खोटाङमा मिनिरल वाटर उद्योग

tx452f0e copyखोटाङ, १५ माघ । मिनिरल वाटर उद्योग सञ्चालन भएपछि जिल्लामा शुद्ध पिउने पानी उपभोग गर्न सहज भएको छ । दिक्तेल नगरपालिका–५ स्थित दिखुवा खोलाको मुहानबाट खोटाङ अक्वा मिनिरल वाटर उद्योग सञ्चालन भएपछि जिल्लावासीलाई शुद्ध पिउने पानीका लागि सहजता भएको हो ।

तराईबाट आएको मिनिरल वाटर उपभोग हुँदै आएको जिल्लामा ‘मिर्मिरे जल’ नामक मिनिरल वाटर प्रशोधन तथा बिक्री वितरण सुरु भएपछि यसको उपभोक्तासमेत बढेका छन् । करिब २ हजार १ सय ४८ मिटर उच्च लेकाली भेगबाट प्रशोधन हुने ‘मिर्मिरे जल’को माग बढ्दो रहेको सञ्चालक फुर्वा शेर्पाले जानकारी दिए । उनले उच्च भेगमा पानीको मुहान भएकाले आफँैमा पनि स्वच्छ भएको प्रतिक्रिया दिए । उनका अनुसार शुद्धता ल्याउन बजारको मागअनुसार प्रशोधन गरेर बिक्री गर्न थालिएको हो ।

विशेषगरी जिल्लामा सञ्चालित सानाठूला सबै किसिमका होटल, गेस्टहाउस तथा पसलबाट प्रशोधित पानीको माग हुने गरेको छ । दैनिक ४ हजार लिटर बढी प्रशोधन क्षमता राख्ने उद्योगबाट सुरुआती चरणमा हाल दैनिक ५ सय लिटर पानी बजारमा गइरहेको शेर्पाको भनाइ छ ।

यसअघि जिल्लामा तराईबाट आएको पानी प्रतिलिटर ३० देखि ३५ रुपैयाँमा खरिद÷बिक्री हुने गरेकामा हाल उक्त उद्योगबाट प्रशोधित पानी थोक मूल्यमा प्रतिलिटर १२ देखि १५ रुपैयाँमा पाउन थालिएको छ । प्रशोधित पानीलाई यातायात व्यवसायी संघ खोटाङले पायक पर्ने स्थानसम्म निःशुल्क ढुवानी गरिदिने गरेको छ ।

जिल्लामै पहिलोपटक उदाहरणीय ढंगले उद्यम गरेकामा प्रोत्साहन गर्दै सुरुआती समयमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले ढुवानीमा सहयोग गरिएको संघका अध्यक्ष गणेश शाहीले जानकारी दिए । होटल तथा पसलबाहेक जिल्लामा आयोजना हुने औपचारिक कार्यक्रम, सभा÷समारोह, गोष्ठीलगायतमा समेत उपभोग हुँदै आएको प्रशोधित पानीको पछिल्लो समय माग पनि बढेको छ ।

भर्खरै सञ्चालन भएको उद्योगमा अहिले ४ जना कामदारले रोजगारी पाएकामा बजार बिस्तारसँगै अन्य कर्मचारीसमेत थपिने जनाइएको छ । १ वर्ष अगाडिदेखि निर्माण सुरु गरिएको ‘खोटाङ अक्वा मिनिरल वाटर उद्योग’ हालैबाट सञ्चालनमा आएपछि सदरमुकाम दिक्तेल, अर्खौले, बुइपा, हलेसीका साथै जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ ।

एक गाग्री पानी ल्याउँदा बिहान बित्छ

यसैगरी, पानीको मुहान सुक्न थालेपछि जिल्लाका अधिकांश गाविसमा खानेपानीको हाहाकार भएको छ । हिउँद लागेसँगै खानेपानीको मुहान सुक्न थालेपछि जिल्लाका अधिकांश गाविसमा खानेपानीको हाहाकार भएको हो ।

मुहान सुक्न थालेपछि जिल्लाको विजयखर्क, लिच्कीराम्चे, बाक्सिला, मात्तिम, बतासे, खोटाङबजार, राजापानी, धितुङ, हलेसी, दुर्छिम, च्यास्मिटार, बडहरे, मंगलटार, डिकुवालगायत गाविसका स्थानीय खानेपानीबाट वञ्चित भएका छन् । मुहान सुक्न थालेपछि घन्टौँ धाएर पानी ल्याउनुपर्ने बाध्यता रहेको विजयखर्कका राजन ढुङ्गानाले बताए । विजयखर्क गाविसभर रहेका अधिकांश खानेपानीको मुहान सुकेपछि एक गाग्री पानी ल्याउन २ घन्टा लाग्ने समस्या रहेको छ । यसवर्ष भूकम्प र खडेरीका कारण गाउँमा भएका मुहान सुकेपछि सिंगो गाउँमै खानेपानीको हाहाकार भएको एक स्थानीय शिक्षक बताउँछन् ।

सुक्खा क्षेत्रका स्थानीय खानेपानीको अभाव हुन थालेपछि बर्सेनि पानीको खोजीमा बसाइँ सर्न थालेका छन् । जिल्लाको दक्षिणी गाविसमा पनि खानेपानी अभाव सुरु भएको छ । इन्द्रेणीपोखरीको छर्छरेखोलाबाट ल्याइएको पानी धारामा आउन छाडेपछि नजिकमा खानेपानी नहुँदा अहिले ३÷४ घन्टाको बाटो हिँडेर पानी बोक्न बाध्य भएको लिच्कीराम्चे–७ कालापानीकी गीता राईले बताइन् ।

धारामा पानी नआएपछि लिच्कीराम्चे गाविसका भदौरे, खम्बारी, धुसेनी, देउराली, सिम्ले, कालापानी, बस्तिपुर, आम्बोटे, कुभिन्डे, आहालेलगायतका गाउँका बासिन्दा घन्टौँ हिँडेर खोला र खोल्सीबाट पानी ल्याउन बाध्य भएको उनको धारणा छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी, दुर्छिम, च्यास्मिटार, बडहरे, मंगलटारलगायतका गाविसका अधिकांश खानेपानीको मुहान सुकेका छन् । मुहान सुकेपछि खानेपानीका लागि रातभर सुत्नसमेत नपाइएको दुर्छिम–६, की लया राईले बताइन् । यस वर्ष वर्षाको समयमा समेत पर्याप्त पानी नपर्दा जिल्लाको सुख्खा क्षेत्रमा पानीको मूल नफुटेको र भएका मुहानसमेत सुक्न थालेकाले खानेपानीको समस्या भएको छ । नजिकमा पानीको स्रोत नभएपछि जिल्लाका अधिकांश समुदायले कुवाको पानी डोकोमा बोकेर पिउने गरेका छन् ।

प्रतिक्रिया