खोटाङ, १२ वैशाख । वैदेशिक रोजगारीमा जाने निधो भइसकेपछि खोटाङ खार्मी–१ का धनसिङ राईलाई ९५ हजार रुपैयाँ म्यानपावरलाई बुझाउन कुनै आपत्ति भएन । धनसिङले युएई जानका लागि जालपा गाविसमा सञ्चालित जनसेवा वचत तथा ऋण सहकारी संस्थाबाट वैदेशिक रोजगारी शीर्षकमा १ लाख रुपैयाँ ऋण लिएर ठीक्क पारे । रकमको जोहो भएपछि आफन्त पर्ने अवैधानिक एजेन्टको सल्लाहबमोजिम दिदी सम्पूर्ण राईसँग काठमाडौं लागे । राईको आफन्त पर्ने एजेन्टले ९५ हजार रुपैयाँ नै मागेका थिए । विनासीपतालिम नै विदेश जान तम्सिएका राईले पासपोर्ट बुझाएको म्यानपावर कम्पनीमा भिसा प्रक्रिया पनि भइसकेको थियो ।
हुनु त धनसिङ सदरमुकाम दिक्तेलमा पासपोर्ट बनाउन आउँदा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी)को सूचना केन्द्रमा पसेका पनि थिए । तर, परामर्शकर्ताको परामर्शलाई उति सारो ख्याल गरेनन् क्यारे ।
पैसा बुझाउनु अगाडि धनसिङले सूचना केन्द्रलाई वास्ता नगरे पनि उनकी दिदी सम्पूर्ण राईले दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजना सूचना केन्द्रलाई सम्झिइन् । सम्पूर्णले तुरुन्त फोन गरेर सूचना केन्द्रका परामर्शकर्ता सहरमान राईबाट परामर्श लिन थालिन् । सम्पूर्णले म्यानपावर कम्पनी, पाउने तलब तथा सेवा–सुविधा, एजेन्ट म्यानपावरले मागेको लागत रकमलगायतको विवरण बारे जानकारी गराइन् । जानकारी पाउना साथै परामर्शकर्ता सहरमानले धनसिङको पासपोर्ट नम्बर मागेर मोबाइलको म्यासेज बक्समा डिपी टाइप गरी १ स्पेस छाडेर पासपोर्ट नम्बर टाइप गरी ३४००१ मा पठाए । जब मोबाइलमा म्यासेजको रिप्लाई आयो तब धनसिङको भाग्य खुल्यो ।
एजेन्ट र म्यानपावर कम्पनीले जे भने पनि धनसिङको साधारण कामदारका रूपमा युएईको भिसा लागेको, उनले पाउने मासिक तलब ८ सय दिराम र जाँदा लाग्ने लागत खर्च शून्य रुपैयाँ । यानेकी फ्रि–भिषा, फ्रि–टिकट ।
२ छोरीका बाबु धनसिङको लागि नेपाल सरकारले लागू गरेको फ्रि–भिषा, फ्रि–टिकटको बारे न त जानकारी थियो । न त म्यानपावर र एजेन्टले नै उनलाई यसबारे जानकारी दिए । अन्तिम श्रम स्वीकृति लिइसकेको अवस्थामा मोबाइलको म्यासेज बक्समा डिपी टाइप गरी १ स्पेस छाडेर वैदेशिक रोजगारमा जान तयार रहेका व्यक्तिका पासपोर्ट नम्बर टाइप गरी ३४००१ मा पठाउँदा तलब, सुविधा तथा लागत विवरण वैदेशिक रोजगार विभागबाट जानकारी हुने कुरा धनसिङ र उनका दिदीलाई बल्ल प्रष्ट भयो । फ्रि–भिषा, फ्रि–टिकट भए पनि लाइसेन्सविहीन एजेन्ट र युएई पठाउने म्यानपावरले ९५ हजार रुपैयाँ खान लागेको कुरा पत्तो पाई कुनै पनि हालतमा लाग्नेभन्दा बढी रकम दिन उनीहरू तयार भएनन् । सूचना केन्द्र र १ एसएमएसले ऋण लिएको त्यति ठूलो रकम बचेकोमा उनीहरू खुसी भएको परामर्शकर्ता सहरमान राईको भनाई छ ।
परामर्शकर्ता राईका अनुसार हालै मात्र १० हजार रुपैयाँ बुझाएर काठमाडौंस्थित लाइफ इन्टरनेसनल म्यानपावर कम्पनीबाट धनसिङ युएई पुगी काममा लागिसकेका छन् । उनले सूचना केन्द्रका परामर्शकर्तालाई निरन्तर सम्पर्क गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाएवापत कामदारबाट बढीमा १० हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था छ । जिल्लाबाट विदेश जाने अधिकांश कामदारले लागतभन्दा बढी रकम म्यानपावर तथा दलाललाई बुझाउँदैै आएका छन् ।
प्रतिक्रिया