चितवन, १४ वैशाख । बागलुङ जिल्ला सकुवा गाविस–२ मादीका ३२ वर्षीया दृष्टिविहीन अमित केसीले आफ्नो जागीर नै त्यागेर सगरमाथा चढ्ने निधो गरेका छन् । तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सुरु गरेको विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहणको यात्रालाई उनले पनि निरन्तरता दिने बताएका छन् ।
उनले सगरमाथा चढ्न कै लागि भइरहेको जागिर नै गुमाउनुपरेको छ । जागिरले अभियानमा केही भरथेग हुन्थ्यो, त्यो पनि टुटेको छ उनको । उनले भने, ‘सगरमाथा चढ्ने प्रस्ताव राखेपछि मलाई शिक्षकको जागिरबाट निकालियो,’ कुराकानीमा अमितले भने, ‘मैले जागिर त्यागेँ, सगरमाथा चढ्ने अभियान त्यागिनँ ।’ बागलुङको रामरेखा निमाविमा राहतका सामाजिक शिक्षक थिए अमित । सगरमाथा चढ्ने योजनासहित विद्यालयमा प्रस्तुत भए ।
उनले प्रस्ताव राखे, ‘तालिमहरू चल्दा मात्रै अरू शिक्षकको व्यवस्थापन गर्नुपर्ला, अरूबेला पढाउन आइहाल्छु ।’ अलि समयपछि विद्यालयबाट श्रीमतीलाई राख्छौँ, आउनुपर्दैन भन्ने खबर आएपछि उनी थप ढुक्क भए । ‘एक्कासि पुरानो मिति बनाएर अवकाश दिएको पत्र आएपछि पो म झसंग भएँ,’ अमितले भने, ‘अब मेरो सगरमाथा चढ्ने महाअभियानमा साथ दिने आमनेपाली मात्रै छन् ।’ यसरी जागिरबाट निकाल्ने काम तत्कालीन विद्यालयका अध्यक्ष महेन्द्र आचार्य भएको उनले दाबी गरे ।
सगरमाथा चढ्ने अभियान सुरु गरेपछि अस्थायी रूपमा केसी हाल चितवनको छिमेकी जिल्ला नवलपरासीको गैँडाकोट नगरपालिका–५ कालिका चोकमा मामाघरमा बस्दै आएका छन् । अहिले आर्थिक जोहो गर्न उनी जिल्ला जिल्ला दौडिरहेका छन् । ‘ज–जसले सहयोग गर्नुहुन्छ उनकाहरू मेरो अभियानका अभियन्ता बन्नुहुनेछ, हामी पनि केही गर्न सक्छौँ भन्ने देखाउँछु’ अमितले खुलाए ।
जन्मैदेखिका दृष्टिविहीन अमित परिवारका माइलो छोरा हुन् । स्नातकोत्तर गर्दैगर्दा अभियानकै क्रममा पढाइ पनि रोकिएको छ । श्रीमती विद्या केसीसँगै ५ वर्षका छोरा अभिजित र ८ वर्षकी छोरी अजनबी छन् । श्रीमतीले कस्मेटिक पसल चलाएर छोराछोरी पढाउँछिन् । उनी भने विश्वकै सर्वाेच्च शिखर सगरमाथा चढेर नेपाली झन्डा फर्फराउँदै नेपालकै पहिलो दृष्टिविहीन आरोहीको नाम लेखाउन चाहन्छन् । सन् २०१७ अर्थात् आगामी वर्ष उनी सगरमाथा जाने योजनामा अहिले तालिम लिइरहेका छन् ।
अहिले उनी लायन्स क्लब अफ गैँडाकोट मौला कालिकाको नव सदस्य भएका छन् । मौलाकालिकाले सहयोग जुटाउन उनलाई विभिन्न क्षेत्रमा भेटघाट गराइदिने काम गरिरहेको अध्यक्ष सिआर कँडेलले बताए । अमितले २०१५ मा ६ हजार १ सय ८६ मिटर अग्लो सोलुको आइल्यान्ड पिक र यो साल ६ हजार ६ सय ५४ मिटर अग्लो सोलुकै मेरा पिकको सफल आरोहण गरिसकेका छन् । यी २ वटा हिमाल चढेपछि सगरमाथा चढ्न सक्ने पूर्ण हिम्मत पलाएको केसी बताउँछन् । रक क्लाइम्बिङ, मोटिभेसन कक्षा, डोरी चढ्ने कला उनले सिकिसकेका छन् ।
प्रतिक्रिया