क्षेत्रीय अधिवेशन बदर गर्न माग

संखुवासभा, २५ माघ । मुलुकभर नेपाली कांग्रेसको अधिबेशन चलिरहँदा संखुवासभाको क्षेत्र न २ को गत शुक्रवार सम्पन्न अधिवेशनको भने बदर गर्न माग गरिएको छ । महाधिवेशन प्रतिनिधीका लागि मनोनयन दर्ता गराएका थलकुमार लिंखाले अधिवेशन बदरको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा निवेदन पठाएका छन् ।

यसअघि महासमिति सदस्य रहेका माम्लिङका लिंखालाई गाउँ अधिवेशनको मतदान प्रक्रियामा सहभागी भएको भन्दै उम्मेदवारी दर्ता गर्न रोकिएको थियो । गत २२ गते चैनपुरमा सम्पन्न अधिवेशनमा लिंखाले महाधिवेशन प्रतिनिधीका लागि उम्मेदवारी दर्ता गराई शूल्कसमेत बुझाईसकेका थिए । आफ्नो राजनैतिक जीवन समाप्त पार्ने नियतले गाउँ अधिवेशनमा सहभागी भएको भन्ने झुटो आरोप लगाएको लिंखाको भनाई छ । दुरासायपुर्ण भावनाले माम्लिङ गाविसमा हुँदै नभएको काल्पनिक मानिसको नाम खडा गरी दाबी विरोधको नाममा म विरुद्ध उजुरी गरिएको रहेछ, उनले निर्वाचन समितिमा पठाएको निवेदनमा उल्लेख गरेका छन् । लिंखाका विरुद्ध लिलामणि घिमिरेले निर्वाचन अधिकृतसमक्ष उजुरी हालेका थिए ।

लिंखाले आफु विरुद्ध तल्लो स्तरको प्रहार भएको भन्दै यसले निष्ठा, आस्था र आदर्शको राजनीति गर्ने सबै अन्यायमा पर्ने औंल्याएका छन् । उजुरीकाबारे छानबिनका लागि पटक पटक आग्रह गर्दासमेत उल्टै त्रास र आतंकको स्थिती सिर्जना गरी आफुलाई गलहत्याएर बाहिर पठाईएको उनको आरोप छ । घटनापछि पनि पार्टीका नेतृत्वबाट धम्की आएकाले प्रशासन गुहार्न पर्ने अवस्था आएको उनले बताए । पार्टीको विधान, नियमावली र निर्वाचन निर्देशिका विपरीत भएको भन्दै सो अधिवेशन बदर गराई पुनः क्षेत्रीय अधिवेशन गराईदिनु हुन अनुरोध गर्दछु, उनले निवेदनमा भनेका छन् ।

उनको निवेदनपछि केन्द्रीय निर्वाचन समितिले पनि क्षेत्रीय निर्वाचन अधिकृतसँग प्रतिक्रिया माग्दै पत्र पठाइसकेको छ । केन्द्रीय समितिको पत्रमा निवेदक लिंखालाई के, कति कारणले निर्वाचनमा सहभागी नगराईएको हो, भनी प्रतिक्रिया मागिएको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा क्षेत्रीय निर्वाचन अधिकृत लोकबहादुर घिमिरेसँग सम्पर्क हुन सकेन । केन्द्रीय निर्वाचन समितिका सचिव प्रदिप पराजुलीले भने निर्वाचन अधिकृतको प्रतिक्रिया आईसकेको र छलफलपछि निर्णय लिईने जानकारी दिए ।

संविधानसभाको दोश्रो निर्वाचनमा समानुपातिकतर्फका उम्मेदर रहेका लिंखा बिभिन्न क्याम्पसमा नेपाल बिद्यार्थि संघ सभापति भएका थिए । उनी ०४८ सालदेखि कांग्रेसका क्रियाशील सदस्य हुन् ।

प्रतिक्रिया