काठमाडौं, ११ वैशाख । मुलुकको कुल भूभागको १४ प्रतिशत क्षेत्रफल ओगटेको समग्र कर्णाली अञ्चल निर्वाचन क्षेत्र र बजेटका हिसाबले मात्र होइन, नगरपालिकाको संरचनामा समेत पछि परेको छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटसहित सिंगो कर्णालीमा नगरपालिकाको नाउँमा चन्दननाथले मात्रै प्रतिनिधित्व गर्दै आएको छ ।
आवश्यक पूर्वाधार नभएपनि १५ वडाको जुम्ला सदरमुकामस्थित चन्दननाथ नगरपालिका त्यस क्षेत्रका १३० गाविसका जनतालाई नगरपालिका भनेको के हो भन्ने बुझ्ने पाठशाला बनेको छ । हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद जीवनबहादुर शाही भन्छन्, ‘बजेट, पूर्वाधार निर्माण, राजनीतिक प्रतिनिधित्व सबै हिसाबले कर्णालीलाई राज्यले विभेद गर्दै आएको तथ्यलाई यहाँको एक मात्र नगरपालिका चन्दननाथले दर्शाउँछ ।’ स्थानीय निकायको संरचना निर्माणमा लामो अनुभव हासिल गरेका रामकुमार पाँडे नगरपालिका घोषणा गर्दा भूगोल र जनसंख्याको आ–आफ्नै सिद्धान्त हुने बताउँछन् । विद्यमान मापदण्डका हिसाबले नगरपालिकामा स्तरोन्नति नभए पनि सोलुखुम्बुको नाम्चे र लम्जुङको घलेगाउँ पर्यटन र विकासका हिसाब नमुना मान्न सकिने उनको ठहर छ ।
नयाँ नगरपालिका घोषणा गर्न जनसंख्या, सडकसहित भौतिक पूर्वाधार र आयस्रोतलाई मानकको रुपमा लिने गरिएको छ । कर्णालीको जनसंख्या ३ लाख ८ हजारको हाराहारीमा छ । सांसद अमरबहादुर थापा नगरपालिका भएपछि भौतिक पूर्वाधारको विकास, जग्गाको मूल्य वृद्धि हुनाका साथै कार्यकारी अधिकृतसहित दमकल, स्काभेटरको व्यवस्था र गाविसको तुलनामा धेरै बजेट विनियोजन हुने भएकाले पनि नगरपालिकाप्रति जनताको मोह बढेको बताउँछन् ।
मुलुुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका छन् । क्षेत्रगत रुपमा पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा ७२, पश्चिमाञ्चलमा ४४, मध्यपश्चिमाञ्चलमा २४ र सुदुरपश्चिमाञ्चल क्षेत्रमा २५ नगरपालिका छन् । अञ्चलबाट विभाजन गर्दा मेचीमा १३, कोशीमा २२, सगरमाथामा १७, जनकपुरमा २०, बाग्मतीमा ३१, नारायणीमा २१, गण्डकीमा १८, लुम्बिनीमा २३ र धवलागिरिमा ३ नगरपालिका छन् । कर्णालीमा १, राप्तिमा १०, भेरीमा १३, सेतीमा १२ र महाकालीमा १३ नगरपालिका छन् । देशभर गाविसको सङ्ख्या तीन हजार १ सय ५७ छ ।
सानै क्षेत्रफल भएपनि पश्चिमको तुलनामा पूर्व, उत्तरी जिल्लाको तुलनामा उपत्यका, मध्य पहाड र तराईका जिल्लामा नगरपालिकाको संख्या बढी छ । काठमाडौं जिल्लामा महानगरपालिकासहित ११ नगरपालिका छन् । झापा, मोरङ, चितवन र कञ्चनपुरमा भने ८÷८ नगरपालिका छन् । कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट, रसुवा, मनाङ र मुस्ताङसहितका ७ जिल्लामा एउटा पनि नगरपालिका छैन ।
तराईमा २० हजार जनसंख्या र ५० लाख आयस्रोत तथा पहाड र हिमालको हकमा १० हजार जनसंख्या र न्यूनतम ५ लाख आयस्रोत नगरपालिका घोषणाका लागि मापदण्ड तोकिएको छ । सिरहा, धनुषा, भक्तपुर र कैलालीमा ६÷ ६ नगरपालिका छन् । सप्तरी, सर्लाही, काभ्रे र लम्जुङमा ५÷ ५ नगरपालिका छन् । बढ्दो सहरीकरणसँगै गाविसको सङ्ख्या घट्न गई चितवन जिल्लामा गाविस र नगरपालिकाको सङ्ख्या बराबर ८÷८ रहन पुगेको छ । सबैभन्दा धेरै ९१ गाविसको जिल्ला सप्तरी हो । कञ्चनपुरमा ८ नगरपालिका र ४ गाविस छन् ।
जनसंख्या र विकासको पूर्वाधारसँगै काठमाडौं र भक्तपुर भने गाविसविहीन जिल्लाको सूचीमा चढेका छन् । कुनै पनि नगरपालिका नभएको मनाङमा १३ गाविस छन् । तुलनात्मक रुपमा खोटाङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक, काभ्रे, रौतहट, गुल्मी, अछाम र बैतडीमा धेरै गाविस छन् । क्षेत्रफलमा सबैभन्दा ठूलो ४ सय १४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको नगरपालिका डडेलधुराको परशुरा हो । दोस्रोमा उदयपुरको त्रियुगा पर्छ । सबैभन्दा सानो मध्यपुरथिमि नपाको ११.११ वर्गकिलोमिटर र दोस्रो राजविराज नगरपालिका हो । सबैभन्दा धेरै ३५ वडाको महानगर काठमाडौं महानगरपालिका हो । नौ वटा मात्रै वडा भएका नगरपालिका २० वटा छन् ।
नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकामा २० हजार ३ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल नगरपालिकाले ओगटेको छ । नगरक्षेत्रको जनसंख्या १ करोड १० लाख ६९ हजार ४ सय ९५ छ ।
प्रतिक्रिया