भारतीय लोकतन्त्रको अँध्यारो अनुहार बिहार कुनै समय नेपाल र भारतमा नकारात्मक उदाहरणको निम्ती प्रख्यात बनेको थियो । सबै चुनौतीको डटेर सामना गर्दै एक कुशल इन्जिनियर र विकाशवादी नेता नीतिश कुमारको नेतृत्वमा बिहारले आफूमाथि लागेको दाग पखाल्न सफल हुँदै थियो । पहिलोपटक जन्मिँदा केवल ७ दिनको मुख्यमन्त्री बन्न सफल नीतिश अनेकौँ वाधा पन्छ्याउँदै पाँचौँपटक मुख्यमन्त्री बन्दैगर्दा बिहारले राजनीतिक स्थिरता र आर्थिक छलाङ एकैपटक मार्ने अडकल गरिएको थियो ।
सन् २०१८ अन्त र २०१९ मा हुने लोकसभाको निर्वाचनलक्षित बिजेपी निर्मित कालोबादल बिहार राजनीतिमा मडारिँदा जुलाई २६ तारिखको दिन महागठबन्धनका नेता नीतिशले प्रचण्ड बहुमतका बीच मुख्यमन्त्री पदबाट राजीनामा दिए । आममानिसले सोचेकै मुताविक लालुको पार्टी आरजेडीलाई सडकमा ल्याउने रणनीति अनुरूप बिजेपी र शरद यादबको जनतादल युनाइटेडबाट नीतिश कुमार छैटौँपटक २७ जुलाई २०१७ मा बिहार गभर्नर केशरीनाथ त्रीपाठीबाट मुख्यमन्त्री पदको शपथ लिन सफल भएका छन् ।
कसरी भत्काइयो महागठबन्धन
दक्षिणपन्थी भारतीय जनता पार्टीसँग नाता तोड्दै बिहारको राजनीतिमा स्थापित हुन पुगेका नीतिश कुमार पछिल्लो कालखण्डमा प्रधानमन्त्री मोदीको विकल्पमा हेरिँदै थियो । सन २०१५ को बिहार एसेम्ब्लीको निर्वाचनमा भारतीय जनता पार्टीको अगुवाईमा बनेको एनडिएलाई माथदिन कंग्रेस, जेडियू र आरजेडी महागठबन्धनको नेतृत्व गर्दै बिहारमा भारी बहुमत दिलाउन सफल भए ।
बिहार एसेम्ब्लीको २ सय ४३ सिट मध्य महागठबन्धन आरजेडी ८० जेडियू ७१ र कंग्रेस २७ गरी कुल १ सय ७८ माथि कब्जा राख्दै मोदीको बिजेपीलाई केवल ५३ सिटमा सीमित गर्ने श्रेय तीनै नीतिश कुमारले पाएका थिए । महागठबन्धनको अपार सफलता पछि बिहार राजनीतिमा केन्द्र सरकार र बिजेपीको प्रभाव दिनप्रतिदिन घटदै जाँदा प्रधानमन्त्री मोदी र बिजेपी प्रमुख अमित साह नयाँ रणनीति बुन्न बाध्य हुँदै थिए । निकट भविष्यमा हुने लोकसभा निर्वाचनमा बिहार मुख्यमन्त्री नीतिश कुमारमार्फत पुग्ने क्षतीलाई कसरी कम गर्ने ? भन्ने रणनीति अनुरूप महागठबन्धन टुटाउने खेल तीव्र बनाइयो । सोही रणनीति मुताविक नीतिश सरकारको अहं हिस्सा आरजेडी नेता लालु यादव, उनकी पत्नी र छोरामाथि सिबिआईमार्फत भ्रष्ट्राचारको चार्जसिट दर्ता गराइयो ।
विगत लामो समयदेखि भ्रष्ट्राचारको केसमा तानिएका लालु परिवारमाथि मोदी सत्ताको मातहत रहेको सिबिआईद्वारा लादिएको नयाँ खेल अनुरूप भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता अपनाउने नीतिशले आफ्ना उपमुख्यमन्त्री लालु सुपुत्रलाई सँगै बोक्न सक्ने स्थिति नै थिएन । सत्ताको प्रमुख घटक आरजेडी लालु पुत्रको विकल्प दिन तयार नभएको वहानामा नीतिश कुमारले आरजेडीसँग पारपाचुके गर्दै बिजेपीसँग नयाँ लगनगाँठो कस्दै प्रधानमन्त्री मोदी र अमित शाहको बिहार मिसन सफल बनाइदिएका छन् । सन २०१८ को अन्त्य र २०१९ को सुरुसँगै हुने लोकसभा निर्वाचनमा बिहारको ४० सिटमा अपूर्व विजय हासिल गर्ने लक्ष्य अनुरूप हिँडेको दक्षिणपन्थी मोदी सरकार नीतिश कुमारको साथलिँदै महागठबन्धन भत्काउन सफल भएको छ ।
असफलता उन्मुख कांग्रेस–माओवादी केन्द्र गठबन्धनः
नेपालको संविधानलाई आफूले स्वागत नगरेको र अरूलाई पनि स्वागत गर्न नदिने कोशिस गरेको भारतीय सत्ता नेपालको संविधानमा आफ्ना स्वार्थको सुनिश्चितता लिखित रूपमा चाहान्छ भन्ने कसैबाट छिपेको विषय नै रहेन । सोही सिलसिलामा नाकाबन्दीदेखि सरकार परिवर्तनसम्म गर्न सफल भारतीय सत्ता आफ्ना मुल एजेन्डा स्थापित गर्न असफल हुँदा अनेक खेल एकसाथ जारी राख्दै छ । आफ्नै गुरुयोजना मुताविक निर्मित सिंहदरबारको सत्तालाई दबाब दिन निर्माण गरिएको राजपा नेपालको कमजोर प्रदर्शनबाट थकित भारतीय सत्ता वर्तमान माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट आफ्नो काम नबन्ने अनुभव गर्दै छ ।
स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत कांग्रेस–माओवादी केन्द्रको प्रभाव क्षेत्र ३, ४ र ६ नम्बर प्रदेशमा जित हासिल गर्दै दोस्रो चरणमा आफ्नो शक्ति बढाउँछौँ भन्दै गराइएको स्थानीय निर्वाचनको नतिजापश्चात भारतीय सत्ता नराम्रोसँग झस्किएको छ । नाकाबन्दीपछि नेपाली मतदातामा परेको भारत विरोधी भावना तराई–मधेसमा कमजोर रहे पनि पहाड र शिक्षित मतदातामा गहिरो असर छोडन सफल भएको छ । अझ भारतनिर्मित वर्तमान सत्ता गठबन्धन नरुचाएको अवस्थामा हुने प्रदेश र केन्द्र सरकारमा उनीहरूको उपस्थिति धेरै पातलो हुने जानकारी भारत र दाहालले पाइसकेको संकेत मिल्दै छ । जसको कारण वर्तमान गठबन्धनको दायरा फराकिलो गर्ने कि नयाँ ढंगको प्रयोग गर्ने द्विविधामा भारत पुगेको विश्लेषकको धारणा छ ।
चर्चामा वाम गठबन्धन
स्थानीय तह निर्वाचनको नतिजासँगै एमाले नेता वामदेव गौतमबाट चलाइएको हल्ला र ओलीले चुनाव जित्न एमालेसँग मिल्नुपर्छ भनेको कथनले चर्चामा ल्याएको वामगठबन्धनको असली डिजाइनर बिजेपी भित्रकै नेपाल डेस्क हेर्नेको नयाँ गुरुयोजना बुझ्न केही समय लाग्ने देखिन्छ । भारतीय सत्ताले काग्रेस–माओवादी केन्द्रलाई बोक्दा आगामी प्रदेश र केन्द्रीय संसद्मा एमालेले वाम रुझानको एकलौटी शक्ति आर्जन गर्ने निश्चित छ । भारत विरोधी भावनालाई नगदमा रूपान्तरण गर्दै एमालेले बहुमत ल्याएको खण्डमा आफ्नो राजनीतिक प्रभाव नेपालमा झन् घटने आँकलनपछि भारतीय सत्ताले सुनियोजित रूपमा वामगठबन्धनको हल्ला चलाएको भन्नेहरूको तर्कमा वजन छ भन्न सकिन्छ ।
माओवादी केन्द्रको असली तागत तेस्रो शक्ती नभई तेस्रोदल हो भन्ने खुल्दै गर्दा वामगठबन्धनको नाममा एमाले माओवादी केन्द्र एक बनाउँदै निर्वाचन लडाउने खेल भारतीयहरू बाटै सम्पन्न गरिने सम्भावना बढ्दो देखिन्छ । नेपालको माओवादी केन्द्र आफैँ चुनाव जित्न नसक्ने, अरूलाई हराउन सक्ने र केही सीमित ठाउँमा कसैको सहयोग पाएमा जित्न सक्ने आँकलनपछि वामगठबन्धनको नाममा एमाले–माओवादी केन्द्रको गठबन्धन गराउन एमालेका वामदेव गौतम र माओवादी केन्द्रका दाहालको प्रयोग भारतीय सत्ताबाटै हुनसक्ने तथ्य नेपालको राजनीतिको भित्री पाटो बुझ्नेहरूको निम्ती कुनै अनौठो मानिने छैन । गठबन्धनदेखि निर्वाचनको खर्चसमेत बेहोर्न तयार भारतीय सत्ता भविष्यमा यसको प्रयोग आफ्नो प्रतिकूल हुने बित्तिकै कसरी तोडफोड गरिनेछ भन्ने बुझ्न विगतको माओवादी पार्टी, एमाले पार्टी र कांग्रेस पार्टीको विग्रह हेरे काफी भइहाल्छ ।
एमाले र माओवादी केन्द्रको गठबन्धनको डर देखाउँदै कांग्रेस, मधेस केन्द्रित दल र राप्रपा नेपाललाई एकबनाई निर्वाचनमा जाने र वामगठबन्धनभित्र एमालेको एकल बहुमत रोक्ने खेल योजनाबद्ध रूपले सम्पन्न गर्नसक्ने सम्भावना प्रबल देखिन्छ । निर्वाचनपश्चात् तात्कालीन शक्ति सन्तुलनको आधारमा एमाले र माओवादी केन्द्रको झगडा बढाउने आधार विभिन्न शक्ति केन्द्रले जानाजान अल्झाइराखेको शान्ति प्रक्रियाअन्तर्गतका हत्या, लुटपाटको घटना साथै नक्कली लडाकु आर्थिक हिनामिना क्यान्टोनमेन्ट कान्ड कुनै पनि समय तरबार बनाउँदै दाहालको गर्धनमा तेस्र्याउँदै वामगठबन्धन भत्काउने खेल उनीहरूबाटै सम्पन्न गरिनेछ भन्ने आधार बुझ्न बिहार राजनीति काफी छ भन्न सकिन्छ ।
ओलीको बाटोः जितेर हार्ने कि हारेर जित्ने ?
वर्तमान राजनीतिको शक्ति सन्तुलनमा भारतीय सत्तामा दक्षिणपन्थी बिजेपी मजवुत स्थितिमा उपस्थित हुनु, भारतीय वामपन्थी आन्दोलन रक्षात्मक अवस्थामा हुनु, देशभित्र एमालेविरुद्ध व्यापक मोर्चाबन्दी हुँदै गइरहेको बस्तुस्थितिलाई वामगठबन्धनको अनिवार्यता देखाउँदै सतही रूपमा गरिने माओवादी एमाले गठबन्धनको फाइदा माओवादी केन्द्रमार्फत फेरि पनि भारतीय सत्ताले लिने बस्तुगत परिस्थिति निर्माण हुनजाँदा अन्ततः नेपालको वामपन्थी आन्दोलनले ठूलो नोक्सानी बेहोर्ने खतरा बढदै छ ।
नेपाली राजनीतिको सबैभन्दा ठूलो अवसरवादी अनुहार दहालको बुई चढेर वामदेव वा ओलीले वैतरणी पारगर्ने खेल ‘मुंगेरीलालको हसिन सपने’ शिवाय केही नहुने यथार्थता बुझ्न बिहार राजनीति एकपटक नियाल्न उनीहरूको निम्ती अत्यावश्यक भइसकेको छ । कांग्रेसलाई हराउने नाममा दाहाल बोक्ने खेल भविष्यमा जितेको युद्ध हार्ने कारण बन्नेछ भन्ने आधार बिहार घटनाबाट बुझ्न, जान्न र सिक्न सकिन्छ ।
ओलीमाथि दबाब
आगामी कार्यकालको निम्ती आइलाग्ने तमाम अवरोधलाई पाखा लगाउँदै अगाडि बढिरहेको प्रधानमन्त्री मोदी र उनको दक्षिणपन्थी पार्टी बिजेपीले बिहार राजनीतिमा प्राप्त गरेको पछिल्लो सफलतापछि एकसाथ देशभित्र र बाहिरका विरोधी शक्तिलाई नयाँ सन्देश प्रवाह गर्न सफल भएको छ । बिहार राजनीतिको बाछिटा ओलीको आँगनसम्म आइपुग्दा आगामी दिन थप चुनौतीपूर्ण हुन जाने देखिँदै छ ।
मोदी सत्ताको नाकाबन्दीविरुद्ध लिएको अडानले गुमाएको प्रधानमन्त्री पद जनताको मतमार्फत प्राप्तगर्ने ओली अभियान बिहार महागठबन्धन टुटाएको घटनाबाट माओवादी केन्द्रसँग गरिने सहकार्य नजन्मँदै धरापमा परेको महसुस गरिँदै छ । माओवादी केन्द्रको अवसरवादी चरित्र र मोदी सत्ताको नेपाल नीति खुलेर प्रकट हुँदै गर्दा आगामी निर्वाचन अघि वा पछि माओवादी केन्द्रसँगको सहकार्य ओलीको निम्ती नयाँ चुनौती बनेर प्रकट हुँदा थप दबाब महसुस गर्दै छन् । बिहार राजनीतिको कुप्रभावलाई कमगर्न आगामी निर्वाचनमा प्रधानमन्त्री कसलाई बनाउने तोकेर निर्वाचनमा जाँदा एमालेलाई फाइदा हुने निश्चित छ । भारतीय घेराबन्दीलाई साँघुरो बनाउन माओवादी केन्द्रसँग गठबन्धन बनाउने कि साना वामदल नेमकिपा, नेकपा संयुक्त, नेकपा माले, राजमो नेपाललगायत राष्ट्रवादी गठबन्धन बनाउने विकल्प उनको सामु उपस्थित छन् ।
प्रस्तावित गठबन्धन, माधव, झलनाथ र वामदेवको व्यवस्थापन एकैपटक गर्नु ओलीको निम्ति फलामको च्युरा चपाएसरह हुनेछ भने गठबन्धनविना निर्वाचनमा होमिँदा ठूलो घेराबन्दीमा पर्ने निश्चित नै छ । बिहार राजनीतिको भित्री पाटो आगामी निर्वाचनमार्फत बिजेपीले भारतीय सत्तामा निरन्तरता मिलाउँदै गर्दा मोदी अझै शक्तिशाली बन्दैछन् भन्ने निर्विवाद सत्य ओलीजस्ता चतुर नेताबाट छिप्ने कुरै भएन । नेपालको राजनीतिमा घटेको मोदी प्रभाव ओली उदयले झन् घटने हुँदा आगामी दिन ओलीका निम्ती नयाँनयाँ चुनौती थपिने निश्चित नै छ । निर्वाचन अघि वा पछि मोदीमार्फत खडा गरिने वामदेव, दाहाल, कांग्रेस र मधेसी मोर्चाको घेराबन्दीमा ओली पर्ने निश्चित नै छ । वर्तमान सन्दर्भमा बिहार राजनीतिको सन्देश ओलीको निम्ति चुनौती र अवसर बनेर आइलागेको छ । तमाम चुनौती र अवसरको सामना ओलीले कसरी गर्नेछन् र नेपाली राजनीति आतुरतापूर्वक पर्खिरहेको छ । (नेपालपाटीबाट)
प्रतिक्रिया