‘अखण्ड आन्दोलनको औचित्य छैन’

काठमाडौं, १९ वैशाख । सुदूरपश्चिमका सभासदहरुले अखण्ड सुदुरपश्चिमको नाममा गरिदै आएको आन्दोलन औचित्यहिन भएको बताएका छन् ।
संविधान सभा भवन नयाँ वानेश्वरमा आज सो क्षेत्रको प्रतिनिधित्व गर्ने २२ सभासदले संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् । अखण्ड सुदूरपश्चिम सम्भव नभएको भन्दै उनीहरुले पश्चिमको तराइ र पहाडी क्षेत्रलाई अलग÷अलग राज्य निर्माण गर्नुपर्ने माग गरेका छन् ।
पाँच दिनदेखि सुदूरपश्चिममा जारी बन्द र आम हडताल औचित्यहिन भएको भन्दै उनीहरुले फिर्ता लिन माग गरेका छन् । सुदूरपश्चिमका अछाम, कैलाली, बझाङ, बैतडी, डोटी, दार्चुला, बाजुरा, डडेलधुरा र कञ्चनपुर जिल्लाका २२ सभासदहरुले संयुक्त विज्ञप्ती जारी गर्दै प्रमुख दलहरुले पछिल्लो समयमा प्रस्ताव गरेको राज्य पुनर्संरचना सम्वन्धी प्रस्तावप्रति समेत असन्तुष्टि जनाएका छन् ।
प्रमुख दलका तर्फवाट अघि सारिएको १२ र सात प्रदेशको प्रस्ताव औचित्यहिन रहेको दावी उनीहरुको छ । थारु जातीय पहिचानलाई बिखण्डित गर्ने गरी अखण्ड सुदूरपश्चिमको माग आएको भन्दै सभासदहरुले यसअघि विषयगत समितिले अघि सारेको प्रस्ताव अनुसार नै सुदूरपश्चिमको पहाडी भुगोललाई खप्तड, सेती महाकाली प्रदेश र कैलालीदेखि कञ्चनपुर सहितको तराइको भु–भाग थारुवान थारुहट प्रदेश कायम गर्न माग गरेका हुन् ।
विषयगत समितिको प्रतिवेदन अनुसार राज्य पुनर्संरचना नभए आन्दोलन गर्ने चेतावनीपनि सुदूरपश्चिमका सभासदहरुले दिएका छन् ।

प्रतिक्रिया