नांगो र बांगो हुन चाहँदिनन् उर्मिला

urmila2काठमाडौं, १३ असोज । सोलु जिल्लाको दुर्गम वस्ती काँकुमा जन्मेकी सुरिलो स्वरका धनी गायिका हुन् उर्मिला खालिङ । बाल्यकालदेखि नै नाच्न र गाउनमा लहसिएकी गायिका उर्मिलाको जीवन सरदर मानिसले जिउनेभन्दा पृथक नै रह्यो । कलिलो उमेरमै आफ्नो आमालाई गुमाउनुको पीडाले थकित बनेकी उनी आमाको अभावमा मातृत्वको भूमिका समेत आफैँले खेल्नुपर्ने बाध्यतामा हुर्केकी गायिका हुन् । पीडाले मानिसलाई परिपक्व बनाउँछ भन्ने मान्यता बोकेर उनले गाउँमै रहेको प्राथमिक विद्यालयमा दुःख गरेर स्कुल गइन् । पीडा बिर्सन उनले विरहका गीतहरू गाइन् ।

प्रावि तहको पढाइ पूरा गर्न उनले वाकुको अर्को विकट ठाउँ हिलमा समेत पुग्नुपरेको उनको पीडा छ । यिनै पीडाहरूको भिड छिचोल्दै सोलुको सदरमुकाम सल्लेरीमा कक्षा ६ देखि पढ्न पाइन् । यो नै उनको सौभाग्यको कुरा थियो । त्यही बेलादेखि उनी गीतसंगीतमा छिरिन् । कलिलो उमेरमै गीत गाउन उत्साहित उर्मिलाले स्थानीय सोलु एफएममा कक्षा ६ मा पढ्दै गर्दा २ वटा गीत रेर्कड गर्ने अवसर पाइन् । भाषिक गीतसमेत गाउँदै आएकी उनले पहिलोपटक रेडियोमा ‘हरियाली छाएको सोलु मेरो गाउँ’ रेकर्ड गरेर मनको संगीत यात्राको तय गरेकी बताउँछिन् । उनले भनिन्, ‘यो सँगै मैले माटो हाम्रो बगी जाँदैन, चौतारी हुन्छ मानवको मन पहिलोपटक रेकर्ड गराउँदा औधि खुसी लागेको थियो ।’

यसरी सोलु एफएमको स्थानीय स्तरमा रेकर्ड गराएको गीत बेलाबेला रेडियोले बजाउँदा मनको तरंग नै तरंगीत हुने गरेको सुनाउँदै उनले भनिन्, ‘यसपछि मैले लगातार कक्षा ९ मा पुगेपछि कलेक्सन एल्बममा गीत गाउन भ्याएँ ।’ सन्देश नामको कलेक्सन एल्बममा महेश राना मगरको ‘ए होइ निष्ठुरी साइला’ र मोहन महर्जनको ‘लेकमा फुल्यो चाँप र चमेली’ बोलको २ गीत उनले गाउने अवसर पाएकी थिइन् । दुवै गीतको संगीत सन्तोष सुब्बाको रहेको थियो ।

urmilaयो सँगै एसएलसी पास गरेर उनी संगीतको भोक मेट्न काठमाडौं छिरेकी बताउँछिन् । ‘काठमाडौं पनि सोचेजस्तो कहाँ थियो र मेरालागि’ उनले सुनाइन, ‘०६५ साल तिर झरेको म गीतको साधना गर्न संगीत शिला एकेडमीमा पुगेर साधनामा तल्लिन हुन थालँे तर के खाने के लाउने समस्या भने उतिकै थियो ।’ यसै बीच कडा परिश्रम गर्दै जाँदा ०७१ सालमा आएर बल्ल ‘सगरमाथाको सौगात’ नामक एकल एल्बम बजारमा लिएर आएको उनले सुनाइन् । यसपछि भने संगीतमा अलिक स्थान सुरक्षित भएको अनुभव उनलाई लागेको थियो । उनले ०७२ सालमा फेरी साथीहरूसँग मिले कलेक्सन एल्बममा गाउने अवसर पाएको बताइन् । यसपछि भने गाउने क्रमम जारी छ । हालै आफ्नै पुराना गीतहरूको कलेक्सन एल्बम निकाले प्रमोसनमा लागेको उनले सुनाइन् ।

कलेक्सन एल्बमको २ वटा म्युजिक भिडियो एकै साथ रिलिज गर्ने तयारीमा रहेको बताउँदै उनले आफ्नो संघर्षको ती दिनलाई शिक्षाको रूपमा ग्रहण गरेको बताइन् । गीत गाउने र प्रमोसन तथा अवसर खोजी गर्दै जाँदा कसै कसैले आपूmलाई अलिक स्मार्ट देखिनु पर्ने, चाटकचुटुक्क परेर हिँडन् सुझाव दिने गरेको तीतो पोखेकी छन् । ‘म जे छु, ठिकै छु । मलाई सस्तो लोकप्रियताको लागि नांगो र बांगो हुनु छैन ।’ भन्ने आपूmले जवाफ दिएको उनले सुनाइन् ।

उनले संगीतलाई गतिलो गरि नबुझ्ने तर छालाको रंग र कपडाको कलर देखाएर सस्तो लोकप्रियता कमाउन पछि लाग्नेहरूले संगीत उद्योगको बदनाम गर्दै आएको पनि बताइन् । उर्मिलाले सिधा पारामा भनिन्, ‘नांगिनु बांगिनु नै पर्छ भने मलाई संगीत क्षेत्र चाहिएन ।’

गीतगायनको अलवा लेखन कार्यमा समेत उत्तिकै सक्रिय रहेका उर्मिला कविता तथा गीत लेख्न पनि उत्तिकै सिपालु रहेकी छन् । नाच्नु आफ्नो पहिलो रुचि भएकाले नृत्य राम्रै गर्ने गरेकी भए पनि अहिले भने ज्यानले साथ नदिएको उनको गुनासो छ ।

प्रतिक्रिया