‘सिटामोल र आइरन चक्कीसमेत पाइँदैन‘

बैतडी २० साउन । जिल्लाका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायत औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आइरन चक्की नपाउँदा आफू गर्भवती भएको ६ महिना हुँदासम्म पनि आइरन चक्की खान नपाएको पाटन नगरपालिका सिद्घेश्वरकी ईश्वरी चन्दले बताइन् । ‘स्वास्थ्यचौकी आउँछु, आइरन चक्की छैन भन्नुहुन्छ, गर्भवती भएको ६ महिनासम्म पनि आइरन खाएको छैन,’ उनले भनिन्, ‘डाक्टरले अनिवार्यरूपमा गर्भवती हुँदा आइरन सेवन गर्नुपर्छ भन्नुहुन्छ, तर कहाँबाट खाने ?’  बिरामी भएर स्वास्थ्य संस्थामा पुगेका पाटनका दिनेश अवस्थीले पनि औषधि नपाएको गुनासो गरे । स्वास्थ्य संस्थामै औषधि पाइन छोडेको छ, उनले भने ‘सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने औषधि नै मिल्न छोड्यो, मेडिकलबाट किन्ने पैसा छैन ।’

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा उपचारमा पनि समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्यचौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिइन् ।
सामान्य ज्वरो आएको बेला दिइने सिटामोलसमेत छैन, उनले भनिन्, ‘गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्कीकोसमेत अभाव छ ।’ गर्भवती महिलाले नियमित रूपमा २ सय २५ दिनसम्म लगातार रूपमा सेवन गर्नुपर्ने आइरन चक्कीसमेत अभाव रहेको अनमी भट्टको भनाइ छ । गएको ३ महिनादेखि आइरन चक्की र सिटामोलको समेत अभाव छ, उनले भनिन् । ‘आइरन चक्कीको समेत अभाव हुँदा आमा बच्चाको समेत स्वास्थ्यमा असर पर्ने देखिन्छ ।’ आजभोलि रुघाखोकी, झाडापखाला, भाइरल ज्वरोका बिरामी बढिरहेको भए पनि औषधि नपाउँदा उपचारमा समस्या भएको छ । बैतडीका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । सरकारले स्वास्थ्यचौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए ।

उनले भने, ‘आन्तरिक श्रोतबाट केही औषधि खरिद गरिएको भए पनि पछिल्लो समयमा औषधि अभाव भएको छ ।’  स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यसरी ४ महिनादेखि औषधि अभाव हुँदासमेत सम्बन्धित निकायले कुनै चासो नदेखाउँदा स्थानीय बासिन्दा आक्रोशित छन् । जिल्लाको दुर्गम तल्लोस्वराडमा रहेको उदयदेव स्वास्थ्यचौकीमा पनि सिटामोल र आइरन चक्कीसमेत १ महिनादेखि अभाव रहेको स्वास्थ्यचौकी इन्चार्ज शिवकुमार कठरियाले जानकारी दिए । औषधिको अभाव हुँदा बिरामीलाई रित्तै हात घर पठाउनुपर्छ, उनले भने, ‘स्वास्थ्यचौकीमा आएका बिरामी तथा स्थानीय बासिन्दा औषधि नपाउँदा आक्रोशित हुने गरेका छन् ।’  औषधि अभाव हुँदा उपचारमा समस्या हुनुका साथै स्थानीय आक्रोशित भएर विनाऔषधि स्वास्थ्यचौकीमा किन बसेको भन्दै हप्काउने गरेको उनले बताए । स्वास्थ्यचौकीका लागि २० प्रकारको औषधि भए पनि थप १६ प्रकारको औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा.गुणराज अवस्थीको भनाइ छ । शतप्रतिशत औषधि कहिल्यै पनि पूर्ति हुन सकेको छैन, उनले भने, ‘सबै अधिकार स्थानीय तहलाई दिएको भए पनि औषधि कसले किन्ने भन्ने टुंगो नलाग्दा अभाव भएको हो ।’

राजनीतिक अस्थिरता भएकाले असारदेखि औषधिको बढी अभाव भएको हो । औषधि कसले किन्ने भन्ने भनेर नीति नबनाउँदा अन्योल बढेको प्रमुख डा.अवस्थीको भनाइ छ । उनले भने, ‘औषधि जीवनमरणको कुरा हो यसमा सम्बन्धित निकायले गम्भीर हुनुपर्छ ।’
केन्द्रमै अलमल छ, स्वास्थ्य मन्त्रालयले किन्ने कि स्वास्थ्य सेवा विभागले किन्ने कि क्षेत्रीय स्वास्थ्य निर्देशनालयले किन्ने भन्नेबारे अन्योल रहेको प्रमुख डा.अवस्थी भने, ‘जिल्ला तथा स्थानीय तहलाई नै औषधि किन्न दिई चाँडोभन्दा चाँडो औषधि आपूर्ति गर्नुपर्छ ।’ औषधि अभाव भएका स्वास्थ्यसंस्थामा १÷२ महिना अझै औषधिको अभाव हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले जनाएको छ । औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्यचौकी दिउँसो १ बजे नै बन्द हुने गरेका छन् । सरकारले साँझ ५ बजेसम्म स्वास्थ्यचौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने परिपालना हुन सकेको छैन ।

प्रतिक्रिया