काठमाडौँ, १२ भदौ । भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पुनःस्थापना हुन बाँकी सबै मुक्त कमैयाको यसै आर्थिक वर्षभित्र उचित व्यवस्थापन गरिसक्ने बताएका छन् ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घलगायत सङ्घसंस्थाले सोमबार राजधानीमा आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री दहितले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीको मुक्ति अभियानमा आफू साथ रहेको विश्वास दिलाए ।
मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीका बारेमा आफूले संसद्मा नियमित आवाज उठाउँदै आएको अवगत गराउँदै मन्त्री दहितले भने, “यस अभियानलाई उच्च प्राथमिकता दिएर मन्त्रालयका काम गरिरहेको छु ।”
कार्यक्रममा उच्चस्तरीय भूमिसुधार आयोगका पूर्व सदस्य गणेश विकले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरी मुक्तिपछि स्रोत, साधन तथा सहयोगको पर्याप्तता हुँदाहुँदै पनि उपयुक्त नीतिको कार्यान्वयन नहुँदा पीडादायी जीवन जिउन बाध्य भएको बताए ।
महासङ्घका संयोजक राजुराज भुलले सिंहदरबारमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा र शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले आफ्ना मागका सम्बन्धमा सुनुवाइ नगरेको गुनासो गर्दै दबाबस्वरुप राजधानीमा नागरिक सम्मेलन गर्नुपरेको बताए ।
मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कमैया, हलिया, हरुवाचरुवा र कमलरी मुक्त घोषित भए पनि पुनःस्थापनाका सम्बन्धमा अझै धेरै काम गर्न बाँकी रहेको जानकारी गराए ।
कार्यक्रममा दलित नागरिक समाजका संयोजक मोतीलाल नेपाली, मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरी, दलित गैरसरकारी संस्थाका केन्द्रीय उपाध्यक्ष भक्त विकलगायतले मुक्त घोषित कमैया, हलिया, हरवाचरवा र कमलरीका माग समाधानका सम्बन्धमा हालसम्म भएका सम्झौता कार्यान्वयनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा मंगलबार सम्बन्धित विषयका विधागत विषयका विज्ञका कार्यपत्रमाथि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया