जर्मनी २४ असार । जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि २० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुगेका छन् । उक्त सहरमा शुक्रबारदेखि सम्मेलन सुरु भएको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुने बताइएको छ । ह्याम्बर्गबाट प्राप्त समाचारअनुसार विश्वका नेताहरु शुक्रबार त्यहाँ पुगिसकेको बताइएको छ । यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन् । ती देशका नेता यहाँ जम्मा भएका हुन् । उनीहरुले विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डाका बारेमा छलफल गर्नेछन् । विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डाका बारेमा सो सम्मेलनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ । तर प्राप्त अर्का एक समाचारअनुसार ह्याम्बर्ग सहरमा भएको विरोध प्रदर्शनका क्रममा कैयौँ नागरिक घाइते भएका छन् । सो जि२० सम्मेलनको एजेण्डाका विषयलाई लिएर यहाँ प्रदर्शन र झडप भएको बताइएको छ ।
सो झडपमा परी दर्जनौँ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । त्यस क्रममा १५ जना प्रहरी पनि घाइते भएका छन् । ह्याम्बर्गको प्रहरीले ट्वीटरमार्फत दिएको जानकारीअनुसार सो स्थानमा १२ हजार जना विरोध प्रदर्शनमा सहभागी भएका थिए । बिहीबार साँझ सो झडप भएपछि शान्ति सुरक्षाको कडा व्यवस्था गरिएको छ । प्रहरीको संख्या बढाउनुको साथै यहाँ जम्मा हुन लागेका नेताहरुको सुरक्षाको विशेष व्यवस्था मिलाइएको समाचारमा जनाइएको छ । सुरुमा शान्तिपुर्ण रुपमा जम्मा भएका प्रदर्शनकारीहरु पछि आक्रोशित बन्दा प्रहरीसँग झडप भएको हो । प्रहरीका अनुसार प्रदर्शनकारीहरुले हातमा ईटा र ढुंगा बोकी जुलुशमा सहभागी भएका र सुरक्षाकर्मीमाथि ती वस्तुले आक्रमण गरेकाले परिस्थिति तनावपूर्ण भएको बताइएको छ ।
प्रतिक्रिया