बग्दाद । इराकको राजधानी बग्दादमा फेरि हिंसा भड्किएको समाचार छ । केही समययता त्यहाँ हिंसा थप भड्किएको छ । शनिबार बिहान ट्रक बम विस्फोट गराई २४ को हत्या गरिएको समाचारमा जनाइएको छ । त्यसमा परी अरू ३८ जना गम्भीर रूपमा घाइते भएका छन् ।
बग्दादको नहरवान क्षेत्रमा रहेको खाद्यान्न बजारमा नागरिक जम्मा भएको समयमा विस्फोटक पदार्थले भरिएको एक ट्रक लगेर ठोक्काइएको थियो । त्यस आक्रमणमा परी ठूलो जनधनको क्षति भएको बग्दादको गृहमन्त्रालयले जानकारी दिएको छ ।
उक्त मन्त्रालयले दिएको जानकारीअनुसार नागरिक किनमेलका लागि जम्मा भएको समयमा यसरी विस्फोटक पदार्थसहितको ट्रक लगेर विस्फोट गराइएको थियो । यसमा परी घाइते भएका नागरिकको अवस्था अत्यन्तै गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । बग्दादमा पछिल्लो समयमा यस्ता हिंसाका घटना बढ्न थालेका छन् ।
सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ । (एजेन्सी)
प्रतिक्रिया