सुंगुर आतंकले नगरवासी हैरान

सप्तरी । विगत लामो समयदेखि सप्तरी सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर छाडा छोडिँदा नगरवासी हैरानी खेप्न बाध्य भएका छन् ।करिब ६० बिघा क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाभित्र सुंगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दैनिक दुःख पाउनुको साथै राजविराज नगरपालिकाले सुंगुर नियन्त्रण गर्नमा ध्यान नदिएकाले पनि नगरभित्रको मुख्य चोकमा सुंगुरले दिसा गर्ने र थुपारिएको फोहरमा मुखले खनेपछि ठाउँठाउँमा दुर्गन्ध फैलिने गरेको पाइएको स्थानीय सञ्जय चौधरीले बताए ।
राजविराजको मुख्य चोकहरू दर्शन चोक, गजेन्द्र चोक, महावीर चोक, अस्पताल चोक र हटिया लाइनसहितका मानिसको चहलपहल बढी हुने ठाउँमा जताततैबाट सुंगुर आएर दिसा गर्नाले झन् नगरमा दुर्गन्ध फैलिएको नगरवासीले गुनासो गरेका छन् । वर्षौंदेखि यत्रतत्र सुंगुरले नगरमा सर्वसाधारणलाई हैरान पार्दै यहाँ दुर्गन्ध फैलाउँदासमेत यसप्रति नगरपालिकाले कुनै ध्यान नदिएको नगरवासीको आरोप छ । सुंगुर पालकले सुंगुरलाई आफ्नो खोरमा नराखेकाले पनि राजविराजमा सुंगुर आतंक बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् । साथै, जहाँतहाँ सुंगुरले फोहर गर्नाले नगरमा रोगको संक्रमण फैलिने सम्भवना देखिएको यहाँका बुद्धिजीवीको भनाइ छ । यसप्रति सम्बन्धित निकायले ध्यान नदिई सुंगुरबाट दुर्गन्ध फैलिएर लामखुट्टेको संख्यामा वृद्धि हुँदा साँझ परेदेखि नै लामखुट्टेले टोक्ने गरेको राजविराज–४ का मुकेश यादवले बताए ।
साथै, लामखुट्टेको टोकाइबाट मलेरियाजस्ता रोग लाग्न सक्ने बताइएको छ । राजविराजका गल्लीगल्लीमा बस्ने सर्वसाधारण जनतालाई मात्र नभई अधिकांश सरकारी कार्यालयमा समेत सुंगुर पसेर कामकाजका लागि आउने सेवाग्राहीलाई हैरान गर्ने गरेको एक सेवाग्राहीले बताए । यसैबीच, राजविराज नगर क्षेत्रमा बढेको सुंगुर आतंकबारे सर्वसाधारण जनताबाट गुनासो पाइएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सुंगुर छाडा छोडेको कारण यहाँका जनताले भोग्नुपरेको समस्या नियन्त्रणका लागि सबैतिरबाट प्रयास भइरहेको बताए ।

प्रतिक्रिया