जलवायुबारे व्यवहारमै उत्रिन मुनको आह्वान

ban_ki-moon_portrait (1)न्युयोर्क, ६ असोज । संयुक्त राष्ट्रसंघका महासचवि वान की मुनले सिरियाको द्वन्द्व अन्त्य गर्न र पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गरेका छन् । राष्ट्रसंघको महासभालाई सम्वोधन गर्दै महासचिव मुनले मंगलबार यी २ विषयलाई यस वर्षभरी महत्व दिन आग्रह गरेका हुन् ।

विश्वभरी हिंसा रोक्न आह्वान गर्दै उनले भने, ‘सबैका लागि मेरो स्पष्ट सन्देश यो छ की, तपाईंका जनतालाई बचाउनूस्, लोकतन्त्रलाई खतरामा नपार्नूस्, श्रोतसाधनको अत्यधिक दोहन नगर्नूस्, आलोचकलाई थुन्ने तथा पीडा दिने नगर्नूस् ।’ मुनले सिरियाली सरकारले आफ्नै नागरिकको हत्या गरिरहेको जिकिर गर्दै तत्काल युद्ध रोक्न अपिल गरे ।

उनले जलवायु परिवर्तनका बारेमा हेलचक्र्यार्इँ गर्न अब समय बाँकी नभएको भन्दै यसवर्ष पेरिस सम्झौतालाई कडाइका साथ व्यवहारमा उतार्न पनि आग्रह गरे । महासचिव मुनले २६ ओटा देशले मात्रै जलवायुका बारेमा सम्झौताअनुसारको काम गर्ने प्रयास गरेको बताए ।

उत्तर कोरियाले शृंखलाबद्ध तरिकाले परमाणु बम परीक्षण गरिरहेको प्रति लक्षित गर्दै उनले आफ्नो बाटो परिवर्तन गर्न उत्तर कोरियालाई आग्रह गरे । सो अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका साझा मुद्दाहरूमा सबै राष्ट्रलाई एकजुट हुन अपिल गर्दै संरक्षणवाद र अलगवादलाई त्यागी समान साझेदारीको भूमिका निर्वाह गर्न आह्वान गरे ।

उनले शरणार्थी समस्या पनि विश्वका धेरै राष्ट्रको चुनौतीका रूपमा रहेकाले शरणार्थीका लागि सहयोगी हातअघि बढ्नुपर्नेमा जोड दिए । बेलायतकी प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट छुट्टिँदैमा बेलायतलाई अर्कैतिर फर्केको रूपमा नबुझ्न पनि आग्रह गरे । उनले अहिले विश्वव्यापीरूपमा बेलायत अझ आत्मविश्वासी, दह्रो र स्वतन्त्र भएको बताए ।

महासभामा अन्य देशका नेताले पनि सम्वोधन गरेका थिए । अमेरिकाको न्युयोर्कमा महासभा भइरहेको छ । हरेक वर्ष हुने महासभामा विश्वभरका सरकारका प्रतिनिधि सहभागी हुने गर्दछन् ।

प्रतिक्रिया