डोनाल्ड र मेलानियाको यस्तो रोमान्स !

get_img-copyकाडमाडौं, २७ कात्तिक । प्रेसिडेन्ट इलेक्ट’ डोनाल्ड ट्रम्प आफ्नी पत्नी मेलानिया ट्रम्पसँगै आउँदो जनवरी २० मा राष्ट्रपति र प्रथम महिलाका रूपमा ह्वाइट हाउस प्रवेश गर्दैछन् । ७० वर्षका ट्रम्प र ४६ वर्षकी मेलानिया हेर्दा स्वभाविक जोडी नदेखिए पनि उनीहरू ११ वर्षदेखि विवाहित छन् र उनीहरूको बीचमा १० वर्षे छोरो पनि छन् । अमेरिकाको अबको यो प्रथम जोडीको आपसी सम्बन्ध कसरी सुरु भयो त ?

नोभेम्बर १९९८ पाआलो जाम्पोलीले आयोजना गरेको फेसन विक पार्टीमा डोनाल्ड ट्रम्प र मेलानिया नासको भेट भयो । ‘मेलानियानजिकै एक सुपर मोडल बसिरहेकी थिइन् । मैले उनलाई भेट्ने कार्यक्रम थियो,’ मेलानियासँगको पहिलो भेटका बारेमा डोनाल्ड ट्रम्पले सन् २००५ मा सिएनएनका ल्यारी किङसँगको अन्तर्वार्तामा भनेका छन् । मेलानिया त्यसबेला भर्खर २८ वर्ष पुग्दै थिइन् । डोनाल्ड भने उनीभन्दा २४ वर्ष जेठा र ४ छोराछोरीका बाबु थिए । त्यसबेला ५२ वर्षका ट्रम्प मार्ला मेपलसँग सम्बन्धविच्छेदको प्रक्रियामा थिए । पार्टीमा मोडल मेलानियालाई देखेर डोनाल्ड मोहित भए । केहीबेर यताउतिको कुरा पछि नै उनले मेलानियाको नम्बर मागे ।

‘मैले मेलानियालाई देखेँ र सोधेँ ‘उनी चाहिँ को हुन् ?’ ट्रम्पले भनेका छन्, ‘उनी सफल मोडेल थिइन् र कमालकी थिइन् । मैले उनको नम्बर लिने कोसिस गरेँ तर उनले दिइनन् ।’ डोनाल्डले त्यसबेला मेलानियाका नम्बर माग्नकै लागि सेलिनालाई लेडिज् रुमतिर पठाएका थिए । पछि त्यो कुरा थाहा पाउँदा मेलानिया छक्कै परेकी थिइन् । मेलानिया अर्कैसँग डेटमा रहेको मान्छेले नम्बर माग्दा छक्क परिन् । ‘मैले भनेँ, म तपाईंलाई मेरो नम्बर दिन्नँ’, २०१६ को सुरुमा हार्परबजारका लागि एलेक्स कुजिन्स्कीसँग कुराकानी गर्दै मेलानियाले डोनाल्डसँगको आफ्नो पहिलो कुराकानी सम्झिइन्, ‘बरु तपाईंको नम्बर मलाई दिइराख्नुस् ।’ डोनाल्ड ट्रम्पले आफ्ना भएजति सबै नम्बर मेलानियालाई दिए, घर, अफिस र पाम बिचमा रहेको मार–आ–लागोको पनि । त्यो भेटपछि नै मेलानिया क्यारिबियनतिर फोटोसुटका लागि गइन् । तर, केही दिनपछि उनले डोनाल्डलाई फोन गरिन् । ‘म उनको ऊर्जा देखेर छक्क परेको थिएँ,’ मेलानिया सम्झिन्छिन् । कुराकानी भयो र दुवै नजिकिन थाले । पहिलो डेटमा ट्रम्पले मेलानियालाई डिनरपछि न्युयोर्कको मुम्बा रेस्टुरेन्टमा लिएर गए । ९० को दशकको उत्तरार्धमा सो रेस्टुरेन्ट सेलिब्रेटीहरूले भरिएको हुन्थ्यो । ‘त्यो गजबको ठाँउ थियो,’ मेलानिया भन्छिन्, ‘म त्यस रातलाई अझै पनि २ महिनाअघिको घटनाझैँ सम्झिरहन्छु ।’

धेरै वर्षको निकटतापछि डोनाल्ड र मेलानियाले सन् २००४ मा इन्गेज्मेन्ट गरे । अर्को साल उनीहरूको विवाह भयो । उनीहरूको विवाहमा नामुद व्यक्तिहरूको भीड जम्मा भएको थियो । तत्कालीन सिनेटर हिलारी क्लिन्टन आफ्ना पति तथा पूर्वराष्ट्रपति विल क्लिन्टनसहित सो विवाहमा उपस्थित थिइन् । आफ्नो विवाहलाई मेलानिया कसरी सम्झिन्छिन् त ? ‘इट वाज फेन्टास्टिक !’ मेलानिया झटपट उत्तर दिन्छिन् ।

सिएनएनका ल्यारी किङ २००५ मा नवविवाहित जोडीलाई हनिमुनका बारेमा पनि सोध्न बिर्सिदैँनन्, ‘५ वर्ष सँगै बिताएकाका लागि हनिमुन कस्तो थियो त ?’ ‘इट वाज गुड !,’ ट्रम्प उत्तर दिन्छन्, ‘कसैले मलाई हनिमुनका लागि कहाँ जाने भनेर सोध्यो । पाम विचको हाम्रो मार–आ–लागोजस्तो सुन्दर ठाउँ छोडेर अन्त कहाँ जाने ?’

सन् २००६ मा मेलानियाले छोरो ब्यारोनलाई जन्म दिइन्, जो अहिले १० वर्षका भएका छन् । मेलानिया आफ्नो मुख्य ध्यान ब्यारोनमै दिन्छिन् । उनले ब्यारोनलाई स्लोभानियन भाषा पनि सिकाएकी छिन् । उनी आफैँ स्लोभानियन, फ्रेन्च, इटालियन र इंग्लिस बोल्छिन् । उता डोनाल्ड भने एक मात्र भाषा बोल्छन् । ‘उनी इंग्लिस मात्रै बोल्छन्,’ मेलानिया भन्छिन्, ‘ठीकै छ । म पनि यो सिक, त्यो सिक भनिरहन्नँ । म छिद्रान्वेषी पत्नी होइन ।’

अघिल्ला २ पत्नीसँग सम्बन्धविच्छेद गरिसकेका ट्रम्प मेलानियासँग आफ्नो कहिल्यै झगडा वा वादविवाद नभएको बताउँछन् । मेलानिया ट्रम्पसँग मात्र होइन, उनका अघिल्ला पत्नीका छोराछोरीसँग पनि सहज छिन् । ‘उनीहरू हुर्किसकेका छन्,’ मेलानिया भन्छिन्, ‘म आफूलाई उनीहरूको आमाको रूपमा हेर्दिनँ । म त उनीहरूका साथी हुँ ।’ पतिका पूर्वपत्नीहरूसँग चाहिँ उनको कस्तो सम्बन्ध छ त ? मेलानिया भन्छिन्, ‘हामी एकअर्कासँग भेट्दैनौँ । ती सब डोनाल्डको जिन्दगीका पुराना कुरा हुन् ।’

डोनाल्ड ट्रम्प न्युयोर्कको व्यापारिक घरानामा जन्मिएका हुन् भने मेलानिया नाउस पूर्वयुगोस्लाभियाको नोभो मेस्टोमा जन्मिएकी हुन् । व्यापारिक जीवनको उतारचढाव, दुई असफल विवाह र अनेक विवादले घेरिएर उनी मेलानियासम्म पुगेका हुन् भने मेलानिया स्लोभाकियाबाट मोडलिङमा भविष्य खोज्दै मिलान, पेरिस, न्युयोर्कसम्मको लामो यात्रा तय गरेर ट्रम्पसम्म पुगेकी हुन् । उनीहरूको जोडी मिडियामा स्वभाविक र सहज नदेखिएपनि उनीहरूको बीचको सम्बन्ध सधैँ राम्रो रहेको मेलानिया बताउँछिन् ।

सन् २०१३ को एक अन्तर्वार्तामा उनले भनेकी थिइन, ‘डोनाल्ड रोमान्टिक छन् ।’ ‘यो अरूको भन्दा बेग्लै खालको रोमान्स हो ।’ मेलानिया भन्छिन्, ‘डोनाल्ड एकदमै फरक मान्छे हुन् तर हाम्रो सम्बन्ध गजबको छ । हामी दुवै स्वतन्त्र छौँ र आफ्नो कामलाई मन पराउँछौँ, त्यही नै ठूलो कुरो हो ।’ डोनाल्ड आफ्नो काममा ध्यान दिन्छन् तर मेलानियालाई आफ्नो इच्छाअनुसार नचाउन चाहँदैनन् । पतिबारे मेलानिया भन्छिन्, ‘उनी ‘कन्ट्रोल फ्रिक’ होइनन् बरु ‘पर्फेक्सनिस्ट’ चाहिँ हुन् ।’ डोनाल्ड पनि आफू र पत्नीबीच ‘सिमिलर टेस्ट’ भएको बताउँछन् ।

 

प्रतिक्रिया