त्रेतायुगको रामायणका प्रसंगअन्तर्गत विवाह पञ्चमी अर्थात मंसिर शुक्ल पञ्चमी आदर्श जोडी राम–सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।
सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्ववासल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठूलाठूला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने वाचा गरेका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसँग विवाह भएको थियो ।
यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर बिहानैदेखि रामजानकी मन्दिरसहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागानासहितको ¥यालीले जनकपुर नगरको परिक्रमा गरेर शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।
यहि प्राचीन पौराणिक महाविवाहको सम्झनास्वरूप आजसम्म पनि नेपालको जनकपुरमा भारतबाट विवाह पञ्चमीको दिन दुरुस्तै जन्ती लिएर आउने र राम–सीताको प्रतिमामा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तीहरूमा विशेषतः साधुसन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर यस दिन अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ । यो युगमा पनि राम–सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो । पञ्चमीमा जानकी मन्दिर परिसरमा व्यापक मेला लाग्ने गर्दछ । जनकपुरवासीहरू त्रेतायुगदेखिको आफूहरूले चलाई आएको चलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो ।
यसरी सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आदर्श पत्नी र देवीकारूपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रूपमा चिनिन्छ ।
२४ हजार पंक्ति, ५ सय अध्याय र ७ वटा खण्डभएको ठूलो खण्डकाब्य रामायण यिनै राम र सीताको जीवनका आरोह–अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछि गएर वाल्मीकि ऋषिले लिपिवद्ध गरेको रामायण नेपाल, श्रीलंका, थाइल्यान्ड, कम्बोडिया, मलेसिया र इन्डोनेसियामा पनि एकदमै प्रचलित छ । रामायणका यिनै पंक्तिहरूलाई वाल्मीकि ऋषिले रामका पुत्रहरू लव र कुशलाई कण्ठस्त गराएका थिए । रामायणका पंक्तिहरू सुनेपछि रामले आफ्ना छोराहरूलाई ठम्याएका पनि हुन् ।
सीताको अग्निपरीक्षापछि रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरू अनि मर्यादाका पाठहरू सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ ।
अनि मंसिर कतिको लाग्या छ त ? विवाह गर्ने उमेर भएर पनि विवाह
नगरेका अविवाहिताहरूलाई त मंसिर एउटा भारी अवसर हो भने हरेक पाइलैपिच्छे प्रश्नले घेरिएको महिना पनि हो, विवाह कहिले ? साथी आपैmँले चुनिसकेको हो कि हामी खोजिदिउँ ? किन ढिलो बिहे ग¥या, अब धेरै ढिलो भयो ? तिम्रो उमेरमा हामीले त दुईवटा छोराछोरी जन्माइसकेका थियौँ र मलाई मर्न अगाडि नातीनातिनाको मुख हेर्ने रहर छ जस्ता भावनात्मक अत्याचारका वाक्यांशहरूले त झन अप्ठेरै पार्छ है !
तर, फेरि साथीभाइको बिहेमा जाने, जन्त जाने या जन्ती स्वागत गर्ने दुवैतर्फका भेलामा उत्तिकै रमाइलो हुन्छ । अब त पार्टी प्यालेसमा बिहे हुने चलन बढेपछि बेहुला र बेहुलीपक्ष दुवै अन्य कार्यभन्दा विवाह र रितिस्थितिमै केन्द्रित हुन्छन् नत्र पहिले पहिलेको विवाहमा बेहुलीपक्ष जन्तीको स्वागत अनि विवाह तथा भोज व्यवस्थापनमा व्यस्त हुन्थे । सशस्त्र द्वन्द्व अगाडि रात्रीकालीन विवाह एकदमै चल्तीमा भएको नेपालमा बिस्तारै दिवा विवाहहरूको चलन बढ्न थाल्यो । नत्र साँझमा जन्ती लिएर जाने र बिहान बेहुली अन्माउने चलन थियो ।
विवाह भएको छैन भने विवाह समारोहमा आँखा राम्रा र मधूर वचन भएकाहरूमा जान्छ नै, खोजेको वरवधू पाउनुहोस् र विवाहित हुनुहुन्छ भने वैवाहिक जीवन सुखद रहोस्, हाम्रो शुभकामना ।
प्रतिक्रिया