फिलिपिन्सका राष्ट्रपति लोकप्रिय ः सर्वेक्षण

philippines president
मनिला । अधिकांश फिलिपिनी जनताले राष्ट्रपति रोड्रिगो डुटेर्तेको १ वर्षको कार्यकालमा उनको कार्यको प्रशंसा गरेको पाइएको सोमबार सार्वजनिक एक स्वतन्त्र सर्वेक्षणले देखाएको छ । पल्स एसिया रिसर्च इन्कद्वारा जुन २४ देखि २९ सम्म गरेको फिलिपिनी सरकारी अधिकारीहरूको कामको मूल्यांकन सर्वेक्षणमा राष्ट्रपति डुटेर्तेको कार्यकालमा उनीबाट चलाएको अभियानको ८२ प्रतिशत नागरिकले प्रशंसा गरेका छन् । देशभरका विभिन्न समुदायमा गरिएको उक्त सर्वेक्षण १ हजार २ सय नागरिकबीच गरिएको थियो ।  ‘प्रायः फिलिपिनी नागरिकले उनी (डुटेर्ते)को कामको प्रशंसा गरेको पाइएको छ,’ उपराष्ट्रपति मारिया लेअनर राब्रेडो तथा सिनेटका अध्यक्ष अकिलिनो पिमेन्टलले बताए ।

सर्वेक्षणमा रोब्रडोलाई ६१ प्रतिशत र पिमेन्टललाई ६२ प्रतिशतले प्रशंसा गरेका बताइएको छ । सहभागीमध्ये १३ प्रतिशतले नागरिकले आफूहरू डुटेर्तेको कार्यक्रमबारे मूल्यांकन गरिरहेको जनाउँदै निर्णय दिन चाहेनन् भने ५ प्रतिशतले डुटेर्तेको कार्यकालको पहिलो वर्षका कामकोे खुलेर विरोध जनाएका थिए । समग्रमा डुटेर्तेलाई सबैभन्दा बढी रुचाएका पाइएको सर्वेक्षण प्रतिवेदनमा जनाइएको छ ।  पिलिपिनी राष्ट्रपति डुटेर्तेमाथि पश्चिमा मुलुक र मानवअधिकारवादी संघसंस्थाबाट उनको गैरप्रजातान्त्रिक गतिविधि (अभियान) लाई लिएर एकपछि अर्को आलोचना आइरहेका समयमा यो प्रतिवेदन सार्वजनिक भएको हो ।

लागुऔषध कारोबारका नाममा गरिएको कडा अभियान र मिन्दानाओ क्षेत्रमा सैनिक शासनका घोषणाविरुद्ध मानवअधिकारवादी संघसंगठन तथा पश्चिमा मुलुकले डुटेर्तेको अभियानको आलोचना गर्दै आएका छन् । सरकारी अधिकारीले मारावी सहरमा भइरहेको इस्लामिक स्टेट (आइएस) विरुद्धको द्वन्द्वमा ४ सय ११ जना विद्रोहीसहित ९७ सुरक्षाकर्मी, ४५ सर्वसाधारणगरी जम्मा ५ सय ९३ जनाको मृत्यु भएको छ । सन् २०१६ मा कार्यभार सम्हालेका राष्ट्रपति डुटेर्तेले सन् २०२२ सम्मको ६ वर्ष लामो कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया