मधेसवादीले भ्रम छरे : प्रम ओली

विराटनगर, २२ फागुन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तामा पुग्न मधेसवादी दलले जनतामा भ्रम छरेको आरोप लगाएका छन् । उनले लोकतान्त्रिक मूल्यमान्यताका आधारमा निर्माण भएको संविधान सम्पूर्ण देशवासीको साझा सम्पत्ति रहेको बताए ।

एमालेद्वारा सञ्चालित ३ महिने तराई–मधेस अभियानको समापन समारोहलाई शनिबार विराटनगरको सहिद मैदानमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

संविधान बन्न नदिने षडयन्त्रलाई पराजित गर्दै संविधान निर्माणको कामलाई एमालेले ऐक्यबद्ध भएर अगाडि बढाएको प्रसंग उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले यस संविधानमा समानताको हक, मानवअधिकार, स्वतन्त्र न्यायपालिकाका साथै मधेसी, दलित, आदिवासी जनजाति, थारू, मुस्लिम र महिलालाई विशेष अधिकार प्रदान गरेको जानकारी गराए ।

संविधानमा अधिकारको विषयमा कसैलाई अन्योल र भ्रममा नपर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले १ सय २५ जनजाति र १ सय २३ भाषाभाषी भएको मुलुकमा सबैको धर्म र संस्कृतिको संरक्षण गर्ने खालको संविधान रहेको बताए ।

उनले मधेसी–पहाडी भनेर दुश्मनी फैलाउने प्रयास भइरहेकाले यसलाई चिर्न सबैलाई सामाजिक सद्भाव बलियो बनाउनेतर्फ जुट्न सुझाव दिए । उनले कसैको जिद्धी र लहडमा संविधानको संशोधन हुँदैन भन्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले जनताको हकहितलाई ध्यानमा राखी संविधानलाई संशोधन गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हालै भारत भ्रमणबाट २ देशबीचको असमझदारी हटेको, नाकाबन्दीको अवस्था समाप्त भएको र भारतसहित सारा संसारले संविधानलाई स्वागत गरेको छ ।’ उनले संविधान निर्माणको काम सम्पन्न भइसकेको र अब राष्ट्र निर्माणको काममा एकजुट भएर अगाडि बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘रानी, विराटनगरदेखि चीनको सिमाना किमाथांकासम्म २ लेनको पक्की सडक निर्माणको सर्भे सुरु भएको छ र १५ वर्षभित्र सप्तकोसीलगायतका नदीबाट सिँचाइको प्रबन्ध मिलाउन सर्भेगरी कृषि क्षेत्रलाई आधुनिकीकरण गरिनेछ ।’

उनले १ वर्षभित्र विद्युत्भार कटौतीको अन्त्य गरिने र २ वर्षभित्र उद्योगलाई उनीहरूको आवश्यकताअनुरूपको विद्युत् उपलव्ध गराउने लक्ष्यका साथ सरकारले काम अगाडि बढाएको जानकारी गराए । उनले धरान, चतरा हुँदै गाईघाट, कटारी तथा मकवानपुरसम्म सडक निर्माणका लागि सर्भेको काम सुरु भएको र मध्यपहाडी पुष्पलाल मार्गलाई स्तरोन्नती गरिनुका साथै हुलाकी राजमार्ग २ लेनको बनाउने कार्यमा सरकार अग्रसर भइसकेको जानकारी गराए । प्रधानमन्त्री खोलीले काठमाडौंमा मेट्रो सन्चालनका साथै काठमाडौंबाट लुम्बिनी र रसुवागढी रेलमार्गले जोड्नेतर्फ पनि प्रयास गरिने बताए ।

प्रतिक्रिया