मेरी आमाले भनेको सधैँ सम्झिन्छु, पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रो सन्तानचाहिँ छोरा होस् भन्ने धेरै आफन्तहरूको चाहना थियो । तर, दोस्रो सन्तान पनि छोरी नै भयो । मेरी आमालाई फेरि तिनै आफन्तले दबाब देलान् र कमजोर शरीरको बाबजुद अर्को बच्चा पनि जन्माउन बाध्य हुनुपर्ला भन्ने डरले बुबाले तुरुन्तै गएर बन्ध्याकरण गर्नुभएछ । यो आजभन्दा २५ वर्ष पहिलेको कुरा हो । त्यतिबेला बुबाले लिनुभएको निर्णयमा म आज पनि गौरव महसुस गर्छु । दुनियाँले के भन्ला, मरेपछि पिण्ड कसले देला र वंश कसले अगाडि बढाउला भन्ने कुराको पछि नलागी गरिएको सो निर्णयका कारण आजसम्म पनि हाम्रो परिवार सुखी परिवार भएको छ । समय धेरै परिवर्तन भइसक्यो । कमसेकम सहरी क्षेत्रको लागि त हामी यसो भन्न सक्छौँ । पहिलेको कुरा गर्ने हो भने सानैदेखि आमाबुबाले आफ्ना छोरीहरूलाई पति र उनका नातेदारलाई रिझाउनुपर्छ भन्ने शिक्षा दिँदै हुर्काउनुहुन्थ्यो । रिझाउन त सबैलाई रिझाएकै राम्रो, आफ्नो आत्मसम्मानमा ठेस नपु¥याइकन ।
किन पतिको घरलाई मात्र ?
तर, ‘मनको बह कसैलाई नकह’ भन्दै सिकाइएको कुराले नजाने कति सहनशीला सुशीलाहरूले जिन्दगीमा चाहिनेभन्दा बढी नै सम्झौता गर्न बाध्य भए होलान् । समय परिवर्तन हुँदै जाँदा र शिक्षा, सञ्चार तथा प्रविधिमा आएको बदालावसँगै छोरीको भूमिका र परिवारमा उसले पाउने स्थानमा धेरै परिवर्तन आउन थाल्यो । आधुनिक समाजभित्र पनि गर्भ परीक्षण र भ्रुण हत्याजस्ता सामाजिक समस्या विद्यमान नै रहेता पनि छोरीलाई पनि महत्व दिई उसको लालनपालन र शिक्षादीक्षामा राम्रो लगानी गर्न थालिएको छ्र अब छोरीलाई तिमीले पति र सासुससुरालाई खुसी पार्नैपर्छ भन्दा पनि सर्वप्रथम आफू स्वावलम्बी र आत्मनिर्भर हुनु बढी जरुरी छ भन्नेतर्फ सचेत भएको देख्न सकिन्छ । यसलाई मान्छेको सोचाइ र बुझाइमा आएको ठूलो फड्को मान्न सकिन्छ्र यस्तै हुर्काई र सिकाइसँगै हुर्किएकी एउटी छोरी जब अर्काको घरमा बिहे गरेर जान्छे तब भने बिल्कुलै फरक भूमिकामा ‘फिट’ हुनुपर्ने हुन्छ ।
२०औँ वर्षदेखिको सिकाइ र भोग्नुपर्ने व्यवहारमा एक्कासि फरकपन महसुस हुन्छ । अनि त्यो नयाँ व्यवहारमा भिज्न नसके ‘अनफिट’ हुन पुग्दछे । यो पूर्णरूपले ‘रोल रिवर्स’ को अवस्थालाई कसरी सम्हाल्ने भन्ने कुरा प्रायः कमै बुहारीलाई थाहा हुन्छ । किनभने बुहारी बन्ने तालिम त कसैले पनि लिएर आएको हुँदैन । जहाँ छोरीलाई स्वावलम्बी हुन सिकाइयो, आफ्नो निर्णय आफैँ लिन र आफूले घर र पेसा सम्हालेर अगाडि बढ्न सिकाइयो, त्यही घरमा अझै पनि बुहारीबाट भने परनिर्भरताको अपेक्षा राखिन्छ । आफू आत्मनिर्भर भएर जन्मघरलाई समेत योगदान पु¥याइरहेकी छोरी विवाहपश्चात् त्यही जन्मघर जानुप¥यो भने कारण दिनुपर्ने हुन्छ । व्यावहारिकरूपले हेर्ने हो भने बुहारी नयाँ सदस्य हुने भएकोले परिवारले उसलाई पहिला नयाँ सदस्यको रूपमा स्वीकार गरेर उसलाई सबै व्यवस्था, रीतिरिवाज र परिवारका अन्य सदस्यलाई बुझ्ने पर्याप्त समय दिनुपर्ने हो ।
यसको लागि सुरुआती १÷२ वर्षको समय चाहिन्छ । त्यो किन चाहिएको भने हरेक परिवारको आफ्नै संस्कार हुन्छ, अझ हाम्रो नेपाली समाजमा जटिल पारिवारिक सम्बन्धहरू र त्यो अनुसार निभाउनुपर्ने विभिन्न नियम र संस्कारहरूले गर्दा सुरुमै सबै कुरा जान्न मुस्किल हुन्छ । त्यसमाथि मान्छेको मनोविज्ञान पनि आपैmँमा यति जटिल कुरा हो कि परिवारका सबै सदस्यहरूको मन बुझेर त्यही अनुसारको व्यवहार गर्न पर्याप्त समय चाहिन्छ नै । नत्र, नयाँ मान्छेको साधारण कुरा र व्यवहारलाई पनि ‘मिसइन्टरप्रिट’ गरी गलत अर्थमा बुझ्ने खतरा हुन्छ । तर, सामाजिक नियम उल्टो छ । नयाँ सदस्यले चाहिँ सबै कुरा सुरुमै जानेर बुझेर आएको हुनुपर्छ र त्यही अनुसारको व्यवहार गर्नुपर्छ भन्ने अपेक्षा गरिन्छ । विवाहपछि आफन्त र छिमेकीले नयाँ बुहारीले कति पढेकी छिन् भन्दा पनि खाना पकाउन आउँछ कि आउँदैन भन्ने प्रश्न सोध्छन् । खाना पकाउन र घरको काम गर्न छोरा, छोरी, बुहारी सबैलाई आउनुपर्छ र सबैले गर्नुपर्छ, त्यो सबैले जान्नुपर्ने सीप हो ।
एउटी छोरीको उपलब्धि र सफलताको मापन उसका एकेडेमिक डिग्री, पेसागत दक्षता र कर्तव्यपरायणता भइसकेको अवस्थामा ‘बुहारी’को सफलताको मापन भने उसले आफू विवाह गरेर गएको घरका सदस्यलाई कतिको खुसी बनाउन सकेको छ भन्ने कुरामा निर्भर गर्छ । हरेक व्यक्ति कुनकुन कुराले खुसी वा दुःखी हुने भन्ने कुरा ‘सब्जेक्टिव’ हुन्छ, जुन त्यस व्यक्तिको तत्कालीन मनोवैज्ञानिक अवस्था र उसको बुझाइको क्षमतामा पनि भर पर्छ । यस्तो अवस्थामा बुहारी पनि एउटा अलग्गै व्यक्तित्व र प्रकृति भएको मान्छे हो भन्ने बुझेर त्यहि अनुसारको व्यवहार गर्ने गरी हाम्रो समाज अगाडि बढिसकेको छैन । छोरा, छोरी र बुहारीबीच गरिने व्यावहारिक भिन्नताले पनि यो कुरा पुष्टि गर्छ । आफ्ना छोराछोरीले गर्ने जस्तोसुकै कार्यहरू पनि सजिलै स्वीकार गर्ने घरले त्यहि कार्य बुहारीले गरेको कदापी सहन सक्दैन । छोरीका हजार गल्ती माफ गरेर सप्रेम स्वीकार गर्ने परिवारले बुहारीका १० वटा असल काम पछिको एउटा सानै गल्तीलाई पनि स्वीकार्न गाह्रो हुन्छ ।असमान व्यवहारले विद्रोहको भावना जगाउँछ र त्यो भावनालाई प्रष्फुटन हुन अनुमति दिने खालको हाम्रो समाज नभएको कारणले गर्दा हाम्रा कतिपय आमा, दिदीबहिनीहरूमा विवाहको केही समयपश्चात् एक प्रकारको तिक्तता आउन थाल्छ ।
शायद यही कारण हुनसक्छ सासूले पनि बुहारीलाई अफ्नो छोराछोरीभन्दा अलग व्यवहार गर्ने । आफूले भोगेको कुरा बुहारीले पनि भोगे केही फरक पर्दैन र आफूले गरेको दुःख र त्यागको मूल्य बुहारीले पनि चुकाउनुपर्छ भन्ने सोचका कारणले यही चक्र हरेक पुस्तासँगै घुमिरहेको छ । स्वयं बुहारीकै लागि पनि आफ्नो जन्मघरमा जस्तैगरी सजिलैसँग अरूप्रति स्वीकार्यताको भाव नआउन पनि सक्छ । नयाँ सदस्यमाथि लादिने जिम्मेवारी र अपेक्षाले यो प्रक्रियालाई सहज बन्न दिँदैन ।हरेक अभिभावकले अफ्नो छोरीमाथि भावनात्मक र आर्थिक लगानी गरेको हुन्छ । कसैको घरको बुहारी भएर जाँदा त्यो खेर जानु हुँदैन । विवाहपछि छोरीले असल र खुसी परिवार पाओस् भनेर कामना गर्दा बुहारीले चाहिँ त्यो पाएको छ कि छैन भनेर मूल्यांकन गर्नु जरुरी छ्र आफ्नै छोरी पनि बिहे गरेर अर्काको घर गइसकेपछि अभिभावकले छोरीले धेरै दुःख पाएको अवस्थामा माइतीको ढोका सदैव खुल्ला छ र विवाह गरेर जानुको मतलव आफूहरू छोरीप्रतिको सहयोगात्मक र भावनात्मक भूमिकाबाट पन्छिएको होइन भन्ने आश्वासन दिनु जरुरी छ ।
कुनै पनि परिवार एकअकाबीचको स्नेह, समझदारी र सहयोगले अगाडि बढिरहेको हुन्छ । झन् त्यसमा सहि कार्यविभाजन, कुशल आन्तरिक व्यवस्थापन, असल संस्कार, खुला विचारधारा, चित्त नबुझेका कुराहरूको स्वस्थ आदानप्रदान र एकअर्काको भावनाको कदर, अशक्त अवस्थामा गरिने मायालु हेरचाह भयो भने त त्यस परिवार सम्पूर्णरूपले सुखी र खुसी हुनसक्छ । महिला क्रमशः छोरी, बुहारी, आमा, सासु जुनसुकै भूमिकामा भए पनि एक कुशल सहजकर्ताको भूमिका निभाउँदै सबैलाई मिलाएर लानसक्ने र परिवारकै सशक्तीकरण गर्न सक्ने क्षमता राख्दछिन् । उनीहरूमा भएको यही क्षमताको पहिचान गरी त्यही अनुसारको वातावरण दिन बाँकी परिवारका सदस्यले सहयोग गर्ने हो भने उनीहरूले परिवार मात्र होइन समाजकै मुहार फेर्ने हैसियत राख्दछन् ।
प्रतिक्रिया