दूषित बन्दै सहरी हावा

जेनेभा, ३० वैशाख । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । यसका कारण जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो ।

उक्त संगठनले गरेको सो अनुसन्धानपछि यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ । विश्वका गरिब देशका सहरहरूमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने गरेको तथ्य सो अनुुसन्धानमा राखिएको समाचारमा उल्लेख छ ।

विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदूषण मुख्य समस्याका रूपमा देखिएको छ । यस्तो अवस्थाका देशका ९८ प्रतिशत सहर कमसल हावामा बाँचिरहेका देखिन्छ । संयुक्त राष्ट्रसंघीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा ती सहरहरू देखिन्छन् । जसले गर्दा नागरिकले यस्तो जोखिमपूर्ण वातावरणमा बाँच्नुपर्ने अवस्थामा पुगेका छन् ।

विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य विभागका प्रमुख मारिया नेइराले भनिन्, ‘हाल संसारमा यस्तो वायु प्रदूषणको अवस्था निकै नै गम्भीर रूपमा बढिरहेको छ र यसले नागरिकको स्वास्थ्यजस्तो सम्वेदनशील विषयलाई पनि थप सम्वेदनशील अवस्थामा नै पु¥याइदिएको छ ।’

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वस्थ र वातावरणसम्बन्धी मापदण्डबाट विश्वका यस्ता देशका सहरहरू तल झरिसकेका पनि सो अनुसन्धानबाट खुलेको छ । मारियाले भनिन्, ‘यस्तो अवस्था निकै नै खतरनाक हो र यसैगरी आगामी दिनमा पनि स्वास्थ्यमा सुधारको लागि सबैले ध्यान नदिने हो भने यसले फोक्सोको क्यान्सरजस्तो घातक रोगलाई आमन्त्रण गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।’

अनुसन्धानले अहिले पनि यस्ता नगरका नागरिक दम, हृदयघात तथा अन्य स्वासप्रस्वाससम्बन्धी समस्याबाट पीडित भएका पनि देखाएको छ । यो अनुसन्धानले घरभित्रको भन्दा बाहिरको वातावरणलाई केन्द्रित गरेको छ । विशेषतः बटुवा र सहरमा आफ्नो काम विशेषले हिँड्ने नागरिकमा यो अध्ययन केन्द्रित रहेको छ । विश्वका ६७ देशका करिब ७ सय ९५ वटा सहरमा यो अध्ययन केन्द्रित गरिएको छ । यो अध्ययन सन् २००८ देखि सन् २०१३ सम्ममा गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणको अवस्था धनी देशमाभन्दा बढी गरिब देशमा खतरनाक हुन पुगेको देखिएको पाइएको बताएको छ । सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ । तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

वायुमण्डलमा देखिएको यो प्रदुषणका कारण विश्वमा अहिले पनि बर्सेनि कम्तीमा पनि ३० लाख मानिसको ज्यान जाने गरेको उक्त संगठनले जनाएको छ । स्याम्पलको रूपमा सहरहरूलाई लिँदा प्राय १ करोड ४० लाख जनसंख्या भएको सहरलाई लिइएको उक्त अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार अहिले पनि यसरी लिइएको स्याम्पलमा दक्षिण एसियामा सबैभन्दा बढी प्रदूषित सहर भारतको नयाँदिल्ली हो । त्यसपछिका प्रदूषित सहरमा कायरो र बंगलादेशको राजधानी ढाका रहेको छ । यी २ सहरको वायु प्रदूषणको अवस्थाले पनि तोकिएको हद नाघेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथा वातावरण विभागका संयोजक कार्लाेस दोराले भने– प्रदूषणका विभिन्न कारण छन् र त्यसमध्ये अत्यधिक मात्रामा सवारी साधनको प्रयोग एक हो । मध्यमवर्गीय राष्ट्रहरूमा सवारी साधन पनि प्रदूषित मापदण्डलाई पालना नगरिएका सवारी साधन चलाउने र यसले बढी मात्रामा प्रदूषण बढाएको पाइएको छ ।

बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरूमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउँदा त्यसले झनठूलो मात्रामा प्रदूषण बढाएको पाइएको पनि उल्लेख छ ।

त्यस्तै घरलाई न्यानो पार्नका लागि प्रयोग गरिने कतिपय धुवाँजन्य इन्धनले गर्दा पनि प्रदूषण बढाउने काम गरेको सो अनुसन्धानका क्रममा देखिएको पनि सो प्रतिवदेनमा उल्लेख गरिएको छ । प्रतिवेदनले जतिसक्दो चाँडो त्यस्ता प्रदूषित वस्तुहरूलाई हटाउन, ऊर्जाका लागि विद्युतीय प्रविधि अपनाउन र दाउरा या कोइलाको प्रयोगलाई निरुत्साहित गर्न तथा सवारी साधनको प्रदूषण मापदण्ड लागू गर्न पनि सुझाएको छ । त्यसैगरी सडकपेटीमा हरियाली कायम गर्न, बटुवालाई केन्द्रित गरी सडकपेटीहरू बनाई त्यसमा विरुवा रोप्ने र हरियाली सडक बनाउने जस्ता कार्यक्रमहरू अपनाउन पनि सुझाएको छ । यसरी गरिने सुधारका कारण साइकलको प्रयोगको मात्रा बढ्ने र त्यसका कारण वायु प्रदूषणको अवस्थामा सुधार आउने उक्त अनुसन्धानमा जनाइएको छ ।

प्रतिक्रिया