काठमाडौं, १५ वैशाख । आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी छन् ।
साझा यातायात सहकारी लिमिटेडका अध्यक्षसमेत रहेका कनकमणि दीक्षितलाई आयोगले कानुनी प्रक्रिया नपु¥याई स्वेच्छाचारी ढंगले विना कुनै निर्णय गैरकानुनी रुपमा अनुसन्धान अघि बढाएको र थुनामा राखेको रिट निवेदनमा उल्लिखित छ ।
कनकमणि दीक्षितका तर्फबाट उनकी पत्नीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी हुन् ।
यसअघि १२ वैशाखमा विशेष अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही १० वैशाखमा दीक्षितलाई पक्राउ गरेको थियो ।
दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २ सय ८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९ सय २६ अमेरिकी डलर र अमेरिकाको एप्पल बैंकमा बेलायती मुद्रा ४ हजार १ सय २६ रहेको अध्ययनको क्रममा पत्ता लागेको अख्तियारको दावी छ ।
प्रतिक्रिया