कर्मचारी आन्दोलनमा ट्रेड युनियनको ऐक्यबद्धता

बुटवल, १४ वैशाख । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आन्दोेलनरत कर्मचारीको पक्षमा नेपाल ट्रेड युनियन कांग्रेसले ऐक्यवद्धता जनाएको छ । लामो समयदेखि काम गरिरहेका कर्मचारीहरूको सेवा सुविधाको विषयमा अस्पतालले बेवास्ता गरेकाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्रेड युनियनले तत्काल कर्मचारीहरूसँग संवादगरी समस्याको समाधान गर्न विज्ञप्तीमार्फत मागसमेत गरेको छ ।

ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठद्वारा जारी गरिएको उक्त विज्ञप्तीमा अस्पतालमा कर्मचारीका समस्यालाई नजरअन्दाज गरी नयाँ कर्मचारी भर्ना गर्न भन्दै विज्ञापन गरिएकोमा पनि आपत्ती जनाइएको छ । अस्पताल जस्तो संस्थामा राजनीति नगर्न आग्रह गर्दै तत्काल अस्पताल विकास समितिले गरेको कर्मचारी आवश्यकता खारेज गरी छलफलबाट मात्रै अघि बढ्न आग्रह गरिएको छ । अन्यथा आफूहरू पनि कर्मचारीहरूको पक्षमा आन्दोलन गरि बढाउन वाध्य हुने विज्ञप्तीमा उल्लख छ ।

विभिन्न ६ सूत्रीय माग राखी लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारीहरू विगत ३ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारी युनियनको नेतृत्वमा भएको आन्दोलनमा उनीहरूले ०४६ सालदेखी अस्थायी सेवा गरेर स्थायी भएका कर्मचारीहरूको ७५ प्रतिशत सेवाअवधि अस्थायी सेवामा गणना गरिनुपर्ने विकास समिति कर्मचारीहरूको स्तरवृद्धि तथा वढुवा गरिनुपर्ने करार सेवामा कार्यरत कर्मचारीलाई आन्तरिक प्रतियोगीतामार्फत स्थायी गरिनुपर्ने माग राखेका छन् ।

त्यस्तै अस्पताल विकास समितिले विभिन्न दरबन्दी सिर्जनागरी अस्पताललाई भर्तीकेन्द्र बनाएकोले त्यो तत्काल बन्द गरिनुपर्ने अस्पतालको आम्दानी खर्च श्वेतपत्रमार्फत सार्वजनिक गरिनुपर्ने लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरवृद्धि गरी केन्द्रीय अस्पतालले दिने सेवा सुविधा सुचारु गर्नुेपर्ने उनीहरूका माग रहेका छन् ।

आफूहरूका माग पूरा नभए अध्यक्ष र मेसुको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम रहेको लुम्बिनी अञ्चल अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाले बताएका छन् ।

प्रतिक्रिया