फेरि बढ्यो भारतीय राजदूतको सक्रियता

काठमाडौं, ३१ वैशाख । नयाँ संविधान निर्माण र सरकार गठनका विषयमा दलहरूबीच पाँचबुँदे सहमति हुँदा एकीकृत माओवादी र कांग्रेसका शीर्ष नेताहरूको बैठकमा सहभागी भएर विवादमा आएका भारतीय राजदूत जयन्त प्रसादले फेरि आºनो सक्रियता बढाएका छन् । शनिबार एमाले अध्यक्ष झलनाथ खनालसँग भेटी राजदूत जयन्तले पाँचबुँदे सहमतिअनुरूप सरकारमा नगएको भन्दै असन्तुष्टि पोखेका छन् ।

शनिबार नै राजदूत जयन्तले पाँचबुँदे सहमतिप्रति भित्रभित्रै असन्तुष्ट रहेका कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई भेटेर सो सहमति कार्यान्वयनमा जोड दिएका थिए । उनी अध्यक्ष खनाललाई भेट्न एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेका थिए भने कांग्रेस संसदीय दलको कार्यालयमै कांग्रेस संसदीय दलका नेता पौडेललाई भेटेका थिए ।
अध्यक्ष खनालले पाँचबुँदे सहमतिमा हस्ताक्षर गरे पनि उनको पार्टी एमालेको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको थियो । सो निर्णयलाई पाँचबुँदे सहमतिबाट पछि हटेको आशंका गरेका भारतीय राजदूतले शनिबार खनाललाई भेटी पाँचबुँदे सहमति कार्यान्वयन गर्न दबाब दिएका हुन् । ‘पाँचबुँदे सहमतिअनुरूप अहिलेसम्म सरकारमा जानु भएन, आफैँले हस्ताक्षर गरेको सहमतिलाई बेवास्ता गरेका रूपमा बाहिर आएको राजदूतको भनाइ

थियो’ राजदूत जयन्तको भनाइ उद्धृत गर्दै खनालनिकट स्रोतले सौर्यसँग भन्यो, ‘निर्धारित मितिमै संविधान निर्माण भएको हेर्न चाहने हामी छिमेकी र अन्तर्राष्ट्रिय जगत्लाई तपाईंहरूले विश्वस्त पार्नुपर्छ ।’
खनालले भने दलहरूबीच गम्भीर परामर्श गरेरै १४ जेठमा संविधान निर्माण गरिने र सहमति प्रक्रियाले केही दिनमै मूर्तरूप लिने बताएका थिए । ‘हामी दलहरूबीच गम्भीर परामर्शमा छौँ, सहमतिबाटै संविधानका विवादित विषय टुंग्याउँछौँ,’ राजदूतसँगको भेटपछि खनालले संवाददाताहरूसँग भने, ‘केही दिनमै परिणाम आउनेगरी निरन्तर छलफल प्रक्रियामा हामी क्रियाशील छौँ ।’ कांग्रेस संसदीय दलका नेता पौडेलसँगको भेटमा पनि राजदूत जयन्त प्रसादले पाँचबुँदे सहमति कार्यान्वयनमा जोड दिएका थिए । उपसभापति पौडेलले पनि संविधानका विवादित विषयसहित राज्य पुन:संरचनामा दलहरूबीच सहमति खोज्ने प्रयासमा रहेकाले निकास आउनेमा आफू विश्वस्त रहेको बताए । पाँचबुँदे सहमतिप्रति एमाले केन्द्रीय कमिटीले असन्तुष्टि जनाएपछि र कांग्रेसमा पनि सरकारमा जाने विषयमा विवाद बढेपछि राजदूतले खनाल र पौडेलसँग भेटेका हुन् ।
यसअघि शुक्रबारै भारतीय राजदूतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका थिए । शुक्रबार बिहान कोइरालानिवास महाराजगन्जमा राजदूतसँग भेटेलगत्तै कोइरालाले माओवादी अध्यक्ष दाहालनिवास लाजिम्पाटमा दाहालसँग भेटवार्ता गरेका थिए । कोइरालाका साथ दाहाललाई भेट्न पुगेका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको राज्य पुन:संरचना र शासकीय स्वरूपमा छिट्टै सहमति हुने संवाददातालाई बताएका थिए । माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस सभापति कोइराला र महामन्त्री सिटौलाबीचको वार्तापछि भारतीय राजदूत दाहाललाई भेट्न दाहालको लाजिम्पाटस्थित निवासमा पुगेका थिए । भारतीय राजदूतसँगको भेटपछि शुक्रबारै माओवादी संस्थापन पक्षका स्थायी समितिका सदस्यहरूको बैठकले प्रदेशको संख्या नौ तोकेर प्रादेशिक सभाले नामकरण गर्नेसम्मको लचकता अपनाउने निर्णय लिएको थियो ।
यसअघि २१ वैशाख मध्यरातमा दलहरूबीच सहमतिको सरकार र संविधानका विषयमा पाँचबुँदे सहमति गर्नुअघि माओवादी अध्यक्ष दाहालको निवासमा दाहाल, प्रधानमन्त्री भट्टराई, कांग्रेस महामन्त्री सिटौला र भारतका विश्वासप्राप्त भनी चिनिएका कांग्रेस नेता अमरेशकुमार सिंहबीच छलफल भएको थियो । दाहालनिवासको त्यही गोप्य छलफलअनुरूप नै राति दलहरूबीच पाँचबुँदे सहमति भएको विश्वास गरिएको छ । सिंहले दाहालनिवासको गोप्य बैठकमा संयोगवश भारतीय राजदूत जयन्त प्रसाद आइपुगेको बताएर दलीय बैठकमा राजदूत सहभागी भएको यसअघि नै खुलासा गरिसकेका छन् ।

प्रतिक्रिया