मुनद्वारा सुधार योजनाको प्रशंसा

कोलम्बो, २५ पुस । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले श्रीलंकाको सुधार योजनाको प्रशंसा गरेका छन् । महासचिव बानका प्रवक्ताद्वारा शुक्रबार जारी गरिएको वक्तव्यमा बानले श्रीलंकाको सरकारको बृहद् सुधार योजना र यसको राष्ट्रिय सम्पादनका लागि आह्वान गरिएको प्रयासको प्रशंसा गर्दै यसले आफूलाई उत्साहित बनाएको जनाइएको छ ।

बानले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना यहाँका सरकार र जनतालाई पहिलो वर्षको संक्रमणलाई सफलरूपमा पूरा गरेकोमा बधाई दिएका छन् । वक्तव्यमा भनिएको छ, ‘श्रीलंकाको सुधार योजना स्थायी शान्ति राष्ट्रिय स्थिायित्व र उन्नतिका लागि’ लक्षित भएको भन्दै यसमा संयुक्त राष्ट्रसंघको सृजनात्मक सहयोग रहने बताइएको छ ।

महासचिव मुनले श्रीलंकाको सरकारले सबैका लागि स्वीकार्य दिर्घकालीन राजनीतिक समाधानको लागि गरेको प्रयन्त र संवैधानिक सुधारको प्रयासमा संयुक्त राष्ट्रसंघको सहयोग रहने प्रतिवद्धता जनाएको वक्तव्यमा छ । सम्बद्ध सबै पार्टी तथा संघसंस्थालाई सुधार प्रयासका लागि सहभागी एवं विश्वसनीय वातावरण बनाउन आग्रह गरेको वक्तव्यमा जनाइएको छ ।

गतवर्ष राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका श्रीलंकाका राष्ट्रपति सिरिसेनाले करिब ३ दशक लामो गृहयुद्धको अन्त्यतिर भएको भनिएका युद्धअपराधको निष्पक्ष छानबिनका लागि आन्तरिक (घरेलु) संरचना बनाउन छानविन समिति बनाई आगामी हप्तादेखि सुधार प्रयास थाल्ने हालै घोषणा गरेका छन् ।

यसैबीच, सरकारले युद्धबाट विस्थापित भई अलिहेसम्म पनि शरणार्थी शिविरमा झुपडीको बासमा बस्न बाध्य नागरिकलाई लक्षित गरी आवास निर्माणका लागि जमीन उपलब्ध गराउने निर्णय गरिसकेको मन्त्री तथा सरकारका प्रवक्ता रजिता सिनारत्नेले बताए । सन् २००९ को मे महिनामा अन्त्य भएको सरकारी सेना तथा तमिल टाइगर विद्रोहीबीचको द्वन्द्वमा करिव ४० हजार तामिल समुदायका नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

प्रतिक्रिया