बाजुरा, १८ बैशाख । लामो समयको खडेरीका कारण खानेपानीका मुहान सुक्न थालेपछि बाजुरामा खानेपानीको हाहाकार भएको छ । लामो समयसम्म पानी नपरेपछि खानेपानीको मुहान सुक्न थालेको हो ।
पुस्तौँदेखि वगिरहेका खानेपानीका मुहानहरू खडेरीका कारण सुख्खा हुँदै जाँदा स्थानीयलाई निकै समस्या भएको छ । खडेरीका कारण जिल्लाको वाई ८ फैतामा खानेपानीको हाहाकार भएको छ । उनीहरू अहिले खोलाको पानी खान बाध्य छन् । १० वर्ष पहिले बनाएका धार पानी सुकेपछि प्रयोगविहीन भएका छन् । खडेरीका कारण खानेपानी सुक्दै जाँदा त्यहाँका १ सय ५० परिवार एक घन्टा टाढाबाट स्थानीय सियाला खोलाको पानी खान बाध्य भएको स्थानीय ध्रुव कैलाले बताए । कैलाका अनुसार स्थानीय कालिका प्राविमा अध्ययन गर्ने विद्यार्थीलाई सबैभन्दा बढी सास्ति भएको छ ।
०५५ सालतिर केअर नेपालले बनाएको खानेपानीका योजनाहरू पाँच वर्ष पहिले भत्किसकेको छ । पुरानो संरचना भत्किसक्दासम्म कुनै निकायले सहयोग नगरेको उनीहरूको गुनासो छ । उनीहरूले गाँउ नजिकैको सिमखेतको मूल पानीको पानी प्रयोग गर्दै आएका थिए । यो वर्ष सबैभन्दा लामो खडेरी परेपछि सिमखेतको मुहानसमेत सुकेको छ । गाउँ नजिकको पानीको मुहान नै सुकेपछि फैतामा खानेपानीको हाहाकार मच्चिएको स्थानीय लोगजङ कैलाले बताए ।
फैतामा एउटा खोलाको पानीबाहेक कुनै खोलाबाट पानी ल्याउन नसकिने भएकाले थप समस्या भएको छ । यो क्षेत्रमा भएको लामो खडेरीले बाजुराको वाईमा मात्र नभएर जिल्लाका अधिकांश गाविसमा खाने पानीका मुहान सुक्न थालेका छन् भने सबैतिर खानेपानीको हाहाकार मच्चिन थालेको छ ।
बाजुराका अधिकांश गाउँका साना–साना मुहान सुकिसकेका छन् भने ठूला मुहानहरू सुक्ने अवस्थामा छन् । खडेरीका कारण पानीका मुहान मात्र नभई रुख विरुवासमेत सुक्न थालेका स्थानीयवासीले बताएका छन् ।
यो क्षेत्रमा ४० वर्ष यताकै लामो खडेरी भएपछि यहाँका मानीसहरू कहाँ जाउ र के खाउँसमेत भएका छन् । पानीको अभावले खोलाको पानी खाँदा अधिकांश रूगा खोकी, झाडापखाला, आउँ मासीजस्ता रोगहरूले ग्रस्त भएका छन् । खानेपानीको अभावले गर्दा दुषित पानी पिउन बाध्य भएको बताउँदै स्थानीय काशीराम थापाले पानीकै कारण विरामी बढ्न थालेको बताए ।
थापाले आफ्नो गाउँ बस्तीमा खानेपानीको यति धेरै समस्या हुँदा पनि कुनै सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाए । यता खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय बाजुराले भने खडेरीका कारण जिल्लाका अधिकांश गाविसमा खाने पानीका मुहानहरू सुकेकाले पानीको अभाव रहेको स्विकार गरेका छन् ।
प्रतिक्रिया