सहमतिमा समय थप्न सकिन्छ

चितवन, १८ वैशाख । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान लेखनका सथसाथै मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएकी छन् । उनले संविधानका बिवादित विषयमा सहमति जुटाउनुका साथै सहमतीय सरकारमा पनि जोडदिनुपर्ने बताईन ।
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो ।’
अन्तरिम संविधानमा संशोधन गरेरै भएपनि संविधानसभाको समय  थप्न सकिने एमाले उपाध्यक्ष भण्डारीको भनाई छ ।
पहिले सहमतिको सरकारमा जोड दिनुपर्ने तर्क समेत राखेकी भण्डारीले भनिन्, ‘राम्रो संविधान बनाउने छलफलका लागि संविधानसभाको केही समय थप्नुपर्ने पनि हुन सक्छ ।’
यसैवीच, भणडरीले मुलुकमा सात प्रदेश भन्दा माथिको संघीय राज्य बनाउन नहुने बताएकी छन् । एमालेको केन्द्रीय कमिटीले राज्यको पुनर्संरचना गर्दा यति नै प्रदेश बनाउनुपर्छ भनेर निर्णय नगरेपनि पा“चदेखि सात प्रदेशसम्मको पक्षमा पार्टी रहेको भण्डारीको भनाई छ ।
उनले प्रादेशिक सभा धेरै राख्दा संघीय संरचनाको गरिमा राख्न नसकिने भन्दै पाँचदेखि सात प्रदेश उपयुक्त हुने उल्लेख गरिन् ।
भण्डारीले पार्टी भित्र १२ प्रदेशबारे छलफल नै नभएको दाबी पनि गरेकी छन् । प्रदेशहरुको नामाकरण जातीय आधारमा नभई ऐतिहासिक वा साँस्कृतिक आधारमा गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया