वासिंगटन, १७ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो सम्पूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गरेका हुन् ।
ट्विटमा लेखिएको छ, ‘डिसेम्बर १५ का दिन म न्यूयोर्कमा मेरा बच्चाहरूसहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रूपमा छोड्नेछु ताकि देश सञ्चालनमा म केन्द्रित रहन सकुँ ।’
उनले आफ्नो व्यवसाय छोड्नुपर्ने कुनै कानुनी व्यवस्था नभए पनि राष्ट्रपतिका रूपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन् । केहीगरी स्वार्थ बाझिएमा दुवैतर्फ अप्ठ्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन् ।
आउँदो जनवरी २० तारिखदेखि उनले राष्ट्रपतिको जिम्मेवारी लिने कार्यक्रम छ । त्यसअगाडि नै उनले राष्ट्रपतिको मात्रै जिम्मेबारीमा रहने
बताएका हुन् ।
प्रतिक्रिया