काठमाडौ, २४ माघ । नेपाललाई विश्व स्काउटले सर्वाेच्च पदक प्रदान गरेको छ । नेपाल स्काउटका सल्लाहकार एवं निवर्तमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट संगठनले सो संगठनको सर्वाेच्च पदक ‘ब्रोन्ज ओल्फ’ प्रदान गर्ने निर्णय गरेको छ । स्काउटिङको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई सो पदक प्रदान गरिन्छ । सन् १९३५ मा स्थापित सो पदक पाउने लामिछाने ८० वर्षे इतिहासमा पहिलो नेपाली हुन् ।
यसअघि यो पदक पाउनेमा स्काउटिङ अभियानका संस्थापक लर्ड वेडेन पावेल, महिला स्काउटका संस्थापक लेडी वेडेन पावेल, स्विडेनका राजा कार्ल गुस्ताफ १६ औंँ, फिलिपिन्सका राष्ट्रपति फिडेल रामोस, लक्जम्वर्गका राजा सार जिन, साउदी अरेबियाका राजा अब्दुल्लाह बिन अजिज, थाइल्यान्डका नरेश भूमिबोल अब्दुलादेज तथा डेनमार्ककी राजकुमारी लगायत स्काउटको विकासमा विशिष्ट योगदान गरेका व्यक्ति हुन् ।
सो संगठनले जनवरी २९ मा लामिछानेलाई सो पदक दिने घोषणा गरेको हो । घोषित पदक केही समयपछि एक अन्तर्राष्ट्रिय समारोहमा प्रदान गरिने विश्व स्काउट संगठनले जनाएको छ । विश्व स्काउट अभियान सुरु भएको शताब्दी (सन् १९०७—२००७) का अवसरमा सन् २००७ मा नेपालको रसुवा जिल्लामा अवस्थित ५ हजार ८ सय ९० मिटर अग्लो उर्केमा हिमश्रृखलालाई ‘वेडेन पावेल स्काउट हिमाल’ तथा त्यहाँ जाने पदमार्गलाई ‘वेडेन पावेल स्काउट पदमार्ग’को नामाकरण गरी विश्वभरका स्काउटलाई साहसिलो कार्यमा अघि बढाउन उल्लेखनीय योगदान गरेकामा सो पदक प्रदान गरिएको सो संगठनले जनाएको छ ।
यसैगरी, एसिया प्रशान्त क्षेत्र र अन्तर्राष्ट्रियस्तरमा स्काउटिङको विकास तथा विस्तारमा योगदान गर्नाका साथै नेपाल स्काउटको प्रमुख आयुक्त हुँदा (सन् २००४—२०१४)का अवधिमा नेपालमा स्काउटको संख्यात्मक र गुणात्मक विकासका साथै संस्थालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन गरेको योगदानको समेत मूल्यांकन गरिएको उल्लेख छ ।
लामिछाने हाल विश्व स्काउट संगठन, एसिया प्रशान्त क्षेत्रीय संगठनका विभिन्न समितिमा छन् । उनले यसअघि एसिया प्रशान्त क्षेत्रीय समितिको प्रथम उपाध्यक्ष भएर काम गरिसकेका छन् । उनी ५२ वर्षदेखि स्काउटमा आबद्ध छन् ।
नेपाल स्काउटको तल्लो तह (टेन्डरफुट) देखि सबै तह पार गर्दै प्रमुख आयुक्तसम्म पुग्ने लामिछाने पहिलो नेपाली हुन् । पर्वत जिल्लाको एक साधारण परिवारमा जन्मेका लामिछाने २०२० मा टेन्डरफुटबाट नेपाल स्काउटमा प्रवेश गरेका थिए । उनी सन् २००४ मा नेपाल स्काउटको प्रमुख आयुक्तमा निर्वाचित भएका थिए । त्यस्तै सन् २००९ मा एशिया प्रशान्त क्षेत्रको कार्यकारी समितिका सदस्यमा सर्वसम्मत निर्वाचित भई सन् २०१२ मा सोही समितिको प्रथम उपाध्यक्ष हुन सफल भएका थिए ।
लामिछानेले नेपाल लगायत एसिया प्रशान्त क्षेत्रमा स्काउट शिक्षाको प्रवद्र्धन, विकास र विस्तारमा उल्लेख्य योगदान गरेबापत नेपाल स्काउटको सर्वाेच्च पदक सुनौलो गैंडा, फिनल्यान्डको राष्ट्रिय पदकदेखि विभिन्न मुलुकका स्काउट संगठनबाट कैयाँैं उच्च सम्मान र विभूषणद्वारा विभूषित भइसकेका छन् । उनी हाल लक्जम्र्वगका लागि अवैतनिक नेपाली महावाणिज्यदूत छन् ।
प्रतिक्रिया