नेवाः पत्रकार राष्ट्रिय दबुःको दोस्रो अधिवेशन

काठमाडौं, ११ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकको समग्र विकास निर्माण तथा जनताको सरोकारका विषयलाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबुःको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री राईले नेपाल धार्मिक, सांस्कृतिक, भौगोलिक, पुरातात्विक, ऐतिहासिक विविधताको जगमा उभिएको हुँदा नेवाः पत्रकारले पनि देशको स्वतन्त्रता र सामाजिक सद्भाव कायम गरी राजनीति स्थिरता ल्याउने कार्यमा सहयोग गर्नुपर्ने बताए । नेपालका सबै भाषा, संस्कृति, मौलिक परम्पराको रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले मुलुकलाई अगााडि बढाउने सन्दर्भमा सबैको साथ सहयोगको अपेक्षा
गरिएको बताए ।

उनले संघीय संरचनाको निर्वाचन निकट भविष्यमा हुँदै छ, संविधानअनुसार स्थानीय निकायको निर्वाचन गर्न गाउँ, क्षेत्र, नगरपालिकाको सीमांकन बताएका छन् । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले मुलुक संक्रमणको अवस्थामा रहेको र देशको राष्ट्रियताप्रति चौतर्फी आक्रमण भइरहेका बेला मुलुकको अस्तित्व जोगाउन पत्रकार संवेदनशील हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेवाः दबूका पत्रकारले नेपालको पत्रकारितालाई दिशानिर्देश गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । नेपाल पत्रकार महासंघका सभापति डा.महेन्द्र विष्टले सञ्चार क्षेत्रले अब विविधतायुक्त पत्रकारिताको विकास गरी विपन्न वर्ग र समुदायको समस्यालाई प्रवाह गर्नुपर्नेमा जोड दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण आयोगका अध्यक्ष पोषण केसीले नेवारी भाषा र संस्कृति संरक्षणका लागि साना लगानीमा स्थापना भएका सञ्चार गृहलाई प्रवद्र्धन गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताए । ‘कीर्तिपुर सन्देश’का सम्पादक नजरराम महर्जनले मुलुकमा भएका सबै राजनीतिक आन्दोलन सफल बनाउन कीर्तिपुर क्षेत्र तथा त्यहाँका बासिन्दाको भूमिका रहे पनि विकास निर्माणका दृष्टिले त्यस क्षेत्र उपेक्षित रहेकामा चिन्ता व्यक्त गरे ।

पत्रकार राज्यलक्ष्मी शाक्य, दण्ड गुरुङ तथा अधिकारकर्मी नरेशवीर ताम्राकार लगायतले पत्रकारिता क्षेत्रको व्यावसायिक विकासमा दबुःले काम गर्नुपर्नेमा जोड दिए । दबुःका अध्यक्ष श्रीकृष्ण महजर्नले सबै भाषाको संरक्षण राज्यले समावेशी ढंगले गर्नुपर्ने माग गरे । सभाअघि कीर्तिपुरको नयाँ बजारबाट विभिन्न सांस्कृतिक बाजागाजासहित पदयात्रा निकालिएको थियो । सहभागीले स्थानीय पाँगा दोबाटो, नगाउँ दोबाटो, थाना हुँदै बाघ भैरव नजिकै लायकुस्थित समारोहस्थलसम्म पदयात्रा गरेका थिए ।

सोही क्रममा मन्त्री राईले स्थानीय बाघभैरव मन्दिरको दर्शन गरेका थिए । उनले भूकम्पले त्यस मन्दिरमा पु¥याएको क्षति तथा भत्किएका संरचनाको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया