बोलिभियामा मनाइयो पुस्तक दिवस

लापाज, १२ वैशाख । विश्व पुस्तक दिवस–२०१६ को उपलक्ष्यमा बोलिभियाले मुलुकभर विभिन्न शैक्षिक क्रियाकलाप समारोह सम्पन्न गरेको छ । यस्ता समारोह आयोजना गर्दा मुलुकमा शैक्षिक चेतना जागृत हुनका साथै पठनपाठनमा स्तरीय प्रवद्र्धन हुने विश्वास लिइएको छ ।

राष्ट्रसंघीय शैक्षिक, समाजिक सांस्कृतिक संगठन (युनेस्को)ले विगत २१ वर्षदेखि अप्रिल २३ का दिन संसारभरी विश्व पुस्तक दिवसको आयोजना गर्दै आएको छ । विश्वका ख्याती प्राप्त तथा दिवंगत श्रष्टा तथा लेखकहरू– भिगेल डेन सर्भान्टस, विलियम सेक्सपियर, ग्रासिलासो डे ला भेगाजस्ता महान व्यक्तित्वहरूको स्मरण स्वरूप वार्षिकरूपमा अप्रिल २३ का दिन उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिएको हो ।

यसैक्रममा बोलिभियाका राष्ट्रपति इभो मोरालेस्ले यस दिन ‘बोलिभिया रिड्स्’ भन्ने नामक राष्ट्रव्यापी शैक्षिक कार्यक्रम उद्घाटन गर्दै देशभरबाट कम्तीमा १ लाख पुस्तकहरू चन्दा स्वरूप संकलन भएको र यी पुस्तकहरू ५० वटा नयाँ सामुदायिक पुस्तकालय स्थापना गरी व्यवस्थापन गरिने जानकारी दिए । देशका महानगरहरूमा उक्त दिवस मनाउनका लागि सेना तथा प्रहरीको पनि सहयोग लिइएको थियो ।

शिक्षा मन्त्रालयले मुलुकका सम्पूर्ण शिक्षा कार्यालयहरू र अन्य सार्वजनिक स्थलहरूमा पुस्तक संकलन केन्द्र खोलिएको जानकारी दिएका थिए । युनेस्कोले सन् १९९५ देखि विश्वका ख्याती प्राप्त लेखक, कवि तथा श्रेष्टाहरूलाई सम्मान वा श्रद्धाञ्जली अर्पण गर्न र विश्वमा पठनपाठन तथा साहित्यिक मान्यता प्रवद्र्धन गर्ने उद्देश्यले अप्रिल २३ का दिन विश्व पुस्तक दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया