जताततै डढेलो

काठमाडौं, १३ वैशाख । गर्मीयामको सुरुआतसँगै बढेको सुख्खा खडेरीमा जताततै आगोलागी घटनाहरू बढेका छन् । सामान्य मानवीय त्रुटिका कारण आगोलागी हुँदा लाखौँको धनजनको क्षति हुनका साथै वनजंगलको विनाश बढेको हो । तराई तथा चुरेपहाडमा बढीजसो आगलागी घटनाहरू भएको खबरहरू प्राप्त भइरहेका छन् ।

काभ्रेमा ९ सय ८१ हेक्टर वनमा क्षति
काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा लागेको डढेलोका कारण झन्डै ९ सय ८१ हेक्टर वनमा क्षति पुगेको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार जनागाल क्षेत्रमा ५६ हेक्टर, खोपासी क्षेत्रमा ६० हेक्टर, कटुञ्जेबेँसी क्षेत्रमा १ सय ६० हेक्टर, महादेवस्थानमा ४५ हेक्टर, चौवास क्षेत्रमा ७० दशमलव २५ हेक्टर, महाभारत क्षेत्रमा २ सय ५० हेक्टर गरी कुल ९ सय ८० दशमलव २५ हेक्टर वन क्षेत्रफलमा ढडेलोले क्षति पु¥याएको छ ।

जिल्ला वन कार्यालय धुलिखेलका वन अधिकृत प्रेम खनालले डढेलोका कारण जैविक विविधतामा असर पुगेको उल्लेख गर्दै यसले माटोको उर्वराशक्ति पनि नष्ट गर्ने बताए । ‘डढेलोले किराफट्यांग्रा, कीटपतंग, चराचुरुंगीको वासस्थान नष्ट भएको छ’ उनले भने । मह काढ्ने नाममा आगो लगाएर छाड्ने, तस्करले वन्यजन्तुलाई घेराबन्दी गर्न, वनस्पति छिटो उम्रने भन्ने गलत सोच र मानिसको लापर्बाहीका कारण वनमा डढेलो लागेको हुनसक्ने वन अधिकृत खनालको भनाइ छ । सामुदायिक वनबाहेक महाभारत शृंखला क्षेत्रमा रहेको राष्ट्रिय वनमा पनि डढेलो लागेको छ ।

अर्घखाँचीमा महिलाको मृत्यु
अर्घाखाँचीको धातीबाङ गाविसमा घर नजिकै लागेको आगो निभाउने क्रममा सोमबार बिहान १ महिलाको मृत्यु भएको छ । धातीबाङ–९, दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर स्थानीय ३२ वर्षीय मखमली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।

आगलागीले महिलाको मृत्यु भएको र आगो नियन्त्रणमा नआएकाले आफूसहितको टोली घटनास्थलतर्फ जान लागेको जानकारी दिए । आइतबार साँझदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आएको छैन । आगलागीले २ घर र ५ गोठ जलेर नष्ट भएका छन् । स्थानीयवासी बालसिंह सारुको घर, गोठ, लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको १ लाख ३० हजार नगदसमेत जलेर नष्ट भएको छ । तुलबहादुर सारुको घर गोठ जल्दा लत्ताकपडा, अन्नपात तथा घरमा राखिएको ७२ हजार नगदसमेत जलेर नष्ट भएको स्थानीयवासी कृष्णप्रसाद पौडेलले बताए ।

अन्य स्थानीयवासीका ३ गोठ जलेका छन् । वडा नं ७ र ९ को करिब २ सय ५० हेक्टर जंगलमा आगो लागिसकेको छ । आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी चौकी टोली लागिपरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

कञ्चनपुरमा १० हजार हेक्टर जल्यो
यसैगरी कञ्चनपुरमा १० हजार हेक्टरभन्दा बढी वनमा डढेलो गएको छ । यहाँस्थित शुक्लाफाँट वन्यजन्तु आरक्ष, विभिन्न सामुदायिक वन र राष्ट्रिय वनमा गरी १० हजार २ सय हेक्टर वनमा डढेलो लागेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

यहाँका ५० भन्दा बढी सामुदायिक वन र राष्ट्रिय वनमा विगत १ साताभन्दा बढी समययता डढेलो लागेको सहायक वन अधिकृत विश्वेश्वरप्रसाद जोशीले जानकारी दिए । ‘१२ ठाउँमा डढेलो नियन्त्रण गर्न फायर युनिट खटिए पनि आगो नियन्त्रण बाहिर छ ।’ उनले भने्, ‘७ हजारभन्दा बढी हेक्टरमा आगो लागेको रेकर्ड आएको छ ।’ उनले आगलागी नियन्त्रण गर्ने सामग्री नहुँदा पनि समस्या भएको गुनासो राखेका छन् । ‘कुनै पनि निकायबाट आगो नियन्त्रण गर्ने सामग्री उपलब्ध भएको छैन ।’

उनले भने, ‘विगत वर्षहरूमा पाइएका सामग्रीले नियन्त्रण प्रयास जारी राखेका छौँ ।’ सहायक वन अधिकृत जोशीले सामुदायिक वनका पदाधिकारी तथा उपभोक्तासमेत डढेलो नियन्त्रणमा सक्रिय रहेको जानकारी दिए ।

त्यसैगरी शुक्लाफाँट वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आरक्षभित्र धेरै स्थानमा डढेलो लागेको बताए । ‘३० हजारदेखि ३ हजार ५ सय हेक्टरसम्म डढेलो लागेको हाम्रो अनुमान छ ।’ उनले पूर्वी र पश्चिम भागमा गरी २ भागमा नियन्त्रण जारी राखेका जानकारी दिए । त्यसका साथै डढेलो नियन्त्रणमा आरक्ष सुरक्षार्थ खटिएको नेपाल सेनाको भवानी बक्स गण पनि खटिएको छ ।

उनले भने, ‘सोमबार पनि तारापुर क्षेत्रमा डढेलो लागेकाले निभाउन पानीको ट्र्याक्टरसहित टोली खटिएका छौँ ।’ उनले डढेलो पूर्णरूपमा नियन्त्रणमा लिन कठिन भएको पनि बताए । शुक्लाफाँटा आरक्ष ३ सय ५ वर्ग किमीमा फैलिएको छ भने वन कार्यालयअन्तर्गत ८८ हजार हेक्टर वन क्षेत्र रहेको वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया