काठमाडौं, ११ वैशाख । खोटाङबाट काठमाडौं आइरहेको बस दुर्घटनामा परी मृत्युहुनेहरूको सम्झनामा हलेसी प्रतिष्ठान काठमाडौंले श्रद्वाञ्जलीसभाको आयोजना गरेको छ । दुर्घटना भएको १२औँ दिन पारेर काठमाडौंको चाबहिलमा श्रद्वाञ्जलीसभा गरिएको हो ।
मृतकहरूको स्मरणमा २५ वटा दीप प्रज्वलन गरेर श्रद्वाञ्जली व्यक्त गरिएको थियो । गत ३० चैतमा भएको सडक दुर्घटनामा परी बसमा सवार २५ जनाको मृत्यु भएको हो । कार्यक्रममा खोटाङ जिल्ला क्षेत्र नम्बर १ सांसद पाँचकर्ण राईले वर्षअन्तमा यस्तो दुःखपूर्ण बितेको बताए । दुर्घटना हुँदा दुर्घटनास्थलमै पुगेर घाइते तथा मृतकहरूको उद्धार गरेका राईले मृतकहरूको चिरशान्तीका कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
उनले दुर्घटनाको बारेमा छानबिन भइरहेको भन्दै घटनाको कारण खुलिसकेपछि ज्यादै सर्तकता अपनाउनुपर्ने बताए । उनले मृतक तथा घाइतेहरूको अवस्था एकदमै दर्दनाक रहेको भन्दै सबै व्यवसायी प्रहरी प्रशासन, तथा आम नागरिकहरूपनि सचेत हुनुपर्ने बताएका छन् ।
फरक प्रसंगमा उनले निर्वाचनको बेलामा कुनै पार्टी विशेष प्रतिनिधि रहेको भए पनि निर्वाचन जितेर आएपछि आपूm सबैको साझा प्रतिनिधि भएको बताएका छन् । विकासका लागि फलानो पाटी नभइ सबैको एकमतो हुनुपर्नेमा उनको जोड रहेको थियो । फरक प्रसंगमा उनले जनताले तिरेको करबाट जागिर खाएर जनतालाई नै शास्ति दिने कर्मचारीहरूको प्रवत्तिको अन्त्य नभएसम्म कुनै हालतमा विकासको गति बढ्न नसक्ने बताएका छन् ।
कार्यक्रममा खोटाङ सेवा समाज काठमाडौंका अध्यक्ष राकेश राई, निर्वतमान अध्यक्ष तारा राई, यातायात व्यवसायी खोटाङका अध्यक्ष गणेश शाहीलगायतले आआफ्नो विचार राखेका थिए । २ चरणमा भएको कार्यक्रममा पहिलो चरणमा २५ जना मृतकको नाममा दियो बालेर उनीहरूको स्मरणमा १ मिनेट मौनधारण गरिएको छ । दोस्रो चरण कार्यक्रममा संस्थामा अमूल्य सहयोग गर्ने सदस्यहरूलाई आजीवन सदस्यता तथा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको थियो ।
प्रतिक्रिया