क्वालालम्पुर, २० मंसिर । म्यानमारमा अल्पसंख्यक आदिबासी रोहिङ्ग्या मुसलमान जनसमुदाय उपर भएको आमहत्याको विरोध गर्दै आइतबार मलेसियाली मुसलमानहरूले राजधानी क्वालालम्पुरमा म्यानमार सरकारविरुद्ध ठूलो प्रदर्शन गरेका छन् । मलेसियाका प्रधानमन्त्री नजीब रजाक स्वयंको नेतृत्वमा हजारौँ मुसलमानहरूले भाग लिएको एउटा जुलुसले नगर परिक्रमा गर्दै क्वालालम्पुरको स्थानीय रंगशाला पुगी म्यानमार सरकारको कडा आलोचना गर्दै विरोध गरेको छ ।
क्वालालम्पुर रंगशालाको विरोधसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री रजाकले आदिबासी रोहिङ्ग्या जनसमुदायउपर भएको अत्याचारलाई ‘जातिहत्या’को संज्ञा दिँँदै विश्वले आफ्नो भाइचाराको आम नरसंहार भइरहेको टुलुटुलु हेरेर बस्न नसक्ने बताए । ‘अति भनेको अति नै हो, रोहिङ्ग्या जनसमुदायको अधिकार रक्षाका लागि मलेसिया सरकार जस्तोसुकै संघर्ष र सहयोग गर्न पनि तयार रहेको, इस्लामहरूको बाहुल्य भएको मलेसियाको यस विरोध प्रदर्शनले म्यानमारकी नेतृ आङ सान सुकी र उनको सरकारलाई गतिलो सन्देश गएको’ भनी प्रधानमन्त्री रजाकले बताए ।
म्यानमारमा विगतका केही हप्तादेखि बहुसंख्यक बौद्ध समुदायले अल्पसंख्यक रोहिङ्ग्या मुसलमान जनसमुदाय उपर आमहत्या र अत्याचारको शृंखला नै मच्चाइ रहेकामा यसलाई नियन्त्रण गर्न प्रजातन्त्रबादी नेतृ आङ सान सुकीको सरकार उदासीन र असफल रहेको आरोप लगाइँदै आएको छ । रोहिङ्ग्या जनसमुदाय उपर भइरहेको शृंखलाबद्ध अत्याचारले दक्षिणपूर्वी एसियाका अतिरिक्त विश्वका अन्य देशमा बस्ने मुसलमान समुदायलाई पनि तताइरहेको जनाइएको छ ।
यता, आगामी सन् २०१८ मा मलेसियामा आमनिर्वाचन हुन गइरहेको सन्दर्भमा प्रधानमन्त्री रजाक स्वयंले विरोध प्रदर्शनको नेतृत्व लिन जानुमा उनको स्वार्थ लुकेको भनी केही मलेसियाली आलोचकहरू आरोप लगाउँछन् ।
आर्थिक भ्रष्टाचारको काण्डमा चुर्लुम्म डुबेका प्रधानमन्त्री रजाकले मलेसियाली मुसलमानहरूको सहानुभूति र समर्थन बटुली आगामी निर्वाचनमा पनि विजयी हुने सपना देख्न थालेको विपक्षीले टिप्पणी गरेका छन् ।
प्रतिक्रिया