वीरगञ्ज, १५ माघ । रक्सौल भन्सारले प्रक्रिया पु¥याई छाडेको ५ वटा मालवाहक वाहन शुक्रबार वीरगञ्ज नाकाबाट भित्रिएको छ । वीरगञ्जको मितेरीपुलमा धर्ना दिने आन्दोलनकारी नभएको मौका छोपी व्यापारीले बिहान ८ः३० बजे ५ वटा ट्रकमा भरिएको औद्योगिक कच्चापदार्थ र उपकरण भित्र्याएका हुन् ।
रक्सौल भन्सारले जाँचपास गरेको ना १ ख ९७३६, ना १ ख ६७२५, ना १ ख २८९४, ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरको मालवाहक ट्रक भित्रिएको वीरगञ्ज भन्सारका सूचना अधिकृत सुशील शर्माले जानकारी दिए । उनले नाकामा आन्दोलनकारी नभएको मौका छोपी लामो समयदेखि वीरगञ्जमा थन्किएका ७ वटा भारतीय वाहनलाई समेत रक्सौल पठाइएको बताए । नाकाबन्दीका कारण वीरगञ्जमा लामो समयदेखि अलपत्र परेका एनएल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरलगायतका भारतीय खाली ट्रकलाई रक्सौल पठाएको भन्सारले जनाएको छ ।
भारतबाट मालसमान बोकेका वाहन वीरगञ्ज भित्रिए र वीरगञ्जको ट्रक रक्सौल पुगेपछि पुनः आन्दोलनकारीले नाका अवरुद्ध गरेको इनर्वा प्रहरी चौकीले जनाएको छ । मितेरीपुलमा धर्ना बसेका आन्दोलनकारीले पुनः ढाँठ लगाई नाकालाई अवरुद्ध गरेका छन् ।
७ असोजेदेखि मधेसवादी दलले नाकामा धर्ना सुरु गरेपछि आज पहिलोपटक भन्सारले जाँचपास गरेका वाहनमा मालसामान भित्र्याइएको भन्सारले जनाएको छ । यसअघि भारतीय भन्सारले छाडेका मालसमान पुलबाट ठेला, रिक्सा, टाँगा तथा भरियाको भरमा ढुवानी गरी भन्सार भित्र्याइँदै गरेको थियो ।
महोत्तरीमा पनि खुकुलो
५ महिनादेखि महोत्तरीका विभिन्न सीमानाकामा राखिएको पन्डाल हटाइएको छ ।
भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिट्टामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर २४सै घन्टा धर्ना बस्दै आएका मोर्चाका नेता तथा कार्यकर्ता अब नाकामा आउन छाडेका छन् । ती नाकामा बनाइएका सबै समियाना र पन्डालहरू तोडफोड गरी हटाइएको छ ।
महिनौँदेखि जारी तराई–मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा ५ महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्व महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेको तथा अब उनीहरूले बस्ने गरेको समियाना र पन्डाल पनि भत्काइएको छ ।
त्यस्तै, नाकामा व्यवस्था गरिएको निःशुल्क भोजन पनि बन्द भएपछि नाकामा आन्दोलनकारी जान छाडेका छन् भने जिल्लाका सबै नाकाबाट निर्वाध रूपमा सबै प्रकारका सवारी तथा मालवाहक साधन नेपाल–भारत ओहोरदोहोर गर्न थालेका छन् । ७ असोजदेखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य ३ नाकामा देखिने आन्दोलनकारीको भीड अहिले छैन ।
प्रतिक्रिया