इन्दिरालाई खर्च अभाव

Indira copyखोटाङ, २१ माघ । खोटाङ छितापोखरी–२ की इन्दिरा खड्काले आफ्नो उपचारकालागि सहयोगको याचना गरेकी छन् । फोक्सोको क्यान्सरपीडित खड्काले काठमाडौं शिक्षण अस्पतालबाट सहयोगलागि याचना गरेकी हुन् ।

टेलिफोनमा बोल्दै उनले भनिन् ‘फोक्सोमा पानी जमेको भनेका छन् । असह्य तरिकाले छाती दुख्छ । हनहनी ज्वरो आउँछ, उत्तिकै मात्रामा टाउको पनि दुख्छ, चाँडो सञ्चो हुन पाए हुन्थ्यो ।’

उपचारका क्रममा गत वैशाखदेखि घरबाट हिँडाइएकी इन्दिरालाई विराटनगर, धरान र काठमाडौंका पाँचवटा अस्पताल चहारेपछि मात्र क्यान्सर भएको पत्ता लागेको उनको छोरा रूपेश खड्काले बताए । ‘बिरामी आमाको उपचारका लागि वैशाखमा घर छाड्यौँ,’ छोरा रूपेशले भने ‘तर अस्पताल चाहार्दा–चाहार्दा भदौमा शिक्षण अस्पताल पुगेपछि मात्र क्यान्सर भएको पत्ता लाग्यो ।’

क्यान्सरका कारण इन्दिराको पेटमा जमिरहने पानी फालिरहनुपर्ने अवस्था छ । अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी खड्काको उपचारका क्रममा सोह्र लाख खर्च भइसकेको रपेशले बताए । उनले भने,‘उपचारकै क्रममा हामी सबै ऋणको भुंग्रोमा परिसक्यौँ । आमालाई निको बनाउन सके अरू त तिरौँला ।’ निम्न आर्थिकस्तरका खड्का परिवारले अहिलेसम्म ऋणपान गरेरै बिरामीको उपचार गरिरहेका छन् । इन्दिराको उपचारका लागि अस्पतालले अझै पन्ध्र लाख लाग्ने बताएको छ । पारिवारिक स्रोतका अनुसार इन्दिरालाई अहिलेसम्म क्यान्सर भएको विषयमा जानकारी दिइएको छैन ।

‘आमाले मलाई के भएको, म निको हुन्न रे भनेर सोधिरहनु हुन्छ,’ रूपेशले भने, ‘आमाको उपचारका लागि चाहिने पन्ध्र लाख कहाँबाट व्यवस्था गरौँ ? जे किन्न पनि पैसा चाहिन्छ, नचिनेको ठाँउमा मलाई कसले सहयोग गर्छ ?’ खान, बस्नबाहेक इन्दिराको औषधि खरिदमा मात्र मासिक दश हजार खर्च हुन्छ । आमाको उपचारका लागि दौडधुप गर्ने क्रममा रूपेशको पढाइसमेत चौपट भएको छ । उपचारका नाममा प्रायः सबै आफन्तबाट ऋण लिइएको रूपेशले बताए । ‘ऋण नलिएको आफन्त बाँकी छैन,’ रूपेशले भने,‘एक दिन कमाएर तिर्छु भन्दै ऋण लिएर आमाको उपचार गराइरहेको छु । अब त झनै समस्या भएको छ ।’

अस्पतालका चिकित्सकले इन्दिरालाई सात महिनाको ‘डेट’ दिएका छन् । त्यसमध्ये उनको पाँच महिना पूरा भइसकेको छ । सात महिना पार गराउन सकिए औषधिका भरमा भए पनि इन्दिरालाई बचाउन सकिनेमा खड्का परिवार आशावादी छन् । रूपेशका दुई बहिनी र एक भाइ घरमा बाबुसंँग घर व्यवहार सम्हालेर बसेका छन् । फोक्सोको अन्य ठाउँमा पनि क्यान्सर फैलिएकाले उपचारका लागि पन्ध्र लाखभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । ‘आमाको उपचारका लागि मैले यत्रो रकम कसरी जुटाउन सक्छु ?’ रूपेशले रुँदै भने – ‘सबैको सहयोग पाएँ भने मात्र आमालाई बचाउन सक्छु ।’

इन्दिराको उपचार सहयोगार्थ रकम संकलन गर्न भक्तपुर क्यान्सर अस्पतालले सिफारिसपत्र बनाइदिएको छ । गाविसको कार्यालय छितापोखरीले पनि शुभेच्छुकबाट सहयोग लिन सिफारिस थमाइदिएको छ । आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकिरहेका इन्दिराको सहयोगार्थ छितापोखरी गाविसको परिषद्ले दश हजार, चिप्रिङ गाविसको गाउँ परिषद्ले दश हजार र स–छितापोखरी गाविसको परिषद्ले पाँच हजार रूपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया