काठमाडौं, २० कात्तिक । ‘हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला, डेढ कोटी जन मिलेर, सुसार गर्दै जाउंला…’ बोलको स्वदेश गानका गायक महेश पाल्पालीको निधन भएको छ । करिब ८७ वर्षीय पाल्पाली केही समययता दम रोगका कारण ग्रसित थिए । उनको बिहीबार राती आफ्नै निवास बुटवल–९ दीपनगरमा निधन भएको हो । पाल्पामा जन्मिएर काठमाडांै बसी सांगीतिक यात्रा सुरु गरेका पाल्पालीको खास नाम दौलतविक्रम शाह थियो । ०२२ सालमा ‘हे आमा नेपाल तिमीलाई’ भन्ने गीत कलकत्तामा रेकर्ड गराएपछि पाल्पालीले सांगीतिक क्षेत्रमा चर्चा कमाएका थिए । ०२२ सालमा रेर्कड गराएको यो गीतले अहिले पनि प्रत्येक नेपालीको मनोभावनालाई उत्तिकै छोएको छ । तर, गीतमा भनिएजस्तै नेपाल आमालाई संसारकै राम्री बनाउने पाल्पालीको सपना भने गीतमा मात्र सीमित रह्यो । थोरै संख्यामा गीत गाए पनि राष्ट्रियताले ओतप्रोत गीत गाएकै कारण चर्चा कमाएका पाल्पाली आर्थिक अवस्थाले कमजोर बन्दै गएपछि पछिल्लो समय गुमनाम जस्तै थिए ।
त्यो बेला सयौं बिघा जग्गाका मालिक शाह खान्दानका सन्तान महेश पाल्पाली जीवनको उत्तराद्र्धमा आर्थिक अभावसँगै दमबाट थलिएपछि सांगीतिक क्षेत्रबाट समेत सबैले बिर्सिंदै गएका थिए । गायक तथा रचनाकारहरू नातिकाजी, नारायण गोपाल, तारादेवीका समकालीन महेश पाल्पालीले आर्थिक अभावका कारण आफ्नो कलालाई समेत बाहिर ल्याउन सकेनन् । उनका ‘हे आमा नेपाल तिमीलाई’सँगै ‘मलाई मेरै देशकै सिन्दुर लाउन मन’, ‘सुन्दर मेरो देश यो नेपाल’, ‘जल्यो जल्यो तन जल्यो निर्मोहीको सम्झनामा आज मेरो मन जल्यो’, ‘माया फिर्ता लाँदै छु आउँदिन म जाँदै छु बैगुनीलाई छोडी सम्झना’लगायत गीत रेकर्ड भएका छन् ।
पाल्पाको तानसेनमा जन्मिएका काठमाडौंमा चर्चा कमाएर बुटवलमा बुढ्यौली बिताएका पाल्पालीका सयौँ गीतहरू अहिले पनि बाकसभित्र कागजका पानामा थन्किएर बसेका छन् । ७ सयभन्दा धेरै गीत लेखेका पाल्पालीले ३ सय गीतमा संगीतसमेत भरेका थिए । सेनामा मेजर रहेका बाबुले पढाउन काठमाडौं लगेपछि नातिकाजी, तारादेवी, यादव खरेल, रामविक्रम सिजापतिसँगको संगतबाट पाल्पाली गीत संगीतमा लागेका हुन् ।
सरकारले मासिक रूपमा दिने सामाजिक सुरक्षा भत्ता र कहिलेकाहीँ रेडियोहरूले दिने रोयल्टीबाट उनको दैनिक गुजारा चल्दै आएको थियो । ०३० सालमा पाल्पाबाट बुटवल झरेका पाल्पाली बुटवलको सुुकुम्वासी बस्ती दीपनगरमा १ छोरा १ बुहारी र ३ नाति नातिनाका साथमा बस्दै आएका थिए ।
प्रतिक्रिया