नेपाली कलाको प्रदर्शनीका दृष्टिले ०७३ साललाई निकै सफल वर्षका रूपमा लिन सकिन्छ । राजधानीमा रहेका आधा दर्जन ग्यालरीमा नियमितजसो कला प्रदर्शनी भए । प्रदर्शनीका कारण कलापारखीले कलाका विविध पक्षको ज्ञान लिने र यसको स्वाद लिने अवसर पाए । ०७२ मा भूकम्पले थिलथिलो पारेको कला क्षेत्रमा यसवर्ष जागरण पैदा हुन सक्यो । हरेक ग्यालरीमा एकल तथा सामूहिक कला प्रदर्शनीका कारण दर्शकको ध्यान तान्नुका साथै कलाको थोरबहुत व्यापार पनि गरिरहेको छ । ग्यालरीमा कला प्रदर्शनी गर्नुको प्रमुख उद्देश्य भनेकै कलाकारले आफ्ना कलाकृतिको बिक्री, प्रचारप्रसार गर्नु र समाजमा आफ्नो सिर्जनशीलता प्रस्तुत गर्नु हो । प्रदर्शनीले कलाकारको सिर्जनशीलतालाई आमरूपमा प्रचार गर्नलाई मद्दत पुग्दछ । कमीकमजोरी र सबल पक्षको चिरफारसमेत हुने हुँदा प्रत्येक कला प्रदर्शनी कलाकारका लागि कडा परीक्षासमेत हो ।
नेपालमा कलाकारको जीवनस्तर बिस्तारै उकालो लाग्दैछ । बढ्दो बजार र क्रेताका कारण नेपाली कलाकारका कलाकृति महँगोमा बिक्री हुन थालेका छन् । पछिल्लो समय कलाको क्षेत्र फराकिलो र आममानिसमा यसप्रतिको सकारात्मक धारणा बन्नु सुखद् पक्ष हो । कला दीर्घा अर्थात ग्यालरीले कलाकार, कलापराखी तथा कलाक्रेता, समीक्षक, पत्रकार र आमदर्शकलाई एक ठाउँमा ल्याई त्यसको सौन्दर्यबोध गराउने काम गर्दछ । कला प्रदर्शनी गर्नका लागि चाहिने स्थानलाई नै ग्यालरी भनिन्छ । आजकल कला प्रदर्शनीका लागि पब्लिक स्पेसमा पनि गर्ने प्रचलन बढेर गएको छ । काठमाडौंमा भएका कला प्रदर्शनी र तिनले नेपाली समाजमा पारेको प्रभावलाई हेर्ने हो भने यो निकै धिमा गतिमा भए पनि सकारात्मक रूपमा नै अगाडि बढेको देखिन्छ । नेपालमा सबैभन्दा बढी कला प्रदर्शनी हुने ग्यालरी नेपाल आर्ट काउन्सिल हो ।
त्यस्तै, सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरी, अरूपण आर्ट ग्यालरी, पाटन म्युजियम, विकल्प आर्ट सेन्टर, सर्वनाम आर्ट ग्यालरी, नेवाःछें आर्ट ग्यालरी, आटुडियो, क्लासिक आर्ट ग्यालरी, मिथिला येँ आर्ट ग्यालरी, तारागाउँ म्युजियमले नियमितजसो कला प्रदर्शनी गरेका छन् । काउन्सिलमा नियमित ४÷५ वटा प्रदर्शनी गर्न मिल्ने हल रहेको छ । यही कारण कलाकारको पहिलो रोजाइमा यो ग्यालरी पर्ने गरेको छ । यस ग्यालरीमा महिनाको औसतमा ५÷६ वटा एकल तथा त्यत्ति नै मात्रामा सामूहिक प्रदर्शनी भइरहेको काउन्सिलमा कार्यरत हरिबहादुर खडकाले बताए । उनी भन्छन्, ‘काठमाडौंको केन्द्रमा रहेकाले प्रदर्शनीका लागि काउन्सिल कलाकारको पहिलो रोजाइमा परेको हो ।काउन्सिल कलाको प्रदर्शनी तथा अन्य गतिविधि गर्ने उद्देश्यका साथ स्थापना भएकाले यहाँ महिनामा ८÷१० वटा कलाका गतिविधि भइरहन्छन् ।’
यस ग्यालरीमा सबैभन्दा चर्चित कला प्रदर्शनी पौभा कलाकार समुन्द्रमान सिंहको भयो । श्रेष्ठले बनाएका करिब ५ दर्जन कलाकृति प्रदर्शनीमा राखिएको थियो । त्यस्तै कलाकार नरेन्द्रबहादुर श्रेष्ठको एकल मूर्ति प्रदर्शनी पनि चर्चा गर्न लायकको थियो । त्यसैगरी जरा फाउन्डेसनको आयोजनमा १० देशका कलाकार ३६ कलाकार सहभागी भएको कला प्रदर्शनी तथा कार्यशालाले निकै प्रभाव जमाउन सक्यो । मध्य कात्र्तिकमा ४० देशका २ सय १५ कलाकार सम्मिलित अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको प्रदर्शनी, कार्यशाला तथा बहसले राजधानीलाई कलामय बनायो । यस प्रदर्शनीले नेपाली कलालाई विश्वमा चिनाउन र नेपालको प्राकृतिक, सांस्कृतिक, पुरातात्विक सम्पदालाई कलाका माध्यमबाट विदेशमा प्रचार गर्न निकै सघाउँ पुग्यो ।
प्रदर्शनीको उद्देश्य नेपाली समाजका विविध पाटोलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनु रहेको सोसाइटीका नेपाल च्याप्टर प्रमुख एनबी गुरुङले बताए । उनले भने, ‘नेपालमा कलाका माध्यमबाट पर्र्यटन प्रवर्धन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा ४० देशका ७० बढी कलाकार नेपालमा आएका थिए ।’ नेपाली कला क्षेत्रमा चरा बनाउने कलाकारका रूपमा परिचित कलाकार हिरालाल डंगोल र उनका ४ सन्तानका चरासम्बन्धी चित्र प्रदर्शनी काउन्सिलमा भयो ।काउन्सिलमा मिथिला, पौभा÷थांका, समसामयिक चित्र, मूर्ति, प्रतिस्थापन कला, परफर्मेन्स आर्ट लगायतका कलाका विविध विधा र माध्यममा बनेका कला प्रदर्शनीमा राखिएको थियो । सिद्धार्थ आर्ट ग्यालरीमा यस वर्षमा मात्रै १२ वटा एकल प्रदर्शनी भए भने त्यत्तिनै मात्रामा सामूहिक प्रदर्शनी भए । ग्यालरीमा एकल तथा सामूहिक प्रदर्शनीमार्फत कलाकारले त्यस्तै अर्को ग्यालरी सिद्धार्थ आर्ट ग्यालरी हो ।
यस ग्यालरीमा सञ्चालकले नियमित रूपमा आफ्ना गतिविधि गरेको पाइन्छ । यस ग्यालरीमा गरिने कला प्रदर्शनीले कला क्रेता धेरै पाउने आमधारणा कलाकारमा रहेको छ । यस ग्यालरीमा अग्रज कलाकार श्यामलाल श्रेष्ठको एकल प्रदर्शनी भयो । यो प्रदर्शनी निकै चर्चा गर्न लायकको रह्यो । त्यस्तै, मोसगार्ड म्युजियम डेनमार्कमा गोपाल कलाप्रेमी, तेन्जिङ नोर्बु, सुनिल सिग्देल, जीवन सुवाल, हितमान गुरुङ, शिलाशा राजभण्डारी, मेख लिम्बु र संजीव महर्जनको प्रदर्शनी भयो । साथै यस ग्यालरीमा आधा दर्जन नेपाली कलाकारको कला प्रदर्शनी भयो । नेपाली तथा विदेशी कलाकारका नियमित भइरहने कला प्रदर्शनीका कारण यो ग्यालरी यसवर्ष चर्चामै रहन सक्यो ।बौद्धस्थित तारागाउँ म्युजियममा ५ वटा एकल तथा एक दर्जन जति सामूहिक कला प्रदर्शनी भएको निर्देशक रोशन मिश्रले बताए । उनले भने, ‘म्युजियममा भएका प्रदर्शनी मध्ये स्वर्गीय कलाकार पुरन खडकाको एकल प्रदर्शनी राम्रो र धेरै दर्शकको मन जित्ने खालको भयो ।’
त्यस्तै नेपाली कलामा नयाँ शैलीमा काम गरेका पहिलो कलाकर राजमान सिंह चित्रकारले बनाएका काठमाडौं उपत्यकाका वस्तु संरचनासम्बन्धी चित्रका प्रतिकृतिको प्रदर्शनी भयो । मदन पुस्तकालयको आयोजनामा भएको सो प्रदर्शनीमा १८४०–४४ ताका राजमानले बनाएका वस्तु संरचनासम्बन्धी दृश्य चित्र राखिएको थियो । समसामयिक कलाका साथसाथै यस म्युजियममा परम्परागत कला, मूर्ति, प्रतिस्थापन तथा कलाका नयाँ शैलीमा कला प्रदर्शनी भए ।पुल्चोकमा रहेको पार्क ग्यालरीमा पनि आधा दर्जन बढी एकल तथा सामूहिक प्रदर्शनी भए । यस ग्यालरीले आयोजना गरेको पार्क आर्ट फेयर निकै सफल रह्यो ५ दर्जन बढी नेपाली तथा विदेशी कलाकार यस फेयरमा सहभागी भएका थिए । त्यसैगरी एरिना ताम्राकारको एकल प्रदर्शनी पनि निकै राम्रो रह्यो । यसै वर्ष पार्क ग्यालरीले रसियामा समेत कला प्रदर्शनी ग¥यो ।
रसियामा गरिएको प्रदर्शनीमा नेपालका मूधन्र्य कलाकार तेजबहादुर चित्रकार, चन्द्रमान सिंह मास्केलगायत १ दर्जन बढीका कलाकृति लगिएको ग्यालरी सञ्चालिका निरा जोशीले बताइन् । साथै नेपाली कलाका बारेमा कलाकार तथा समीक्षक मुकेश मल्लले कार्यपत्र प्रस्तुत गरेका थिए । यो ग्यालरीले नेपाली कलाको विकासमा ३० वर्षभन्दा लामो समयदेखि निरन्तर काम गरिरहेको छ ।ठमेलमा रहेको मिथिला येँ आर्ट ग्यालरीले नेपाल तथा विदेशका गरी आधा दर्जन बढी एकल प्रदर्शनीको आयोजना गरेको क्युरेटर श्यामसुन्दर यादवले बताए । उनले थपे, ‘यस ग्यालरीले नेपालमा प्रचलित विभिन्न लोककला तथा समसामयिक कलाको प्रदर्शनी तथा कार्यशाला ग¥यो । त्यस्तै अन्तर्राष्ट्रिय स्तरका आधा दर्जन सामुहिक प्रदर्शनीसमेत गर्न सफल भएको छ ।’ लाजिम्पाटमा रहेको अरूपण आर्ट ग्यालरीले मात्रै ५ वटा एकल प्रदर्शनी गरेको छ । त्यसैगरी आधा दर्जन जति सामूहिक प्रदर्शनी र कार्यशाला गरेको छ ।
पाटनमा रहेका नेवाःछे, क्लासिक ग्यालरीमा पनि नियमितजसो एकल तथा सामूहिक प्रदर्शनी भए । विकल्प आर्ट सेन्टरमा आवासीय कला परियोजना, प्रदर्शनी तथा कार्यशाला भए । कलाकार कविराज लामाको चीन र जर्मनीमा एकल तथा सामुहिक कला प्रदर्शनी भयो । अजित साहको श्रीलंका र अमेरिकामा एकल तथा सामुहिक प्रदर्शनी भए । कलाकार रविन्द्र श्रेष्ठको अमेरिकाको हार्वड विश्वविद्यालयमा कला प्रदर्शनी भयो । यो प्रदर्शनीमा श्रेष्ठ दक्षिण एसियाली मुलुकबाट छनोटमा परी गएका थिए । नवलपरासीस्थित गैडाकोटमा ४ देशका ३० कलाकार सहभागी भई अन्तर्राष्ट्रियस्तरको प्रकृति कला उत्सवको आयोजना भयो । कलावती आर्ट काउन्सिलले सो उत्सवको आयोजना गरेको थियो । वन्यजन्तु पीडित उद्धार कोषले पनि प्रकृतिसम्बन्धी कला कार्यशाला तथा प्रदर्शनी ग¥यो । त्यस्तै अल्फ्रेस्को मिडिया प्रालिले नेपाल आर्ट काउन्सिलमा बृहत् प्रतियोगितात्मक प्रदर्शनी ग¥यो ।
प्रदर्शनीमा २ सय कलाकारभन्दा बढी सहभागी रहेका संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी गराए । पोखरा, धरान, झापा, चितवन, बुटवलमा पनि कलाका एकल तथा सामूहिक प्रदर्शनी भए । कलाकार र दर्शकलाई एक ठाउँमा ल्याउनका लागि ग्यालरीको महत्व हुने नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल बताउँछन् । उनी भन्छन्, ‘ग्यालरी भएनन् भने कलाको बजारीकरण र सामाजीकरण हुन गाह्रो पर्दछ ।’विदेशमा ग्यालरीले कलाकारको प्रमोट गर्ने गरेको उदाहरण दिँदै कलाकार उमाशंकर साह भन्छन्, ‘कलाकारविना ग्यालरी नचल्ने र ग्यालरीविना कलाकारका कलाले उचित स्थान नपाउने भएकाले दुवैको उत्तिकै महत्व रहेको छ ।’ ग्यालरीले सही ढंगले बजारीकरण गर्ने हो भने नेपाली कलाले विश्वमा राम्रो स्थान बनाउन सक्ने कलाकार मुकेश श्रेष्ठको अनुभव छ ।
उनी भन्छन्, ‘विश्वमा कलाले बजार र मानवीय भावनालाई एकैसाथ तानिरहेको हुन्छ । कलाले सम्बन्ध जोड्नुका साथै सचेतना र जागरणको भावना मानिसमा पैदा गर्छ ।’ थाङ्का हाउस ठमेलको आयोजनामा चीनको बेइजिङमा श्रेष्ठसहित १८ नेपाली कलाकारको प्रदर्शनी भयो । यो प्रदर्शनीले नेपाली कलाकारका कलाको बजार र मूल्यमा वृद्धि गर्न सकेको हाउसका सञ्चालक वीरेन्द्र शाहीले बताए । उनी भन्छन्, ‘नेपाली कलाका लागि चीन ठूलो बजार हो । चीनमा कलालाई एप्रिशियसन गर्ने ठूलो जमात रहेको छ । उनीहरूले विशेषगरी नेवारी कला मन पराउने भएकाले पनि हाम्रा लागि चिनियाँ बजार महत्वपूर्ण छ ।’ नेपालको अर्थतन्त्रमा करिब २० अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन नेपाली कला तथा हस्तकला गरिरहेको वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङले बताए । यो क्षेत्रलाई सही ढंगले व्यवस्थित गर्न सकिए यसको बजार र क्षेत्रको विस्तार हुने विश्वास दोङको रहेको छ ।
नेपालमा कलाका ग्यालरीले गर्ने बजारीकरणलाई तीव्र गतिमा सचेततापूर्वक अगाडि बढाउनुपर्ने तर्क नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य कलाकार लालकाजी लामाको रहेको छ । आन्तरिक बजार मात्रै नभएर बाह्य बजारको सम्भाव्यता खोज्नुपर्नेमा उनले जोड दिए । ग्यालरीले कलाकारलाई स्पेस मात्रै दिएको हुँदैन यसले बजार खोज्ने, प्रचारप्रसार गर्ने, कलाको महत्वलाई आमनागरिकसमक्ष पु¥याउने काम गरिरहेको छ । नेपाली कलाको सानो बजारलाई कलाकारले ध्यान दिँदै आमनागरिकमा कलाप्रति चेत जगाउनुपर्ने अबको अपरिहार्य काम बनेको छ । कला, कलाकार र कलाक्रेताको त्रिकोणात्मक सम्बन्ध रहने हुनाले यसलाई गतिशील रूपमा अगाडि पर्ने कार्यभार हाम्रा अगाडि देखापरेको छ ।
प्रतिक्रिया