण्डै ६५ हजार प्रकारका जडीबुटीमा काम गरेको र जडीबुटीको औषधीय गुणमाथि लेखिएको आफ्नो पुस्तकको एक करोड प्रति बिक्री भएको उनले दावी गरेका छन् । उनले जडीबुटीको विश्वकोष डेढ लाख पानाको हुने बताएका छन् । ‘ममाथि मेरी आमाको गहिरो प्रभाव छ र उनी मेरो प्रेरणाको स्रोत हुन्,’ बालकृष्णले भनेका छन्, ‘जडीबुटीमा मेरो ज्ञानको आधार आमाको घरेलु तरिका हो ।’ पतञ्जली योगपीठमा आचार्य बालकृष्णको जन्मदिन जडीबुटी दिवसका रुपमा मनाइने गरिन्छ । (बीबीसीबाट)

प्रतिक्रिया