घट्दै ‘रोटी–बेटी’ सम्बन्ध

images_cms-image-000021883

काठमाडौं २६ वैशाख । भारत कानपुर ससुराली भएका नेपालगञ्ज त्रिभुवन चोकका श्याम बिहारी लखेरका दुई छोराको विवाह पनि सीमावर्ती भारतीय क्षेत्रकै वासिन्दासँग भयो । लखेरले छोरीको बिहे पनि सीमावर्ती भारतीय गाउँका बासिन्दासँग गरिदिए । यस हिसाबले लखेरको परिवारका सासूबुहारी तीन जनाको माइती र छोरीको घर भारतमा छ ।  नेपालको तराईका जिल्लाहरूमा बसोबास गर्ने खासगरी मधेसी समुदायका छोराछोरीको बिहेवारी सीमावर्ती भारत तथा भारतीयको विवाह नेपालतर्फ हुँदै आएको छ । एकै खाले सामाजिक र सांस्कृतिक परिवेशका कारण सीमा वारपार हुने बिहेवारीलगायत यस्ता सम्बन्धका कारण नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहँदै आएको छ भनिन्छ । ‘पहिला त यो सीमा हो ।

यो भूमि नेपाल हो र यो भारत हो भन्ने पनि थिएन’ करीब साढे तीन दशकअघि नेपाली युवासँग विवाह गरेर आएकी अधिकारकर्मी तथा पूर्वसभासद् मोहमदी सिद्दिकी भन्छिन्, ‘एक–अर्को देशमा विवाह भएको अनुभूति पनि हुन्थेन । अहिले पनि औसतमा दैनिक दुई–तीन वटा बाराती (जन्ती) सीमा वारपार गरिरहेकै देखिन्छ ।’ गृहमन्त्रालय, नागरिकता शाखाको तथ्यांकअनुसार नागरिकता वितरण प्रणाली सुरु भएदेखि ०७३ असार मसान्तसम्म ७५ वटै जिल्लामा दुई करोड १२ लाख आठ हजार एक सय ४३ नागरिकता वितरण भएको छ । यसमध्ये ०७० सालमा एकीकृत घुम्ती टोली र नागरिकता वितरण टोलीले वितरण गरेको ६ लाख तीन हजार ९४ नागरिकताको प्रकार वर्गीकरण हुन बाँकी छ । वर्गीकरण भइसकेका दुई करोड ६ लाखभन्दा बढी नागरिकतामध्ये वैवाहिक अंगीकृत नागरिकताको संख्या तीन लाख ६४ हजार ५३ छ । त्यसैगरी पुरानो अंगीकृत र सिडिओबाट वितरित अन्य अंगीकृत नागरिकताको संख्या आठ हजार आठ सय ५० छ ।
तथ्यांकले के देखाउँछ भने वैवाहिक अंगीकृत नागरिकता लिनेमा अधिकांश नेपालीसँग विवाह गरी आएका भारतीय महिला छन् र यस किसिमको विवाह तराई–मधेसका भारतसँग सीमा जोडिएका जिल्लामा बढी हुने गरेको छ । हालसम्म वैवाहिक अंगीकृत नागरिकता लिएकाको संख्या आधार मान्ने हो भने पर्सा, सर्लाही, धनुषा, बारा र रूपन्देहीमा सीमापारिबाट विवाह गर्ने प्रचलन बढी छ ।विज्ञहरूका भनाइमा संस्कृति र समाज मिल्दोजुल्दो हुँदाहँुदै पनि सीमा वारपार विवाह घट्नुमा केही महत्वपूर्ण कारण जिम्मेवार छन् । नेपाल र भारत दुवैतर्फ हिजोजस्तो सहज आवागमनको अवस्था अब छैन । मधेसी समाजको अघिल्लो पुस्तालाई राम्रोसँग थाहा छ, हिजो सीमा वारपारमा अहिलेजस्तो बन्देज थिएन । सहजै जन्ती आउजाउ हुन्थ्यो ।

दाइजो दिए–लिएको मालसामान सजिलै वारपार गर्न सकिन्थ्यो । अहिलेजस्तो एसएसबी र सशस्त्र प्रहरी थिएनन् । अहिले एक देशबाट अर्को देशमा जन्ती जान–आउन सजिलो छैन । ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशेखर मिश्रका भनाइमा अघिल्लो पुस्तासम्म नेपाली समाजको रहनसहन स्तर छिमेकी भारतीय समाजको भन्दा उच्च मानिन्थ्यो । सीमित आय भए पनि छिमेकी नेपाली समाजको जीवनस्तर लोभलाग्दो थियो । अहिले छिमेकी भारतीय समाजमा छिटोछिटो मध्यम वर्गको उदय भइरहेको छ । जसको प्राथमिकता अब नेपाली समाज रहेन । हिजो मधेसी समाजमा सरकारी जागिर एउटा आकर्षणको विषय थियो । सुरक्षा अवस्था राम्रो थियो । छिमेकी भारतीय समाजमा चलनचल्तीमा रहेको भन्दा दाइजो पनि न्यून थियो । ती परिवेशहरूमा अहिले थुप्रै परिवर्तन आइसकेको छ ।
मिश्र भन्छन्, ‘शिक्षा, चेतना र राज्यमा पहुँचको हिसाबले पनि मधेसी समाज अहिले फैलिँदो क्रममा छ । हिजो सीमित मात्राको उत्तर–दक्षिणमा हुने विवाहलगायत सम्बन्धहरू अहिले पूर्व–पश्चिमसम्म फैलने क्रममा छन् । हिजो वयलगाडाले निर्धारण गर्ने दुरीमा कायम हुने सम्बन्धहरूलाई आज यातायातका साधनले फराकिलो बनाउँदै लगेको छ । यतिसम्म कि ०६४ सालसम्म आइपुग्दा राजधानी उपत्यकामा पनि मधेसी समुदायको उपस्थिति ह्वात्तै बढेको छ । समाज फैलने÷विस्तार हुने क्रमले विवाहलगायत सम्बन्धहरूमा पनि पर्याप्त विकल्प जन्मिन थाले ।’
नेपालको तुलनामा भारतमा दाइजो र यससँग गाँसिएको हिंसा धेरै हुनु पनि मधेसी चेलीहरूले भारतमा विवाह गर्न इच्छा नदेखाउने एउटा कारण हो । त्यस्तै अर्को कारण त्यहाँको अनुदार नागरिकता नीति पनि हो । ‘विवाह गरेको सात वर्षपछि नागरिकताका लागि निवेदन दिन योग्य हुने’ सर्त यस बीचमा न्याय पाउन प्रमाण जुटाउनमा हुने कठिनाइजस्ता कारणले पनि आफ्नो भविष्य आँकलन गर्न सक्ने नेपाली चेली भारतीयसँग विवाह गर्न अनिच्छुक देखिनु स्वाभाविक हो ।नेपालमा माओवादी द्वन्द्व चर्कंदै गएपछि सीमापारिबाट नेपालतर्फ विवाह गरिदिने प्रचलनमा देख्न सकिने गरी कमी आएको हो । त्यसबाहेक सीमा वारपारको बदलिँदो आर्थिक विकास, सीमाका नियमहरूले पनि त्यसमा असर पु¥याएको छ । भारतीय ज्वाइँहरू ससुराली आउँदा आफ्नै गाडी चढेर नेपालका गाउँगाउँसम्म पुग्न सक्छन्, भन्सारमा पटके शुल्क तिरेपछि भारतीय गाडीले सजिलै नेपालमा प्रवेश पाउँछन् ।

तर, नेपाली ज्वाइँहरू आफ्नै गाडी भए पनि त्यो लिएर ससुराली भारत जान सक्दैनन् । नेपाली नम्बरका गाडीहरू भारत प्रवेशका लागि काठमाडौंस्थित भारतीय राजदूतावासबाट अनुमति लिनुपर्छ । नेपाली नम्बरका गाडी लिएर जन्ती जान पनि दूतावासको अनुमति चाहिन्छ । सिरहास्थित बजाज सोरुमका सञ्चालक सज्जाद सिद्दिकी आफ्नो समुदायको बढी विवाह सीमापारिका भारतीय गाउँ–बजारमा हुने बताउँछन् । ‘हाम्रो विरादरी उतै बढी छ । केटा वा केटी भेट्न पनि सजिलो छ’, उनले भने । तरm पछिल्लो समय नेपालतर्फ नै बिहेवारी गर्ने क्रम बढेको उनले बताए । नेपालगञ्जकी पूर्वसभासद् सिद्दिकीले शिक्षित युवतीको खोजीमा पहिले सीमापारि बुहारी खोज्न जाने प्रचलन रहेको बताइन् ्। ‘पहिले नेपालतर्फ छोरी पढाउने चलन कम थियो । अहिले त यता पनि छोरी पढाउने क्रम बढेको छ’, उनले भनिन् ।
सीमावर्ती भारतको पथरगाढामा रहेको गिरबल उच्च विद्यालयका संस्थापक जगन्नाथ यादवले नेपालमा चर्केको माओवादी सशस्त्र युद्धका कारण सीमा वारपार विवाहमा कमी आएको बताए । भारतीय पत्रकार इन्द्रमोहन मिश्रकी बहिनी राजलक्ष्मीको सीमावर्ती नेपाली गाउँ देउरीपट्टीमा विवाह भएको छ । ‘तर विश्वमै शान्त मानिने नेपालको राजनीतिक उथलपुथलले सीमा वारपारको वैवाहिक सम्बन्धमा पनि एक प्रकारको तनाव निम्त्याएको छ’, मिश्रले भने । नेपालबाट पनि भारततर्फ छोरी–चेलीको विवाह गरिदिने क्रममा कमी आएको शिक्षक अरुण पासवानको बुझाइ छ ।

भारतीय गाउँबाट विवाह गरेका उनी छोरीको विवाह भने नेपालमै गर्ने बताउँछन् । ब्रजमोहन जनता माध्यमिक विद्यालय माडरका शिक्षक सोमा गुप्ता, उच्च शिक्षा हासिल गर्ने छात्राहरूले भारतमा भन्दा नेपालमै विवाह गर्न चाहेको बताउँछन् । गुप्ता भन्छन्, ‘नेपालीपनको बोध, बदलिँदो जीवनशैलीको कारण अहिले यताका केटीहरू उता विवाह गर्न हिच्किचाउने गर्छन् ।’ (खोज पत्रकारिताको रिपोर्टबाट)

प्रतिक्रिया