नाकाबन्दी खुल्यो ग्यास छैन

gas_cilinder news photoकाठमाडौं, २७ माघ । लामो समयदेखि भएको नाकाबन्दी खुले पनि खाना पकाउने ग्यासको आयात नबढेपछि ग्यास वितरण सहज गर्न नसकिएको निगमले जनाएको छ । वीरगञ्ज नाका खुले पनि ग्यासको आयात बढ्न नसकेको नेपाल आयल निगमले जनाएको हो ।

निगमले ग्यास आयातको कारण देखाउँदै सहजरूपमा ग्यास कहिलेदेखि पाइन्छ भन्ने अनिश्चित भएको जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले अझै पूर्ववतः रूपमा ग्यास नदिएका कारण ग्यासको अभाव तत्काल सहज गर्न गाह्रो पर्ने निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए । घिमिरेका अनुसार आइओसीले रिफाइनरीबाट उत्पादन कम भएको भन्दै मागअनुसार ग्यास दिन मानिरहेको छैन ।

आइओसीले आयल निगमलाई पत्र पठाउँदै फेब्रुअरीमा पुरानै कोटा अनुसारको ग्यास दिने प्रतिवद्धता जनाए पनि लोडिङ त्यसअनुसार नदिइएको घिमिरेको भनाइ रहेको छ । वीरगञ्ज खुलेपछि ग्यास बुलेटलाई नेपाल छिर्न सहज भए पनि भारतबाट लोडिङ नै पर्याप्त नभएको आयल निगमको तर्क छ । मंगलबार पनि आइओसीले २५ बुलेट ग्यास दिएको थियो । सामान्य अबस्थामा भारतबाट ५५ देखि ६० बुलेटमा ग्यास लोड हुन्थ्यो । नाकाबन्दी जारी रहेको सय दिनसम्म मागको ११ प्रतिशत मात्रै ग्यास दिएको भारतले पछिल्ला दिनमा ३५ देखि ४५ प्रतिशत मात्रै लोड दिइरहेको छ ।

अहिले पनि भारतबाट मागको ५० प्रतिशत पनि लोड नभएकाले बजारमा ग्यास वितरण सहज गर्न नसकेको प्रवक्ता घिमिरेले बताए । ग्यास वितरणमा सहजता ल्याउन निगमले पहल गरिरहेको उनले बताए । घिमिरेले भने, ‘आइओसीले ग्यासको लोडिङ नबढाएसम्म ग्यास सहज रूपमा पाउन उपभोक्तालाई कठिन हुने देखिएको छ ।’ एक सातापछि सबै पम्पबाट तेल दिने बताएको नेपाल आयल निगमले ग्यासका लागि ‘टोकन नम्बर लिएर लाइनमा बस्ने दिन सकियो’ भन्न सकेको छैन ।

प्रतिक्रिया