इन्धनको अभावमा भयो विमान दुर्घटना

कोलम्बिया, १७ मंसिर । गत मंगलबार कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको पत्ता लागेको छ । ‘ककपिट भ्वाइस रिकर्डर’ रिकर्ड भएअनुसार सो दुर्घटना तेल अभावको कारण भएको तथ्य फेला परेको कोलम्बियाली सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ ।

दुर्घटना हुनुअगाडि विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सूचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएको बताइएको छ । कोलम्बियाका सञ्चार माध्यमले बुधबार जनाएनुसार मेडेलिन नजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले ‘यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,’ भनेका थिए ।

दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडी र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो । यस दुर्घटनालाई खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ ।

प्रतिक्रिया