काठमाडौं, १६ वैशाख । सरकारले अन्य राष्ट्र वा संघ-संगठनसँग सन्धि गर्दा नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सन्धि गर्न नहुने सरोकारवालाहरूले बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार आयोजना गरेको ‘सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका–२०७३,’ को प्रारम्भिक मस्यौदा छलफल कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले राष्ट्रिय हितविरुद्ध हुने गरी कुनै पनि सन्धि गर्न नहुने निर्देशिकामा स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिए । सन्धि गर्दा प्रक्रियागत त्रुटि नहोस् भन्नाका लागि निर्देशिका महत्वपूर्ण छ भन्दै उनले नियमावली बनाएर मात्र निर्देशिका बनाउन सुझाव दिए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेले ‘सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका’ विषयको कार्यपत्र प्रस्तुत गर्दै अन्य देशसँग सन्धि गर्दा गल्ती हुनबाट बच्नका लागि सन्धिसम्बन्धी निर्देशिका आवश्यक रहेको स्पष्ट गरे ।
मन्त्रालयले सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका आवश्यक भएकाले त्यसको प्रारम्भिक मस्यौदा तयार पारिसकेको र थप छलफलपछि अन्तिम रूप दिने जनाएको छ ।
प्रतिक्रिया