मित्रराष्ट्र भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुदमा जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नेपाल जुडो संघले सम्मान गरिसकेको छ । गतसाता भएको यो सम्मानले जुडो संघले आफूलाई अन्य संघभन्दा अग्रणी रूपमा प्रस्तुत गरेको छ । सातौँ सागपछि १२औँ सागमा महत्वपूर्ण सफलता पाएको जुडोको यो सफलतामा सबै जुडोकर्मी रमाए । यो सफलतामा अस्ट्रेलियमा रहेका पूर्वराष्ट्रिय च्याम्पियन मोहन बमको पनि खुसी समेटिएको थियो । त्रिपुरेश्वरस्थित ओलम्पियन सेमीकभर्डहलमा आयोजित कार्यक्रममा बमले पनि पुरस्कार प्रदान गर्ने घोषणा गरियो ।
प्रमुखअतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । संघले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार र कांस्य विजेतालाई २० हजार प्रदान गरेको थियो । स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा फुपूल्हामु खत्री, रजत प्राप्तगर्नेमा लीला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । यस्तै कांस्य पदक प्राप्त गर्नेमा सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, रमेश मगर र शिवबहादुर बराम थिए । प्रशिक्षकद्वय दलबहादुर गुरुङ र इन्द्र डंगोललाई २०÷२० हजार रुपैयाँ र व्यवस्थापक देवु थापा र गंगाबहादुर खड्कालाई १५÷१५ हजार रुपैयाँ प्रदान गरिएको थियो । यसका साथै नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफ्नो व्यक्तिगत तर्फबाट बिजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई समेत करिब १ लाख ४ हजार बराबरको कार्पेट प्रदान गरेका थिए । सोही अवसरमा प्रमुखअतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलाई मायाको चिनो स्वरूप कार्पेट प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै स्वर्ण पदकधारी फुपूले पदक जितेको क्षणजीवनकै अविस्मरणिय क्षण रहेको भन्दै आगामी दिनमा पनि राष्ट्रको लागि स्वर्ण पदक प्राप्त गर्न लालायित भएको बताइन् । कांस्य पदकधारी रमेश मगरले आपूmले राष्ट्रको लागि स्वर्ण पदक हासिल गर्ने मनोकांक्षा रहँदारहँदै पनि हात पार्न नसकेकोमा खिन्न भएको भन्दै उचित प्रशिक्षण प्राप्त गरेको खण्डमा स्वर्ण पदक प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरे ।
पराजित खेलाडीहरूले पनि आफ्नो तर्फबाट सक्दो मेहनत गरेको बताउँदै उनले खेलाडीको मात्र कमजोरी नभई प्रशिक्षक, संघ, परिषद् र राष्ट्रको समेत कमजोरी रहेकोमा उनले जोड दिए ।
नेपाली जुडोको स्टार फूपू ल्हामुको सफलतामा विभिन्न व्यक्ति जोडिए । २०६४ मा चन्द्र डंगोल र लीला अधीकारी दोर्जे खत्रीको होटलमा पुगे । त्यसै होटलमा त्यसै होटलमा भेट भएका चन्द्र डंगोल लीला अधीकारीले फुपू ल्हामु खत्रीलाई जुडो खेल्न प्रेरित गरे । त्यसै प्रेरणाको प्रतिफल फुपू ल्हामु नेपाली खेलकुदको सर्वाधिक महत्वपूर्ण खेलाडी बनेकी छिन् । १२औँ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको शाख खस्कीरहँदा सबै नेपाली खेल शुभेच्छुकमा एकखाले तनाव थियो । त्यो तनावको माझमा फुपूले १२औँ सागमा स्वर्ण पदक दिलाएकी हुन् । पछि पछाडि फर्केर नहेरेकी फुपू त्यसको केही वर्षपछि नै ५७ केजी तौल समूहको राष्ट्रिय च्याम्पियन भइन् । हाल उनी देवू थापा र सुनीता थापा खेल्ने गरेको ६३ केजी समूहकै च्याम्पियन हुन् ।
हंगेरीमै प्रशिक्षण गरेकी फुपूले त्यहाँ भएको प्रतियोगितामा तेस्रो स्थान पाएकी थिइन् । लगत्तै भुपालमा रहेको राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी फुपूलाई प्रशिक्षक देवु थापाले भारतीय प्रतिद्वन्द्वीको खेलको बारे जानकारी गराएकी थिइन् । बुढापेस्टमा फुपू शारीरिक प्रशिक्षणमा आफूलाई केन्द्रित गरेकी थिइन् ।
बुढापेस्टमा हुँदा उनले उसुमा नेपालले स्वर्ण पदक जितेको समाचार थाहा पाएकी थिइन् । उनलाई स्वर्ण पदकको चाहना जागेको थियो । एसियाली जुडो युनियन, नेपाल जुडो संघ, ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, टोलीका अन्य खेलाडी तथा आजका दिनसम्म सहयोग गर्ने सबै प्रशिक्षकप्रति उनले आभार व्यक्त गरेकी छन् ।
ताप्लेजुङ हेलेक नौ गुच्छाका फुपूले भन्ने गरेकी छन्, ‘मेरो स्वर्ण पदक मेरो बाबाप्रति समर्पित छ । तर, यो मेरो जिन्दगीको अन्तिम उपलब्धि होइन । सुरुआत हो । ओलम्पिक मेरो लक्ष्य हो । सबैल अनुमान गरेभन्दा राम्रो गर्ने चाहना छ ।’ बाबु दोर्जेको स्मृतिमा भएको रक क्लाइमबिङ एन्ड माउन्टेनियरिङ प्रतियोगितामा समेत उनी पाँचौँ भएकी थिइन् । उनको महत्वांकाक्षामा सहमत हुँदै प्रिशिक्षक देवु भन्छिन्, ‘जुन उमेरमा जुन सफलता उनले दिलाइन् र जुन बाटोमा उनी गएकी छिन् । यो सबै सम्भब छ ।’
त्यसो त नेपाली जुडोको सफलतामा विभिन्न व्यक्तिको सद्भाव रह्यो । त्यसको केही दिन अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारीले पनि नेपाली जुडोको बारे प्रतिक्रिया दिएका थिए । केही मनो समिक्षकहरूले पनि आफ्नो धारणा राखेका थिए । जुडोको यो पछिल्लो सफलतामा नेपाली समाजका केही महत्वपूर्ण पाटा जोडिएका छन् । रजत पदक विजेता मनिता श्रेष्ठ प्रधानले जीवनमा एउटा कहालीलाग्दो मोडको सामना गरेर आएकी थिइन् । त्यो मोड पार गर्दै उनी सफलताको पाइला चुम्न सफल भएकी हुन् । यसैगरी, स्वर्ण विजेता फुपूको हकमा पनि कम संघर्षशील जीवनका कारण योे सफलता प्राप्त भएको होइनन् । कांस्य पदक विजेता इन्द्र श्रेष्ठको विगत पनि कम अत्यासलाग्दो छैन । त्यसो त पर्साको सामान्य परिवारमा जन्मेर हुर्किएर नेपाल आर्मीको जागिरे र सागको रजत पदकसम्मको यात्रामा लीला अधिकारीको पनि त्यत्तिकै कठोर संघर्ष छ ।
यो जुडो टोलीको सफलताले नेपाली भूगोल पनि जोड्न सफल भयो । स्वर्ण विजेता ताप्लेजुङकी । त्यसैगरी कांस्य विजेता गंगा चौधरी कैलालीकी । अन्य खेलाडी फरकफरक भूभागका । यस अर्थमा समाज जोड्ने सवालमा पनि जुडो टोली सफल भएको छ । साथमा फुपू ल्हामु खत्री एसियाली स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको रूपमा रहेकी छन् ।
प्रतिक्रिया