म्युजिक भिडियोमा पारिजात र निर्मल लामा

parijat copyकाठमाडौं, २५ पुस । साहित्यकार स्वर्गीय पारिजातको साहित्यिक योगदान र कम्युनिस्ट नेता स्वगीय निर्मल लामाको जीवनीलाई समेटेर म्युजिक भिडियो बन्ने भएको छ । नेपाली साहित्य र राजनीतिका यी दुवै हस्तीहरूलाई भेटिने मुख्य थलो नयाँबजार म्हेँपीस्थित अमृत उमाविको हलमा भिडियोको शुभमुहर्त गरिएको छ । शिक्षा मन्त्री गिरिराजमनि पोखरेलले शुभमुहर्त गरेका भिडियो निर्माण कार्यक्रममा नेपाली क्रान्तिकारी माक्र्सवादीका नेता सिताराम तामाङ, पारिजातकी वहिनी समाजसेवी सुकन्या वाइबा, पारिजात स्मृति केन्द्रका अध्यक्ष लक्ष्मी माली, अमृत उमाविका प्रधानाध्यापक भगवान श्रेष्ठ तथा निर्देशक मोहन घिसिङले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमका सभापतित्व स्व.निर्मल लामाका छोरा स्वतन्त्र वामपन्थी विचारक तथा समाजसेवी निमा फिञ्जो लामाले गरेका थिए । यस कार्यक्रममा नेपाली काँग्रेसका नेता नरहरी आचार्य, साहित्यकार शारदा शर्मा, नेकपा एमालेका नेता, साहित्यकार प्रदीप नेपालले तथा नयाँ शक्ति अभियानका काठमाडौं संयोजक ईश्वर रिजाल ‘सुशिल’ लगायतका उपस्थिति थिए ।

आदर्श व्यक्तित्व पारिजात र निर्मल लामालाई समेटेर बन्न लागेको म्युजिक भिडियोलाई शुभकामना तथा बधाई दिदै शिक्षामन्त्री गिरिराजमनि पोखरेलले भने, ‘पारिजातलाई मैले यहीँ अमृत स्कुलको घरमा भेटेको हो । यो घर साहित्यकारहरूको मात्रै होइन राजनीतिज्ञ तथा मानवअधिकारवादीहरूको पनि भेटघाट हुने थलो थियो । पारिजात दिदीलाई साहित्यकारको रूपमा मात्रै बुझ्दा गलत हुन्छ, उहाँ मानव अधिकारकर्मी पनि हुनुहुन्थ्यो । सिंगो महिला अधिकारकर्मीहरूको फोरम नै हुुनुहुन्थ्यो । उहाँको कुरा अन्तराष्ट्रिय मानवअधिकारकर्मीहरूले पनि सुन्थे । त्यास्तै निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको महान् नेता हुनुहुन्थ्यो । यी दुवैको जीवनीलाई समेटेर बन्नलागेको यो म्युजिक भिडियोलाई म शुभकामना दिन्छु ।’

प्रतिक्रिया