टोकियोनजिकै बम बिस्फोट हुँदा एकको मृत्यु

टोकियो, ८ कात्तिक । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका २ बिस्फोटनमा परी १ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ घाइते भएका छन् ।

जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान सो बम बिस्फोटनहरू भएका थिए । एक पार्कमा महोत्सव चलिरहेका बेला भएको उक्त बिस्फोटन के कति कारणले गराइएको हो, सो भने तत्काल प्रष्ट नभएको बताइएको छ ।

सो बिस्फोटनहरूमा परी १ व्यक्तिको मृत्यु हुनुको साथै २ घाइते भएका र घटनाको विस्तृत विवरण भने प्राप्त नभएको अग्नी नियन्त्रण विभागका प्रवक्ताले बताएका छन् । सो घटनाहरूमा परेर हताहत भएका ३ व्यक्ति महिला वा पुरुष हो र उनीहरूको उमेर पनि हाल प्रष्ट नभएको अग्नीनियन्त्रण विभागका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार एक बिस्फोट कार पार्किङ इलाकामा भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार लगातार २ वटा बिस्फोट भएको र बिस्फोटपछि गन्ध तथा धुवाँ उडेको थियो ।

प्रतिक्रिया