आकस्मिक बैठकको आग्रह

unoन्युयोर्क, १० असोज । बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन् । सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा शनिबार भएको घटनाका बारेमा छलफल गर्न ती देशले संयुक्तरूपमा शनिबार उक्त आग्रह गरेका हुन् ।

स्थानीय समयअनुसार आइतबार बिहान १० बजे सो आकस्मिक बैठकको आयोजना गर्न आग्रह गरिएको कूटनीतिज्ञहरूले जानकारी दिएका छन् । सिरियाको अलेप्पो सहरमा शनिबार भएको भीषण हवाई हमलालगायतको आक्रमणमा परी ४५ सर्वसाधारण मारिएपछि आकस्मिक बैठक बोलाउन ती देशले आग्रह गरेका बताइएको छ ।

सिरियाली सैनिकले विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी सहरहरूमा पुनः कब्जाको लागि भीषण आक्रमण गर्ने घोषणा गरेको २ दिनपछाडि सो हवाई हमला भएको जनाइएको छ । राष्ट्रसंघका महासचिव बानकी मुनले अलेप्पोमा आधुनिक हतियारसहित आक्रमण भएकोमा यसअघि नै चिन्ता व्यक्त गरेका थिए ।

सो सहरमा हवाई हमला, डरलाग्दो हतियार, बंकर बम र शक्तिशाली मेसिन प्रयोग गरेर आक्रमण भएको बानले बताएका थिए । अलप्पो सहरमा हातहातियारलाई गलत प्रयोग गरी युद्ध अपराध भइरहेको बानले बताएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको थियो । सिरियामा केही दिन अगाडि मात्र ‘अल इद अदा’को अवसर पारी अमेरिका र रसियाको संयुक्त पहलमा युद्धविराम सम्झौता भएको थियो ।

प्रतिक्रिया