गजनी, १८ वैशाख । अफगानिस्तानका एकजना तालिवान कमाण्डरसहित चार जना तालिवान सैनिक कारबाहीमा मारिएका छन् । शनिबार बिहान पूर्वी प्रान्त गजनीमा भएको कारबाहीमा तालिवानका एकजना समूह कमाण्डर पनि मारिएका समाचारमा जनाइएको छ ।
गजनीको गिलान जिल्लामा रहेको सैनिक पोष्टमा तालिवानहरूले गरेको आक्रमणपछि सेनाले गरेको जवाफी कारबाहीका क्रममा कमाण्डरसहितका चार लडाकू मारिएका हुन् । गजनीको पूर्वी क्षेत्रमा पछिल्लो समयमा तालिवान लडाकूको ठूलो प्रभाव रहेको छ । उनीहरूले सरकारी सुरक्षाकर्मीमाथि बारम्बार हमला गर्ने गरेका छन् ।
यसैबीच अर्काे एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त जाउझानका ११ जना तालिवान लडाकूले आत्मसमर्पण गरेका छन् । ती लडाकूले आफूले आगामी दिनमा हत्या हिंसाको काममा सम्लग्न नहुने भन्दै आफ्ना हात हतियार सरकारी अधिकारीलाई बुझाएका हुन् ।
यसरी आत्मसमर्पण गर्नेमा एकजना समूह कमाण्डर पनि रहेको बताइएको छ । उनको नेतृत्वको समूहले शनिबार बिहान आत्मसमर्पण गरेका छन् । अफगानिस्तानका सरकारी अधिकारीहरूले उनीहरूको यस कदमको स्वागत गर्दै अरू तालिवान लडाकूलाई पनि आत्मसमर्पण गरी शान्तिको मार्गमा लाग्न आग्रह गरेका थिए ।
प्रतिक्रिया