संकटमा पर्दै छ तिजको मौलिकता

suman Adhikari

‘महिलाहरूलाई पराइ घरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न तिज पर्वको ठूलो भूमिका रहेको छ । तिजका गीत, संस्कार र संस्कृतिमा पुरुषहरूको प्रवेश हुनु भनेको तिजको महत्व नै समाप्त हुनु हो । अझ आफूलाई देशको गहनाका रूपमा परिभाषित गर्दै हिँड्ने र आफूलाई अब्बल दर्जाको कलाकार ठान्ने पुरुष कलाकारहरू महिलाहरूको बीचमा बसेर तिजको गीत गाउने प्रचलनले यसको महत्व सकिएको छ ।‘

नेपाल संस्कार र संस्कृतिमा धनी देश हो । नेपाल बहुभाषिक, बहुसंस्कृतिक र बहुजाति भएको देश हो । नेपालीका आफ्नै मौलिक चाडपर्वहरू धेरै छन् । तीमध्ये तिज अर्थात् हरितालिका पनि एक हो ।तिज विशेष गरेर हिन्दू नारीहरूले मनाउने गर्छन् । विशेष गरी तिज हिन्दू नारीहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाउने गर्छन् । हिन्दू महिलाहरूले तिजमा भगवान् शिवको आराधना गर्नुकासाथै नाचगान र मनोरञ्जनसमेत गर्ने गर्छन् । तिज मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाउने प्रचलन रहेको छ । पौराणिक रूपमा आद्यशक्ति भगवान् शिवकी अर्धांगिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत बसेकी थिइन् त्यो दिन हरितालिका तिजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।
तिज पौराणिक कालदेखि चलिआएको परम्परा हो । यसमा कसैको दुई मत छैन । पूर्वीय मान्यताअनुसार महिलाहरू विवाहपश्चात् आफ्नो पतिको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तिज पर्वको गहन महत्व रहेको छ । तर, आधुनिक समाजमा महिलाहरूले तिजमा पश्चिमेली संस्कार भित्राउन थालेका छन् । महिलाहरूले तिजमा रातो साडी लगाएर नाच्ने गाउने प्रचलनलाई कुल्चिँदै आधुनिक पहिरनमा नाच्ने र आधुनिकशैलीको तिज गीतमा नाच्ने प्रचनलनले पनि तिजको सामरिक महत्व खस्किँदैै गएको छ । विशेष गरी महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न तिज पर्वको ठूलो भूमिका रहेको छ ।

तर, पछिल्लो समय त्यसतर्फ ध्यान दिन महिलाहरूले छाडेका छन् । मनोरञ्जन र फेसनको रूपमा महिलाहरूले तिजलाई मनाउने गरिएको छ । तिजमा महिलाहरूले आफुले वर्षभरी पराई घरमा भोगेको समस्यालाई गीतमार्फत अभिव्यक्त गरेर दुःख र रोदनलाई कम गर्ने पर्वका रूपमा मनाउने प्रचलन रहेको छ । त्यसका साथै विवाहित महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहित सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तिजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तिजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । यो दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिलाहरू महादेवको पूजा आराधनापश्चात फलफुल ग्रहण गर्दछन् ।

यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।तर, समय परिवर्तनसँगै तिजको मौलिकता र पहिचान हराउँदै गएको छ । युवा पुस्ताहरूले यसलाई जगेर्ना गर्नुको सट्टा विकृति थुपार्ने काम गरिरहेका छन् । तिजको संस्कृतिक र पहिचानमाथि युवा पुस्ताले हिलो छ्याप्ने काम गरिरहेका छन् । अझ अर्को शव्दमा भन्नुपर्दा तिजको संस्कृतिमाथि युवापुस्ताहरूले बलात्कार गरिरहेका छन् । आधुनिक समाजमा तिजको महत्वलाई युवा पुस्ताले उल्टो रूपले व्याख्या गर्न खोजेको भान हुन्छ र महिलाहरूले मात्र तिज मनाउने प्रचलन रहेता पनि पछिल्लो समय पुरुषहरूले पनि तिजमा आफ्नो भूमिका प्रत्यक्ष रूपमा देखाउन खोज्दा तिजको भविष्य र संस्कृति अन्योलतातिर धकेलिरहेको छ । पछिल्लो समय पुरुषहरूले पनि तिजको गीतमा नाच्ने र गाउने प्रवृत्तिले तिजको भविष्य बिस्तारै स्खलित हुँदै गएको छ ।

तिजका गीत, संस्कार र संस्कृतिमा पुरुषहरूको प्रवेश हुनु भनेको तिजको महत्व नै समाप्त हुनु हो । अझ आफूलाई देशको गहनाका रूपमा परिभाषित गर्दै हिँड्ने र आफूलाई अब्बल दर्जाको कलाकार ठान्ने पुरुष कलाकारहरू महिलाहरूको बीचमा बसेर तिजको गीत गाउने प्रचलनले यसको महत्व सकिएको छ ।पुरुष कलाकार जो तिजको गीत गाउँदै हिँड्छन् उनीहरूलाई यस बारे प्रश्न गर्दा अझ लाजै नमानि आफुहरूले संस्कृतिको जर्गेन गर्ने लागिपरेको उत्तर दिन्छन् । आफूलाई समाजको आधा आकाश मान्ने महिलाहरू मस्कीमस्की पुरुषहरूसँग तिजको गीतमा नाच्ने प्रचलनले आफ्नो अस्तित्व मेटिँदै गएको छ । त्यसैले समाजमा पुरुषसरह अधिकार खोज्ने महिलाहरूले यसतर्फ पनि ध्यान दिने कि ? अझ एकदिने यो तिजमा महिलाहरूले नक्कल र फेसनको रूपमा ३ महिना अघिदेखि मान्ने प्रचलनले तिजको पौराणिक र सांस्कृतिक महत्व ओझेलमा पर्दै गएको छ ।

हामीले बुझेको तिज वर्षभरि पराइघरमा भोगेको समस्यालाई गीतमार्फत अभिव्यक्त गर्र्ने हो । तर, आजभोलिको तिजको गीतमा उत्ताउलोपनाले सीमा नाघ्दै गएको छ । आधा आकाशका रूपमा आफुलाई परिचित गराउन खोज्ने महिलाहरू उत्ताउलो पाराले तिज आउनुभन्दा ३ महिना अगाडिदेखि सहरका पार्टी प्यालेसमा महँगा साडी, चोला, छड्के तिलहरीलगायत सामग्रीहरू प्रदर्शन गर्दै दरका नाममा रक्सी र रममा रमाउने संस्कृति हुर्किंदै गएको छ । यसले पनि तिजको महत्व र गरिमालाई दिनानुदिन खस्काउँदै लगेको छ । आपूmलाई समाजमा पुरुषसरह अधिकार चाहियो भन्नेहरूले आफ्नो पहिचान जोगाउन अब तिजबाट पाठ सिक्ने कि ? ३ महिना अघिदेखि तिजको गीतमा उफ्रिएर फरियाको फेरले आधा आकाश ढाक्ने कि आधा धर्ती ?

प्रतिक्रिया