हरिनारायणलाई कसैले हेरेनन्

चौध वर्षअघि महोत्तरीको फुलकाहा–८ का ४९ वर्षीय हरिनारायण चौधरी परिवर्तनका कुरा गर्थे । देशमा जनताको शासन ल्याउनुपर्छ भन्थे । बन्दुक बोकेर परिवर्तनका लागि जनयुद्ध लडे ।  देशमा राजतन्त्र फेरिएर गणतन्त्र आयो । तर जनयुद्ध लडेका घाइते भई अपांग भएका हरिनारायणको कथाव्यथा सुन्ने कोही छैन । नेताहरू देशमा गणतन्त्रका लागि लडाइँ लडेका उनी लट्ठीको भरमा जीवन चलाउँदै छन् । दाहिने हातमा औँला काटिएका छन् । र बाँया खुट्टामा औँला छैन । हिँडडुल गर्न र उनलाई खाना खान पनि समस्या नै हुन्छ ।  चौधरी जन्मजात अपांग होइनन् । उनलाई चिकित्सकले उपचारका क्रममा उनको औँला काटेका हुन् । २०५९ मा तत्कालीन माओवादी पार्टीका जनमुक्ति सेनामा कार्यरत थिए उनी । सिरहाको बन्दिपुरमा तत्कालिन शाही सेनासँग उनले भिडन्त गरेका थिए । सोही क्रममा गोली लागि शक्त घाइते भए । सो समयपछि उनको जीवनको सहारा नै बाँसको लट्ठी बन्न पुगेको हो ।  देशमा ५ असार २०६३ मा बृहत् शान्ति सम्झौता भएको एकदशक बिते पनि उनको घाउमा मलम लगाउन सिंहदरबारका सरकार उनको गाउँ आएको छैन । पटक पटक माओवादी पार्टीले सरकारको नेतृत्व पनि गरिसक्यो । तर उनलाई हेर्न कोही पनि आएनन् ।  हरिनारायण आफू सुकुम्बासी छन् । २०६७ सालमा ‘ग’ वर्गको अपांगता परिचयपत्र उनले पाए । तर उनले अपांगता सुरक्षा भत्ता पनि पाइरहेका छैनन् । ‘क’ वर्गलाई मात्र सरकारले सुरक्षा भत्ताको व्यवस्था गरेको छ । श्रीमती, दुईजना छोरा र एक छोरी रहेको उनको परिवार मजदुरीको भरमा चल्दै छ । श्रीमतीले बनिबुतो गरेर हरिनारायण र छोराछोरीलाई पाल्दै आएका छन् । आफूहरू जस्तो अरूको सहारामा बाँच्ने अपांगलाई सरकारले उचित व्यवस्था गर्नुपर्ने हरिनारायणको माग छ । उनी भन्छन् – ‘अपांगलाई योग्यता एवम् काम गर्न सक्ने रोजगारीको व्यवस्था गर्नुपर्छ । हजारौँ अपांगलाई अरूको सहारमा बस्नुपर्ने अवस्थाको भने अन्त्य हुनै पर्छ ।’ त्यस्तै आत्मबल भए आत्मनिर्भर बन्न अपांगता बाधक होइन भन्ने उदाहरण प्रस्तुत गरेका पात्रहरू समाजमा प्रसस्त भेटिन्छन् । उनीहरूको काम र आत्मविश्वास अरूका लागि पनि अनुकरणीय हुने गरेको छ । धनुषा जनकपुरका २९ वर्षीय पत्रकार मनीषकुमार मैथिल, लादोवेलाका सैलुन मास्टर माइकल भन्ने भरत ठाकुर तथा खरिहानी–३ का ४८ वर्षीय व्यवसायी पुलिन्द्र पञ्जियार यसका प्रत्यक्ष उदाहरण हुन् । दुवै खुट्टा पोलियोग्रस्त भएका कारण हिँड्न गाह्रो भएपछि मनीषकुमार मैथिलका आमाबुबा चिन्तित थिए । काठको व्यापार गर्ने मनीष हुने खाने परिवारका छोरा हुन् तर शारीरिक रूपले अशक्त भएकै कारण उनी एसएलसीसम्मको पढाइ पूरा गर्न सकेनन् । जेठा छोरा अशक्त भएपछि चिन्तित बनेका पिता रामचन्द्र साह मनीष पत्रकार बनेपछि प्रशन्न छन् । मनीष स्थानीय जनकपुर एफएममा कार्यक्रम सञ्चालक हुन् । उनका सातामा चारवटा कार्यक्रम आउँछन् । ‘मेरो जीवनलाई सही मार्गमा ल्याउने पत्रकारिता हो, सुरुमा केहीले होच्याउने व्यवहार गरे पनि अचेल सबैले माया गर्छन्’ उनले भने । यसैगरी शारीरिक अशक्त भए पनि स्वव्यवसाय गरेर जेठो छोरालाई इन्जिनियर, माहिली छोरीलाई एमबिए तथा कान्छी छोरीलाई प्लस टुसम्मको अध्ययन गराउने पुलिन्द्र पञ्जियारको कथा पनि कम उत्साहजनक छैन । पूर्वी धनुषाको खरिहानीको मूलनिवासी पुलिन्द्र एसएलसी पढ्दै गर्दा जनकपुर आएका थिए । उनले सुरुमा टाइपराइटरमा टाइपिङ सिकेर जीवनयापन गर्ने योजना बनाएका थिए । पछि उनले जनकपुर रेल्वेस्टेसन एरियामै पुलिन्द्र टाइपिङ इन्स्टिच्युट खोलेर अनेकौँ युवायुवतीलाई टाइपिङ सिकाए तर कम्प्युटरको आगमनसँगै टाइपिङ व्यवसाय धराशायी भयो । अचेल जेनरल स्टोर सञ्चालित गर्दै आएका छन् । जनकपुर उपमहानगरको छेउमै सञ्चालित आकास हेयर कटिङका सञ्चालक माइकल भन्ने भरत ठाकुर पनि यसका एउटा जीवित उदाहरण हुन् । लादोवेलाका मूलनिवासी माइकल पनि पोलियोग्रस्त छन् । यद्यपि उनले विशाखापट्टनमबाट यसको उपचार पनि गराएका थिए । अचेल उनी तीन पांग्रे मोटरसाइकलमा घरदेखि पसलसम्मको यात्रा तय गर्छन् । माइकलका छ सन्तानमध्ये चार निजी आवासीय विद्यालयमा अध्ययन गर्छन् भने दुई गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

प्रतिक्रिया